१५ जेठ, काठमाडौं । सरकारले आर्थिक समृद्धिका लागि नेपालको ‘सौम्य शक्ति’ (सफ्ट पावर) र डायस्पोरा (प्रवासी नेपाली) लाई परिचालन गर्ने नीति लिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै पारस्परिक लाभ, राष्ट्रिय आत्मसम्मान र सार्वभौम हितमा आधारित सन्तुलित परराष्ट्र सम्बन्ध सुदृढ गर्दै सौम्य शक्तिको नीति लिएको बताएका छन् ।
अर्थमन्त्री डा. वाग्लेले आर्थिक कूटनीति, सांस्कृतिक पहिचान, प्रविधि तथा पर्यटनको एकीकृत उपयोगमार्फत नेपालको अन्तर्राष्ट्रिय उपस्थिति, विश्वसनीयता र प्रभाव विस्तार गरिने बताएका छन् ।
नेपालको सौम्य शक्ति विस्तारका लागि बुद्ध जन्मभूमि लुम्बिनी, सगरमाथा, हिमालय शृङ्खला, योग, ध्यान, सांस्कृतिक विविधता, शान्तिवादी छवि तथा संयुक्त राष्ट्र सङ्घको अन्तर्राष्ट्रिय शान्ति मिसनमा नेपालको गौरवपूर्ण सहभागिता जस्ता विशिष्ट पक्षहरूको विश्वव्यापी रूपमा प्रचार–प्रसार गरिने बजेट भाषणमा उल्लेख छ ।
यसका साथै क्षेत्रीय संनिकटता (छिमेकी देशहरूसँगको सामीप्यता) का लागि सुदृढ कूटनीति अवलम्बन गर्दै राष्ट्रसङ्घ लगायत अन्य बहुपक्षीय तथा क्षेत्रीय मञ्चहरूमा नेपालको भूमिकालाई थप सशक्त र प्रभावकारी बनाउने सरकारी योजना रहेको अर्थमन्त्री वाग्लेले सुनाए ।
प्रतिक्रिया 4