News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल शिक्षक महासंघले शिक्षा नियमावलीको १०औँ संशोधन शिक्षक, कर्मचारी र विद्यालयको हितमा नभएको भन्दै आपत्ति जनाएको छ ।
- महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सरकारले नियमावलीमार्फत शिक्षकहरूको पक्षीकरणलाई कमजोर बनाउन र सरकारी नियन्त्रण बढाउन खोजेको आरोप लगाउनुभयो ।
- नियमावलीमा चित्त नबुझेका बुँदाहरू सच्याउन माग गर्दै महासंघले आफ्ना माग पूरा नभए सशक्त आन्दोलनमा जाने चेतावनी दिएको छ ।
२९ असार, काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षा नियमावली १०औँ संशोधनमा असन्तुष्टि जनाएको छ । २५ असारमा जारी भएको नियमावलीमा मुख्य सरोकार राख्ने महासंघले असन्तुष्टि जनाएको हो ।
‘शिक्षक, कर्मचारी र विद्यालयको हितमा छैन,’ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने, ‘सरकारले शासकीय सहजताको लागि नियमावली ल्याएको देखिन्छ ।’
१० बुँदे फरक मतमा के–के छ ?
सामुदायिक र संस्थागत गरी ४ लाख शिक्षक, कर्मचारीको हितमा नियमावली नभएको निष्कर्ष निकालेको महासंघले १० बुँदे फरक मत राखेको छ । नियमावलीमा शिक्षक महासंघका दुई जनाले पाउँदै आएको काज व्यवस्था हटाइएको छ ।
यसअघि महासंघका अध्यक्ष र महासचिवले काज सुविधा पाउने गरेका थिए । यसमा महासंघले असन्तुष्टि जनाएको हो ।
‘शिक्षक महासङ्घको पक्षीकरणलाई कमजोर गराउने, सरकारी नियन्त्रण बढाउने कुरामा ध्यान केन्द्रित गरी नियम, उपनियमहरू संशोधन तथा थप गरिएको छ,’ अध्यक्ष सुवेदीले भने ।
नियमावलीले अस्थायी प्रकृतिका करिब १ लाख शिक्षक (राहत, साविक उमावि, सिकाइ अनुदान, बाल विकास शिक्षा, अस्थायी/करार, प्राविधिक धारलगायत) र विद्यालय कर्मचारीको समस्यालाई उपेक्षा पारेको ठहर महासंघको छ ।
‘निजी लगानीका (संस्थागत) विद्यालयका शिक्षकका समस्या र पीडामा पनि नियमावलीले कुनै सरोकार राखेको छैन,’ सुवेदीले भने । लामो अस्थायी सेवा गरी स्थायी भएका दीर्घसेवी शिक्षकप्रति सरकार निर्मम भएको महासंघको जिकिर छ ।
फरक क्षमता र विशेष अवस्थाका शिक्षकको सरुवामा केही सहजता तथा पारस्परिक सरुवाको प्रबन्धमा भने महासंघले सकारात्मक कदम भनेको छ । तर समग्रमा शिक्षकको सरुवालाई झन् असजिलो बनाएको दाबी महासंघको छ ।
‘शिक्षक भएर काम गर्ने उत्साह लिएर सेवा प्रवेश गरेका नयाँ युवा शिक्षकले आफ्नो घरगाउँमा विषय मिल्दो दरबन्दी खाली भएको र सम्बन्धित विद्यालय र पालिकासमेत लिन तयार रहेको अवस्थामा सरुवा भई आउन नसक्ने बनाइएको छ,’ सुवेदीले भने ।
सरुवामा राखिएको ३ वर्षे प्रावधानले युवा जनशक्तिको शिक्षण पेसा प्रवेशलाई निरत्साहित गर्ने निचोड महासंघको छ । ‘सरकार शिक्षकप्रति आग्रही छ भन्ने प्रमाणित गरेको छ,’ अध्यक्ष सुवेदीले भने । विद्यालय व्यवस्थापन समितिको अधिकार कटौती गरेको ठहर महासंघको छ ।

विद्यालय व्यवस्थापन समितिमा रहने व्यक्ति राजनीतिक पार्टीको सदस्यता लिएको हुन नहुने लगायतका प्रावधान नियमावलीमा राखिएको छ । विशेष शिक्षाअन्तर्गतका सबै दरबन्दी स्वीकृत दरबन्दीमा परिणत गरेकोमा महासंघले सकारात्मक भनेको छ । ‘तर स्थायित्व र पेसा सुरक्षाको बारेमा नियमावली मौन छ,’ सुवेदीले भने ।
विद्यालय शिक्षालाई उकास्न प्रधानाध्यापकको उत्तरदायित्व, अधिकार र जिम्मेवारी बढाएर बलियो प्रशासनिक तथा शैक्षिक पदाधिकारीको रूपमा उभ्याउनु पर्ने महासंघको जोड छ । तर आवश्यकता भएको बेला स्थानीय तहको प्रमुखबाट जुनसुकै बेला हटाउन सक्ने प्रबन्ध राख्दा प्रधानाध्यापकलाई कमजोर, आदेशपालक र निगाहमुखी बनाउने अवस्था सिर्जना भएको दाबी महासंघको छ ।
नियमावलीमा प्रधानाध्यापक भत्तामा वृद्धि गरिएको छ । भत्ता व्यवस्था गर्दा रकम तोकिनुभन्दा आधारभूत तलबको प्रतिशतमा (कम्तीमा १५ प्रतिशत) तोकिनु पर्ने माग महासंघको छ ।
शिक्षकको मौजुदा तीन श्रेणी (तृतीय, द्वितीय, प्रथम) को स्थानमा चार श्रेणी (तृतीय, द्वितीय, प्रथम र विशिष्ट) राख्नुपर्ने माग महासंघको छ ।
‘स्थायी शिक्षकको सहज बढुवाको लागि बढुवाको अनुपात वृद्धि गर्ने र आवधिक बढुवाको प्रबन्ध ल्याइनुपर्छ,’ अध्यक्ष सुवेदीले भने ।
विद्यालय शिक्षालाई संघ, प्रदेश र स्थानीय सरकारको साझा सूचीमा राख्नुपर्ने धारणा महासंघको छ । संविधानको अनुसूची ८ मा माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहको हुने भनिएको छ । यसमा शिक्षक महासंघले विरोध जनाउँदै आएको छ ।
नियमावलीमा पनि विद्यालय सञ्चालनको अधिकार स्थानीय तहलाई दिइएको छ । तीन तहको सरकारको साझा सूचीमा राख्न सरकार सकारात्मक नभएको महासंघको तर्क छ । स्थानीय तहमा बस्न नमानेका शिक्षकले संविधान संशोधन गर्नुपर्ने राय राख्दै आएका छन् ।

कामको सिलसिलामा दुर्घटनामा परी निधन भएका वा सोही कारणबाट निको नहुँदै मृत्यु भएका शिक्षक परिवारलाई आजीवन पारिवारिक वृत्ति दिने प्रावधानमा महासंघ सकारात्मक देखिएको छ । तर अपेक्षाभन्दा फरक गरी नियमावली आएकाले आन्दोलनको चेतावनी महासंघले दिएको छ ।
‘शिक्षक कर्मचारीलाई नियमावलीले निराश तुल्याएको छ । आम शिक्षक कर्मचारीको समस्यामा राज्यबाट न्याय हुन्छ भन्ने विश्वास भत्काउँदै शिक्षक कर्मचारीलाई नयाँ शिराबाट कडा आन्दोलन गर्न बाध्य तुल्याएको छ,’ महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
महासंघले २०७५, २०७८, २०८० र २०८१/०८२ मा सडक आन्दोलन गर्यो । पटकपटक सरकार र महासंघबीच सहमति भयो । तर कार्यान्वयन नभएको गुनासो महासंघको छ । फेरि आन्दोलनको चेतावनी महासंघले दिएको छ ।
निजी विद्यालय सञ्चालक पनि असन्तुष्ट
नियमावलीमा निजी विद्यालय सञ्चालकहरूले पनि केही बुँदामा असन्तुष्टि जनाएका छन् । प्याब्सन, एन प्याब्सन, हिसान र अपेनले संयुक्त विज्ञप्ति निकालेर नियमावली पुनरावलोकन गर्नुपर्ने माग राखेका छन् ।

नियमावलीमा समेटिएका केही बुँदाहरूले विद्यार्थी अधिकारको संरक्षण गर्ने उद्देश्य राखे पनि विद्यालय व्यवस्थापन, अनुशासन, अभिभावक विद्यालय सहकार्य, विद्यालयको उत्तरदायित्त्व तथा नेपाली समाजको संस्कार, संस्कृति र सामाजिक मूल्यसँग सम्बन्धित विषयमा व्यावहारिक जटिलता सिर्जना गरेको उनीहरूको निष्कर्ष छ ।
‘विद्यार्थीको अधिकार, कर्तव्य, अनुशासन, शिक्षकको व्यावसायिक अधिकार तथा विद्यालयको संस्थागत उत्तरदायित्वबीच सन्तुलन कायम हुने गरी सम्बन्धित व्यवस्थाहरू पुनरावलोकन गरिनु पर्छ,’ विज्ञप्तिमा भनिएको छ । निजी विद्यालय सञ्चालकहरूले बजेटमा आएको ३ प्रतिशत समता शुल्क पनि हटाउनु पर्ने माग गरिरहेका छन् ।
प्रतिक्रिया 4