+
+
Shares

‘वर्ल्ड अफ डान्स नेपाल’ को ग्रान्ड फिनाले : ४ विधामा विजेता घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २४ गते १४:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विश्वप्रसिद्ध नृत्य प्रतियोगिता ‘वर्ल्ड अफ डान्स’को नेपाल संस्करणको ग्रान्ड फिनाले शनिबार काठमाडौंमा सम्पन्न भएको छ ।
  • विभिन्न चार डिभिजनका विजेताहरूले जनही १ लाख रुपैयाँ नगद पुरस्कार र ट्रफी प्राप्त गरेका छन् ।
  • राष्ट्रिय निर्देशक रोशन गहतराजले भने, "यस प्लेटफर्मले नेपाली प्रतिभालाई विश्वसामु चिनाउने मात्र नभई, हाम्रो नृत्य क्षेत्रको स्तरलाई अन्तर्राष्ट्रिय मापदण्डमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेको छ ।"

काठमाडौं । विश्वप्रसिद्ध नृत्य प्रतियोगिता ‘वर्ल्ड अफ डान्स’को नेपाल संस्करणको ग्रान्ड फिनाले शनिबार बेलुका सम्पन्न भएको छ । बलिउड नृत्य निर्देशक टेरेन्स लुइसको उपस्थितीले फिनालेलाई भव्य तुल्याएको थियो ।

विभिन्न ४ डिभिजनका विजेता घोषणा गर्दै प्रतियोगिता सकिएको हो । मुलुकका ५ सहर तथा भारतबाट समेत आएका नृत्यकारको अडिसनबाट छानिएका उत्कृष्ट प्रतिभाले फिनालेमा आफ्नो बेजोड प्रस्तुति दिएका थिए ।

कडा प्रतिस्पर्धाबिच सम्पन्न फिनालेमा जुनियर डिभिजनतर्फ रिधि सरकारले प्रथम स्थान हासिल गरेका छन् भने ‘पप इन स्माइली’ द्वितीय र दीपेश तथा ऋषि तृतीय भए ।

जुनियर टिम डिभिजनतर्फ ’क्रिएटर्स क्रु’ले उपाधि चुमेको छ भने ’एनडिए जुनियर’ दोस्रो र ’पूर्वाञ्चल डान्स स्टुडियो’ तेस्रो बनेका छन् । अपर डिभिजनमा साजन पाख्रिन प्रथम, साजन गुरुङ द्वितीय र ’स्टार्स स्टेपर्स क्रु’ तृतीय घोषित भए ।

अपर टिम डिभिजनको उपाधि भने ’टिम एनटी’ले हात पारेको छ, जहाँ ’इन्नेट सोल्स’ र ’एस स्क्वायर फ्यामिली’ क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे । प्रत्येक डिभिजनका विजेताले जनही १ लाख रुपैयाँ नगद पुरस्कार र २४ क्यारेट सुनको जलप लगाइएको विशेष ट्रफी प्राप्त गरेका छन् ।

यस प्रतियोगिताको विशेषता भनेको विजेताले विश्व मञ्चमा नेपालको प्रतिनिधित्व गर्न पाउनु हो । कार्यक्रमका कलात्मक निर्देशक जेडी तमुका अनुसार, अपर र जुनियर टिम डिभिजनका सबै फाइनलिस्ट पर्फर्मरहरूले अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको प्रतिनिधित्व गर्न पाउनेछन् ।

अमेरिकामा हुने ’वर्ल्ड फाइनल’, थाइल्यान्डमा हुने ’ग्लोबल डान्स रेप्रिजेन्टेटिभ’ र हङकङमा हुने ’वर्ल्ड सुप्रिमेसी ब्याटलग्राउन्ड’मा सहभागी भई विश्व मञ्चमा आफ्नो प्रतिभा प्रस्तुत गर्ने ऐतिहासिक अवसर प्राप्त गर्ने तमुले जानकारी दिए ।

कार्यक्रमको सफलता र नेपाली नृत्य क्षेत्रको उचाइबारे बोल्दै राष्ट्रिय निर्देशक रोशन गहतराजले भने, ‘यस प्लेटफर्मले नेपाली प्रतिभालाई विश्वसामु चिनाउने मात्र नभई, हाम्रो नृत्य क्षेत्रको स्तरलाई अन्तर्राष्ट्रिय मापदण्डमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेको छ ।’

कार्यक्रममा मिरुना मगर, टेरिया मगर, दयाहाङ राई, परीक्षा लिम्बु, कविता नेपाली, बुद्धि तामाङ, प्रशान्त ताम्राकार, शिल्पा मास्केदेखि अभिषेक खड्कासम्मका सेलिब्रेटी सहभागी थिए । फिनालेको निर्णायक मण्डलमा लुइसका साथै नेपालको ‘वाइल्ड रिपर्ज क्रु’का सदस्य किरण थापा र तमु सहभागी थिए । सन् २००८ मा अमेरिकाको क्यालिफोर्नियाबाट प्रतियोगिता सुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?