+
+
Shares

छोरा खोज्दै रुस पुगेका बाबु रित्तो हात फर्किए, आश मारेर गरे अन्त्येष्टि

रुसी भूमिको युद्धमा छोरा खोज्न पुगेका बाबु निराश भएर फर्कन बाध्य भएका छन् । उनले अब छोरा फर्कने आश गुमाएर दाहसंस्कार पनि गरेका छन् ।

रामहरि गजुरेल रामहरि गजुरेल
२०८३ जेठ १४ गते १४:०४

१४ जेठ, नुवाकोट । रुसी सेनामा भर्ती भई युक्रेन विरुद्धको युद्धका क्रममा ४ वर्षदेखि बेपत्ता एक नेपाली युवाको शव विना नै अन्त्येष्टि गरिएको छ ।

चार वर्ष अघिदेखि सम्पर्कविहीन भएका नुवाकोटको पञ्चकन्या गाउँपालिका-१ आँपचौरका २३ वर्षीय दिनेश राई युद्धमा ‘मारिएको’ विश्वास गरेर बुधबार स्थानीय परम्पराअनुसार अन्त्येष्टि गरिएको हो ।

एथलेटिक्समा बागमती प्रदेशभरिकै उत्कृष्ट खेलाडी रहेका दिनेशले पहिल्यैदेखि ब्रिटिस सेनामा भर्ती हुने सपना पालेका थिए । १२ कक्षा अध्ययन गर्दागर्दै वैदेशिक रोजगारीका लागि फ्रान्स जान उनी सन् २०२३ मा घरपरिवारबाट बिदा भएर हिँडेका थिए ।

केही व्यक्तिले फ्रान्सेली सैनिकमा जागिर लगाइदिने प्रलोभन देखाएपछि बाबुआमा ऋण खोजेर राईलाई विदेश पठाउन तयार भए ।

‘फ्रान्सको आर्मीमा भर्ती गरिदिन्छौँ, तलब पनि धेरै हुन्छ भनेका थिए,’ बाबु रामजी राईले वेदना पोखे, ‘हाम्रो जीवन दुःखकष्टमा बिते पनि विदेश गएपछि छोराको भविष्य राम्रो हुन्छ र सुख पाउँछ भन्ने आशाले पढ्दापढ्दैको छोरालाई पठायौँ । तर, छोरा कहिल्यै नफर्किने गरी गयो ।’

नेपालबाट गएपछि दिनेश फ्रान्स पुगेको बताइएको थियो । केही समयपछि रुस पुगेर रसियन सेनामा भर्ती भएको खबर परिवारले पाए । कमाइ र बसाइ व्यवस्थित भएको छोराको कुराले यता बाबुआमा ढुक्क थिए । तर केही समयपछि नै छोरासँगको सम्पर्क पूर्ण रूपमा बन्द भयो ।

लामो समयसम्म खोजखबर नआएपछि बाबु रामजी छोरा दिनेशको खोजी गर्दै गत कात्तिकमा रुस पुगे । छोराको अवस्था पत्ता लगाउन भौंतारिए । तर पाँच महिनाको खोजतलासपछि आफ्नो छोरा दिनेशको युद्धमा ‘मृत्यु भइसकेको’ जवाफ पाए । छोरा खोज्न गएका उनी सन्तान वियोग, पीडा र आँशु बोकेर ४ दिनअघि यही जेठ १० गते नेपाल फर्किए ।

रुसीको युद्धमा छोरा खोज्न पुगेका बाबु निराश भएर फर्किए । अब छोरा फर्कने आश गुमाएर दाहसंस्कार पनि गरेका छन् ।

पार्थिव शरीरबिना नै दिनेशको धार्मिक र स्थानीय परम्पराअनुसार दाहसंस्कार गर्न परिवार विवश भयो ।

लेखक
रामहरि गजुरेल

गजुरेल नुवाकोटमा क्रियाशील पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?