+
+
Shares

धनकुटाको ब्राण्ड बन्दै ‘दुर्गा मही’

ईश्वर थापा ईश्वर थापा
२०८३ जेठ १८ गते १०:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धनकुटा नगरपालिका-१ हिलेका उद्यमी राजु घिमिरेले ‘दुर्गा मही’ ब्रान्ड स्थापना गरी परम्परागत महीको व्यावसायिक उत्पादन तथा बिक्री सुरू गरेका छन् ।
  • सिंहदेवी डेरी उद्योगमार्फत दैनिक ३०० लिटरभन्दा बढी मही उत्पादन भइरहेको छ, जसको माग स्थानीय बजार र भोजभतेरमा बढ्दो छ ।
  • कोल्ड ड्रिंग्सको स्वस्थ विकल्पका रूपमा यो महीलाई खाद्य गुणस्तर तथा नापतौल विभागको मापदण्डअनुसार बजारमा बिक्री वितरण गरिँदै आएको छ ।

१८ जेठ, धनकुटा । पछिल्लो समय गाउँदेखि सहरसम्म कोल्ड ड्रिंग्सको प्रयोग तीव्र रुपमा बढीरहेको छ । विवाह, भोज, सभा–सम्मेलन, होटल–रेस्टुरेन्टदेखि घरायसी पाहुनासम्म, बोतलका चिसा पेय पदार्थ सामान्य बनिसकेका छन् ।

नेपाली समाजमा पुस्तौँदेखि प्रयोग हुँदै आएको मही, मोही, सर्बत, जाँडो मौसमको घोल वा घरेलु पेय पदार्थहरु विस्तारै बजारबाट हराउँदै गएका छन् । तर, यही परिवर्तनको भीडमा धनकुटा नगरपालिका वडा नं. १ हिलेमा रहेको सिंहदेवी डेरी उद्योगमा बिहानैदेखि ठूलो भाँडोमा घोलिएको ताजा मही बोतलमा भरिँदै लेबल टाँस्ने काम भइरहेको हुन्छ ।

त्यहाँ रहेका कामदारसँगै व्यस्त रहने व्यक्ति हुन् डेरी व्यवसायी राजु घिमिरे । धनकुटा नगरपालिका वडा नं. २ घर भएका घिमिरेले हिलेमा डेरी व्यवसाय सञ्चालन गर्दै आएका छन् । घिमिरे भने एउटा फरक सपना बोकेर उभिएका छन् । उनले महीलाई आधुनिक ब्रान्ड बनाउने योजनाका साथ काम गरिरहेको बताउँछन् ।

२०७५ सालदेखि डेरी व्यवसाय सुरु गरेका घिमिरेले सुरुवाती दिनमा दूधजन्य उत्पादनहरु नैनी, पनिर र छुर्पी उत्पादन गर्दै आएका थिए । स्थानीय बजारमा ती उत्पादनको माग पनि राम्रै थियो । तर, समयसँगै बजार बदलियो । बजारमा बाहिरबाट आउने उत्पादन बढेपछि प्रतिस्पर्धा चर्किदैँ जादा स्थानीय उत्पादन बिक्री हुन कठिन हुँदै गएको छ । उत्पादन तयार भएपनि बजारमा खपत कम हुन थाल्यो।

‘एक समय यस्तो आयो, डेरी व्यवसाय नै छोड्नुपर्ने अवस्था जस्तो भयो’, घिमिरे सम्झिन्छन्, ‘पनिर र छुर्पी बनाएर मात्रै टिक्न गाह्रो हुँदै गइरहेको थियो ।’ यही कठिन परिस्थितिले उनलाई नयाँ विकल्प खोज्न बाध्य बनायो । धेरै सोचविचारपछि उनले एउटा पुरानो नेपाली परम्परालाई मही उत्पादनलाई नयाँ स्वरुपमा प्रस्तुत गर्ने निर्णय गरे । ‘हामीले सानैदेखि मही खाएर हुर्केका हौँ,’ उनी भन्छन्, ‘तर बजारमा यसको कुनै ब्रान्ड थिएन । सबैले घरमै बनाउने, तर व्यावसायिक रुपमा कसैले अघि बढाएका थिएनन् ।’

त्यसपछि २०८० सालदेखि उनले ‘दुर्गा मही’ नाम दिएर उत्पादन सुरु गरेको बताउँछन् । मही उत्पादनको सुरुवात सहज थिएन । बजारले स्वीकार गर्ला या नगर्ला भन्ने अन्योल थियो । किनकि मानिसहरु बजारमा पाउने कोल्ड ड्रिंग्सतर्फ आकर्षित भइसकेका थिए ।

तर, घिमिरेले परीक्षण पनि हुने भन्दै जोखिम उठाए । उनले महीलाई एक लिटरको आकर्षक बोतलमा प्याकिङ गर्न थाले  र सोही अनुसारको लेबल डिजाइन तयार पनि भयो । त्यसपछि उत्पादनलाई सफा, सुरक्षित र गुणस्तरीय कसरी बनाउने भन्ने तरिका अपनाइयो ।

‘सुरुमा त डर लागेको थियो’, उनी हाँस्दै भन्छन्, ‘बिक्छ कि बिक्दैन भन्ने चिन्ता थियो । तर, अहिले माग धान्नै गाह्रो भइरहेको छ ।’ अहिले सिंहदेवी डेरी उद्योगमा दैनिक तीन सय लिटरभन्दा बढी मही उत्पादन भइरहेको छ । विशेष कार्यक्रम, मेला वा समारोहमा मागअनुसार उत्पादन अझ बढाउनुपर्ने अवस्था रहेको छ ।

घिमिरेले उत्पादन गरेको मही अहिले हिले, पाख्रिवास, सिधुवा लगायतका क्षेत्रमा माग हुने गरेको छ । विवाह, भोज, स्थानीय सभा–सम्मेलन तथा सामाजिक कार्यक्रममा पनि ‘दुर्गा मही’ प्रयोग हुन थालेको उनको भनाइ छ ।

पछिल्लो समय स्थानीय उपभोक्ताहरु पनि महीप्रति आकर्षित हुन थालेका छन् । स्थानीय विमल दाहाल भन्छन्, ‘पहिला कार्यक्रममा कोल्ड ड्रिंग्स नै खाने चलन थियो । अहिले मही खान थालेपछि फरक अनुभव भइरहेको छ । यो स्वादिलो पनि छ, स्वास्थ्यका लागि राम्रो पनि ।’

उनका अनुसार बजारमा पाइने धेरै पेय पदार्थमा चिनी र विभिन्न रसायनको मात्रा बढी हुन्छ । तर मही प्राकृतिक, पौष्टिक र शरीरका लागि लाभदायक मानिन्छ । विशेषगरी गर्मी मौसममा महीले शरीरलाई चिसो राख्ने, पाचन प्रक्रिया सुधार गर्ने र ऊर्जा दिने विश्वास गरिन्छ । ग्रामीण समाजमा खेतबारीमा काम गर्ने मानिसहरुको दैनिकीसँग महीको सम्बन्ध पुरानै हो । तर बदलिँदो समयसँगै त्यो परम्परा हराउँदै गइरहेको अवस्थामा ‘दुर्गा मही’ ले फेरि त्यसलाई बजारमा फर्काउने प्रयास गरेको छ ।

स्थानीय उत्पादन, स्थानीय पहिचान

सञ्चालक राजु घिमिरे

डेरी उद्योगमा उत्पादित मही खाद्य गुणस्तर तथा नापतौल विभागको मापदण्डअनुसार तयार गरिन्छ । प्याक गरिएको मही करिब एक हप्तासम्म प्रयोग गर्न मिल्ने अनुमति रहेको छ । घिमिरेका अनुसार मही उत्पादनमा गुणस्तर सबैभन्दा महत्वपूर्ण पक्ष हो । ‘मानिसले विश्वास गर्नुपर्छ भन्ने लाग्छ’, घिमिरे भन्छन्, ‘त्यसैले सफाइ, गुणस्तर र स्वादमा कुनै सम्झौता नगर्ने गरि काम गरिहेका छौँ ।’ उद्योगमा अहिले महीसँगै नैनी, पनिर र छुर्पी उत्पादन पनि भइरहेको छ । तर, पछिल्लो समय मही नै मुख्य पहिचान बन्न थालेको छ ।

धनकुटामा ‘दुर्गा मही’ केवल पेय पदार्थका रुपमा सीमित छैन । यसले स्थानीय उत्पादनप्रतिको विश्वास बढाउने काम पनि गरिरहेको छ । नेपालमा धेरै स्थानीय उत्पादनहरु उचित ब्रान्डिङ र बजार व्यवस्थापनको अभावमा हराउँदै गएका छन् ।

गाउँघरमा उत्पादन हुने परम्परागत खाद्य सामग्री आधुनिक बजारसँग जोडिन नसक्दा व्यवसाय टिक्न सकेका छैनन् । तर, घिमिरेको प्रयासले परम्परागत उत्पादनलाई समयअनुसार प्रस्तुत गर्न सकियो भने त्यसले बजार पाउन सक्छ भन्ने उदाहरण दिएको छ ।

अहिले धनकुटा लगायतका बजारमा ‘दुर्गा मही’ बिस्तारै ब्रान्ड बन्दै गएको छ । मानिसहरूले नामै लिएर मही माग्न थालेको धनकुटाका रहेको मोरिङ्गा होटलका सञ्चालक सागर दाहाल बताउँछन् । ‘अहिले देशमा रहेका तीनै तहको सरकारले पनि महीलाई कोल्ड ड्रिंग्सको विकल्पका रुपमा प्रवर्द्धन गर्नुपर्छ’, घिमिरे भन्छन्, ‘विद्यालय, सभा-सम्मेलन र सार्वजनिक कार्यक्रममा स्थानीय उत्पादन प्रयोग गर्ने वातावरण बने धेरै उद्यमीलाई फाइदा हुन्छ ।’

लेखक
ईश्वर थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?