+
+
Shares

सुरक्षा चिन्ताका कारण इटालीले रोक्यो कान्ये वेस्ट र ट्राभिस स्कटका कन्सर्ट

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १७ गते १२:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुरक्षा र सार्वजनिक शान्तिको चिन्ता जनाउँदै इटालीका अधिकारीले अमेरिकी र्‍यापर कान्ये वेस्ट र ट्राभिस स्कटको कन्सर्ट सञ्चालन गर्न अनुमति दिएनन् ।
  • स्थानीय यहुदी समुदायले वेस्टको यहुदीविरोधी अभिव्यक्तिका कारण आगामी जुलाई १७ र १८ को कार्यक्रम रद्द गर्न माग गरेको थियो ।
  • विवादास्पद अभिव्यक्तिकै कारण वेस्टलाई बेलायत प्रवेशमा रोक लगाइएको छ भने फ्रान्स र पोल्याण्डमा तय भएका उनका कन्सर्टहरू समेत प्रभावित भएका छन् ।

इटालीका अधिकारीले सुरक्षा र सार्वजनिक शान्तिसम्बन्धी चिन्तालाई आधार बनाउँदै अमेरिकी र्‍यापर कान्ये वेस्ट (ये) र ट्राभिस स्कटका निर्धारित कन्सर्टहरू सञ्चालन गर्न अनुमति नदिने निर्णय गरेका छन् ।

उत्तरी इटालीको रेज्जियो एमिलिया सहरमा आगामी जुलाई १७ र १८ मा आयोजना हुने यी कार्यक्रम अब नहुने भएको हो । स्थानीय यहुदी समुदायले गायक वेस्टको प्रस्तुति रद्द गर्न माग गरेपछि यो निर्णय गरिएको जनाइएको छ ।

स्थानीय यहुदी समुदायकी नेतृ निकोलेट्टा उज्जिएल्लीले संगीतलाई फेरि सबैलाई जोड्ने साझा शक्तिका रूपमा अगाडि ल्याउने कार्यक्रम आयोजना गर्न आग्रह गरेकी थिइन् । कान्ये वेस्ट विगत केही वर्षदेखि यहुदीविरोधी, जातीय विभेदकारी तथा नाजी समर्थक अभिव्यक्तिका कारण विवादमा पर्दै आएका छन् । यिनै कारणले उनलाई हालै बेलायत प्रवेश गर्नसमेत रोक लगाइएको थियो।

‘ये’ नामबाट परिचित वेस्टले ट्राभिस स्कट, द चेन्स्मोकर्स, रिटा ओरा र स्विडिस हाउस माफियासहितका कलाकारसँग प्रस्तुति दिने कार्यक्रम तय भएको थियो । तर क्षेत्रीय प्रशासनले सम्भावित विरोध प्रदर्शन, अन्य देशहरूमा वेस्टका कार्यक्रम रद्द भएको अवस्था तथा ठूलो भीड व्यवस्थापनको चुनौतीलाई ध्यानमा राख्दै अनुमति नदिएको जनाएको छ ।

सन् २०२१ मा अमेरिकाको टेक्सासस्थित ह्युस्टनमा आयोजित ट्राभिस स्कटको ‘एस्ट्रोवल्र्ड’ महोत्सवमा भीड अनियन्त्रित हुँदा ९ देखि २७ वर्ष उमेर समूहका १० जनाको मृत्यु भएको थियो भने हजारौं घाइते भएका थिए । त्यस घटनापछि स्कट पनि सुरक्षा व्यवस्थापनका विषयमा व्यापक आलोचनाको केन्द्रमा परेका थिए ।

यता लण्डनमा हुने ‘वायरलेस फेस्टिभल’ पनि गत महिना रद्द गरिएको थियो । वेस्टलाई बेलायत प्रवेश अनुमति नदिइएपछि उक्त निर्णय गरिएको बताइएको थियो । वेस्टले सन् २०२२ मा सामाजिक सञ्जालमार्फत यहुदी समुदायविरुद्ध विवादास्पद टिप्पणी गरेका थिए भने गत वर्ष ‘हाइल हिटलर’ नामक गीत सार्वजनिक गरेका थिए ।

बेलायतले प्रवेश रोक लगाएपछि उनका अन्य अन्तर्राष्ट्रिय कार्यक्रम पनि प्रभावित भएका छन् । फ्रान्सको मार्सेईमा हुने कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको छ भने पोल्याण्डको कोर्जोभस्थित सिलेसियन स्टेडियममा तय गरिएको कन्सर्ट पनि कानुनी र प्रशासनिक कारण देखाउँदै रद्द गरिएको थियो ।

यद्यपि, वेस्टले यस वर्ष जनवरीमा प्रकाशित एक लामो वक्तव्यमार्फत आफ्ना विगतका गतिविधिप्रति क्षमा माग्दै आफू न त नाजी भएको र न यहुदीविरोधी भएको बताएका थिए । उनले आफूलाई बाइपोलार डिसअर्डरका कारण वास्तविकतासँगको सम्बन्ध कमजोर भएको अनुभव भएको पनि उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?