News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुलभ खरेलले जेनजी अगुवा माजिद अन्सारी पक्राउका क्रममा प्रहरीले अत्यधिक बल प्रयोग गरेको भन्दै कडा आलोचना गरेका छन् ।
- सांसद खरेलले प्रहरीले हिरासतमा लिँदा अन्सारीमाथि कुटपिट र ज्यादती गरेको आरोप लगाउँदै सरकारलाई घटनाको जवाफदेहिता र क्षतिपूर्तिका लागि प्रश्न सोधेका छन् ।
- उनले प्रहरीको व्यवहारमा सत्ताको अनुहार देखिने गरेको टिप्पणी गर्दै संयमित बन्न र अन्सारीमाथि भएको ज्यादतीप्रति नेपाल प्रहरीले औपचारिक रूपमा माफी माग्न माग गरेका छन् ।
३० असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुलभ खरेलले जेनजी अगुवा माजिद अन्सारी पक्राउ प्रकरणमा प्रहरीले अत्यधिक बल प्रयोग गरेको भन्दै त्यसको कडा आलोचना गरेका छन्।
सोमबार संसद्को कानुन समितिको बैठकमा बोल्दै सांसद खरेलले अन्सारीमाथि भएको कुटपिट र ज्यादतीबारे सरकारको ध्यानाकर्षण गराउँदै औपचारिक रूपमा माफी माग्न नेपाल प्रहरीसँग माग गरेका हुन्।
कानुन समितिको बैठकमा सांसद खरेलले अन्सारीलाई पक्राउ मात्र नगरी मुक्का हानिएको, लुछिएको र अत्यधिक बल प्रयोग गरिएको बताए । अन्सारीको उपचार र क्षतिपूर्तिको जिम्मा कसले लिने भन्दै उनले सरकारलाई प्रश्नसमेत गरेका छन्।
‘प्रहरीले भ्यानभित्र लगेर पनि मान्छेहरूलाई कुट्दो रहेछ। हामी यस्तो खालको व्यवस्थामा बस्न खोजिरहेका छौँ ?’ खरेलले भने, ‘समाजमा फरक मत सबैले राख्छन्। फरक मत राख्दैमा कसैप्रति पनि उग्र भावले प्रस्तुत नहुन म नेपाल प्रहरीलाई आग्रह गर्दछु।’
सांसद खरेलले प्रहरीको बोली र व्यवहारमा तत्कालीन सत्ता र गृहमन्त्रीको अनुहार देखिने गरेको टिप्पणी गरे। विगतमा रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गर्दा एक प्रहरीले ‘तपाईंको अन्तिम इच्छा के हो ?’ भनी सोधेको प्रसङ्ग कोट्याउँदै उनले त्यसबेला आफूले प्रहरीको नभई तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीको अनुहार देखेको बताए।
अहिले पनि आन्दोलनकारीलाई प्रहरीले गर्ने दमनमा जनताले वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीको अनुहार देख्ने भन्दै उनले सरकारलाई संयमित हुन र मानवअधिकारको सम्मान गर्न चेतावनी दिए।
रास्वपा सांसदहरू मनिष झा र अफसाना बानोसहित आफू अन्सारीलाई भेट्न पुगेको तर अन्सारी अझै पनि हिरासतमा रहेको या नरहेको विषयमा अन्योल देखिएको खरेलले बताए। वर्तमान सरकारलाई असफल हुने कुनै छुट नभएको बताउँदै उनले असन्तुष्ट र फरक मत राख्नेहरूलाई दमन गर्नुको साटो सम्मान दिएर अघि बढ्न सरकारलाई सुझाव दिएका छन्।
सांसद खरेलले कानुन समितिमा के भने ?
माजिद अन्सारीको हकमा त उहाँलाई पक्राउ (एरेस्ट) मात्र गरिएको छैन, प्रहरीद्वारा अत्यधिक बल प्रयोग (एक्सेसिभ युज अफ फोर्स) पनि भएको छ। लुछिएको पनि छ, मुक्का हानिरहेको अवस्था पनि छ। उहाँको उपचारको विषयमा कसले हो त्यो क्षतिपूर्ति हेर्ने अथवा नहेर्ने ?
म आफैँ पनि कानुनको विद्यार्थी भइरहेको नाताले माजिद अन्सारीको विषयमा जसरी प्रहरीले कामकारबाही गर्यो, त्यो विषयमा मेरो पनि ध्यानाकर्षण भएको कुरा म समिति सभापतिलाई जानकारी गराउन चाहन्छु। र, सभापतिमार्फत सरकारको पनि यस विषयमा के धारणा हो भन्ने कुराको जानकारी लिन चाहन्छु।
कतिपय अवस्थामा त के सम्म देखिँदो रहेछ भन्दाखेरि (हिजोको दिनमा कानुन व्यवसाय गर्दै गर्दा पनि थाहा पाउँथेँ), प्रहरीले भ्यानभित्र लगेर पनि मान्छेहरूलाई कुट्दो रहेछ। भनेपछि, हामी यस्तो खालको व्यवस्थामा बस्न खोजिरहेका छौँ ?
म यो मात्रै कुरा भन्दिनँ, केही समयअगाडि मेरा पार्टी सभापतिलाई एकजना प्रहरीले ‘तपाईंको अन्तिम इच्छा के हो ?’ भनेर सोधेको थियो। मैले त्यसमा त्यो प्रहरीको बोली कहिल्यै देखिनँ, त्यसमा म तत्कालीन सत्ताको, तत्कालीन प्रधानमन्त्रीको र तत्कालीन गृहमन्त्रीको अनुहार देख्थेँ। मेरा पार्टी सभापति रवि लामिछानेलाई राज्यले जुन व्यवहार गर्यो, मैले त्यहाँ उहाँहरूको अनुहार देखेको थिएँ।
प्रहरीको बोलीमा, आन्दोलनकारी वा विपक्षी वा समाजमा बसेका प्रत्येक व्यक्तिहरूलाई ‘राजनीति नगर’ भन्दै गर्दा जनताले त्यहाँ अहिलेको गृहमन्त्री र प्रधानमन्त्रीको अनुहार देखेँ भने के हुन्छ ? जसरी मैले हिजो त्यसरी देख्थेँ।
त्यही भएर म सरकारलाई भन्छु– अलिकति… हाम्रो बाटो धेरै लामो छ। हाम्रो बाटो असाध्यै धेरै लामो छ, हामीले बाटो बिराउनु हुँदैन। यो सरकार असफल होस् भनेर विपक्षी वा प्रतिपक्षले पनि चाहेका छैनन्। यो सरकारलाई असफल हुने छुटै छैन। त्यही भएर नआत्तिकनै मानवअधिकारका विषयहरूमा संयमित होला र समाजका सबैभन्दा बढी प्रभावित (भल्नरेबल) व्यक्तिहरूलाई सबैभन्दा बढी सम्मान दिएर अगाडि बढ्नुपर्छ भन्ने कुरा म समिति सभापतिलाई जानकारी गराउँछु।
म अस्ति माजिद अन्सारीलाई भेट्न गएको थिएँ। माननीय मनीषजी र अफसाना बानोजी पनि हुनुहुन्थ्यो, हामीहरू त्यहाँ गएका थियौँ। तत्कालीन अवस्थामा त्यहाँ प्रहरीहरू थिएनन्, म त उहाँ हिरासतबाट छुट्नुभएछ भन्ने हेरेको, आज फेरि सामाजिक सञ्जालमा उहाँले ‘म अझै पनि प्रहरीको हिरासतमा छु’ भनेर भन्नुभएको छ। उहाँ हिरासतमा हुनुहुन्छ कि हुनुहुँदैन भन्ने कुराको पनि अहिले जानकारी छैन। अब मैले त्यसरी हेर्दै गर्दा दुइटा अवस्था पनि देखियो– उहाँको उपचारको विषयमा कसले हो त्यो क्षतिपूर्ति हेर्ने अथवा नहेर्ने ? लगायतको विषयमा मलाई लाग्छ, ‘सरकारको धारणा के छ त ?’ भनेर हामीले बुझ्नुपर्ने अवस्था हुँदै गर्दाखेरि मैले सरकारलाई अलिकति संयमित भएर हिँड्न आग्रह गर्छु।
हामीले धेरै लामो यात्रा तय गर्नुछ, हामीले जनताका अधिकारहरूलाई संरक्षित गर्नुछ, संविधानलाई मान्नुछ। कानुनका विविध प्रक्रियाहरूलाई मान्दै हामी अगाडि बढ्नुपर्ने अवस्था हुँदै गर्दाखेरि, समाजमा फरक मत सबैले राख्छन्। हामीले पनि हिजो फरक मत राखेरै आज यति ठुलो दल बनाएका हौँ। समाजमा फरक मत मात्रै राख्दैमा कसैप्रति पनि उग्र भावले प्रस्तुत नहुन म नेपाल प्रहरीलाई आग्रह गर्दछु।
र, हिजोका दिनका आन्दोलनहरू हुन् या आजका दिनका आन्दोलनहरू हुन्, जसमा नेपाल प्रहरीको त्यस्तो ज्यादतीपूर्ण व्यवहार देखिएको छ, त्यसमा नेपाल प्रहरीले आफैँले औपचारिक रूपमा नै माफी मागोस् ।
प्रतिक्रिया 4