+

नेपाललाई हराएको इटालीले पायो आईसीसीबाट उत्कृष्ट प्रदर्शनको अवार्ड

२०८३ असार  २८ गते १७:५३ २०८३ असार २८ गते १७:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इटालीले पहिलोपटक टी-२० विश्वकपमा स्थान बनाउँदै आईसीसीबाट सन् २०२५ को 'एसोसिएट पुरुष टोली उत्कृष्ट प्रदर्शन' अवार्ड प्राप्त गरेको छ ।
  • विश्वकप छनोटका निर्णायक खेलमा स्कटल्यान्डलाई पराजित गर्दै इटालीले ऐतिहासिक उपलब्धि हासिल गरेको आईसीसीले जनाएको छ ।
  • आईसीसी अध्यक्ष जय शाहले विजेता टोली र संस्थाहरू विश्व क्रिकेट समुदायका लागि प्रेरणाको स्रोत भएको उल्लेख गर्नुभयो ।

२८ असार, काठमाडौं । पहिलोपटक टी-२० विश्वकपमा स्थान बनाएको इटालीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट सन् २०२५ को उत्कृष्ट एसोसिएट पुरुष टोली प्रदर्शन अवार्ड पाएको छ ।

आईसीसीले आफ्नो वार्षिक सम्मेलनका क्रममा घोषणा गरेको ‘आईसीसी डेभलपमेन्ट अवार्ड्स २०२५’ अन्तर्गत इटालीलाई ‘एसोसिएट सदस्य पुरुष टोलीको वर्ष उत्कृष्ट प्रदर्शन’ अवार्ड प्रदान गरेको हो ।

इटालीले ऐतिहासिक रूपमा आईसीसी पुरुष टी-२० विश्वकप २०२६ मा स्थान बनाएको उपलब्धिका आधारमा यो अवार्ड पाएको आईसीसीले जनाएको छ ।

नेदरल्यान्ड्सको रोटरड्याममा भएको युरोप छनोटमा स्कटल्यान्ड र नेदरल्यान्ड्सलाई विश्वकप पुग्ने प्रमुख दाबेदार मानिएको थियो । तर इटालीले निर्णायक खेलमा स्कटल्यान्डलाई हराउँदै सबै अनुमान उल्ट्याएर पहिलोपटक टी-२० विश्वकपमा स्थान बनाएको थियो ।

विश्वकपमा समेत इटालीले प्रभावशाली प्रदर्शन गरेको थियो । समूह चरणमा नेपाललाई पराजित गर्दै इटालीले सनसनी मच्चाएको थियो । पहिलोपटक विश्वकप खेलिरहेको इटालीको प्रदर्शनले विश्व क्रिकेटको ध्यान तानेको थियो ।

आईसीसीले एसोसिएट क्रिकेटमा इटालीको ऐतिहासिक विश्वकप छनोटलाई सन् २०२५ कै उत्कृष्ट पुरुष टोली प्रदर्शनका रूपमा सम्मान गरेको हो ।

आईसीसी अध्यक्ष जय शाहले एसोसिएट सदस्यहरूले विश्वभर क्रिकेटको विकास, सहभागिता र प्रदर्शनमा महत्वपूर्ण योगदान दिइरहेको बताएका छन् । उनले विजेता टोली र संस्थाहरू विश्व क्रिकेट समुदायका लागि प्रेरणाको स्रोत भएको उल्लेख गरे ।

आईसीसी डेभलपमेन्ट अवार्ड्समा सात विधामा विश्व विजेता घोषणा गरिएको छ ।

वर्षको उत्कृष्ट विकास पहल : इमिरेट्स क्रिकेट बोर्ड

महिला क्रिकेटको उत्कृष्ट पहल : इमिरेट्स क्रिकेट बोर्ड र टर्की क्रिकेट

एसोसिएट महिला टोलीको वर्षको उत्कृष्ट प्रदर्शन : इमिरेट्स क्रिकेट बोर्ड

एसोसिएट पुरुष टोलीको वर्षको उत्कृष्ट प्रदर्शन : इटाली क्रिकेट महासंघ

वर्षको उत्कृष्ट डिजिटल समर्थक सहभागिता : जापान क्रिकेट संघ

क्रिकेट फर गुड सामाजिक प्रभाव पहल : ब्राजिल क्रिकेट महासंघ

वर्षको उत्कृष्ट क्रिओ क्रिकेट महोत्सव : नाइजेरिया क्रिकेट महासंघ

आईसीसी डेभलपमेन्ट अवार्ड्स इटाली क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय