१४ जेठ, काठमाडौं । पूर्व–पश्चिम महेन्द्र राजमार्ग एसियन हाइवे मापदण्डमा निर्माण हुँदैछ । महेन्द्र राजमार्ग बिस्तार अन्तर्गत काँकडभिट्टा–लौकही खण्डमा सोही मापदण्ड अनुसार अहिले धमाधम काम भइरहेको छ । यद्यपि राजमार्ग बिस्तारको काम भने सुस्त छ ।
निर्माण कम्पनीका अनुसार इन्धनको मूल्य वृद्धि र निर्माण सामग्री अभावको मारमा यो खण्ड बिस्तारको काम पनि परेको छ ।
नेपाल–भारत सीमास्थिति मेची नदीमा चार लेनको पुल निर्माण भएर सञ्चालनमा आएसँगै नेपाल ६ वर्ष अगाडि नै ए ग्रेडको एसियन हाइवेमा जोडिएको हो । पूर्व–पश्चिम महेन्द्र राजमार्ग एसिएन हाइवेको रुट–२ मा पर्छ ।
यसबाहेक वीरगञ्ज–कोदारी खण्ड रुट–४२ मा पर्छ । महेन्द्र राजमार्गको काँकडभिट्टा-लौकही खण्ड अन्तर्गत पूर्वी खण्डमा इभ्रास्कन कालिका जेभीले काम गरिरहेको छ । यसमध्ये २२ किलोमिटर सडकमा पहिलो लेयरको कालोपत्र गर्न बेस बिच्छ्याउने काम भएको छ । कतै कालोपत्रको काम समेत सुरु भएको छ ।
पूर्वी खण्डको काँकडभिट्टा–सीतापुरी कुल ४५ किलोमिटर लम्बाइमा १० अर्ब ९४ लाख लागतमा सडक निर्माणको काम भइरहेको छ । यस खण्डको ठेक्का २ कात्तिक २०८० मा लागेको हो ।
प्रतिक्रिया 4