+
+
Shares

हेटौंडा कपडा उद्योग सञ्चालन प्रतिवेदन उद्योगमन्त्रीलाई बुझाइयो

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३० गते १२:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हेटौंडा कपडा उद्योग सञ्चालनका लागि तयार पारिएको प्रतिवेदन कार्यदलले उद्योगमन्त्री गौरीकुमारी यादवलाई बुझाएको छ ।
  • नेपाली सेनाले आगामी दुई महिनाभित्र उद्योगबाट परीक्षण उत्पादन सुरु गर्नका लागि मेसिन मर्मत र सरसफाइको काम तीव्र पारेको छ ।
  • उद्योग पुनः सञ्चालनलाई सरकारले उच्च प्राथमिकतामा राखेको भन्दै मन्त्री यादवले निर्धारित समयमै उत्पादन सुरु गर्न आवश्यक समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

३० असार, काठमाडौं । लामो समयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योग सञ्चालनको प्रतिवेदन अध्ययन कार्यदलले उद्योगमन्त्री गौरीकुमारी यादवलाई बुझाएको छ ।

तत्काल परीक्षण उत्पादन गर्ने र थप रणनीतिक योजनासहित पूर्ण क्षमतामा सञ्चालन गर्ने खाकासहितको प्रतिवेदन कार्यदलले तयार गरी मन्त्रीलाई बुझाएको छ ।

उद्योग मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखाका प्रमुख रामबन्धु सुवेदीको संयोजकत्वमा गठित कार्यदलले प्रतिवेदन बुझाए पनि यसअघि नै अर्थ मन्त्रालयबाट विनियोजित बजेटअनुसार नेपाली सेनाले मेसिन मर्मतको काम भने थालिसकेको बताएको छ ।

प्रतिवेदनमा उद्योग पुनः सञ्चालनका लागि चालिएका कदम, हालसम्मको प्रगति र आगामी कार्यदिशाबारे विस्तृत खाका समेटिएको छ ।

मन्त्रालयका अनुसार सरकारको निर्देशनअनुसार नेपाली सेनाले आगामी दुई महिनाभित्र उद्योगबाट परीक्षण उत्पादन सुरु गर्नुपर्ने म्याद पाएको छ र सोहीअनुसार तीव्र रूपमा काम अगाडि बढाइएको छ ।

यसका लागि अर्थ मन्त्रालयले असार पहिलो सातामै नेपाली सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालयलाई ३३ लाख रुपैयाँ बजेट निकासा गरिसकेको छ । कारखाना सञ्चालनको जिम्मेवारी पाएसँगै सेनाको प्राविधिक टोली उद्योग स्थलमा खटिएर सरसफाइ र मेसिन मर्मतको काममा जुटेको छ भने परीक्षण उत्पादनका लागि आवश्यक कच्चा पदार्थसमेत खरिद गरिसकेको मन्त्रालयले जनाएको छ ।

यसैगरी उद्योगको भौतिक संरचना तथा पूर्वाधार मर्मत गर्न पूर्वाधार विकास मन्त्रालयले ५० लाख रुपैयाँको लागत अनुमान पेस गर्दै मर्मतको जिम्मेवारी लिएको छ ।

उद्योगभित्रको विद्युत् प्रणाली मर्मतको काम भने हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले सम्पन्न गरेको छ । तत्काल पुराना मेसिन मर्मत गरेर परीक्षण उत्पादन गरिने र त्यसको नतिजाका आधारमा उद्योगलाई दीर्घकालीन रूपमा सञ्चालन गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिनेछ । सोहीअनुरूप आवश्यक कानुनी र नीतिगत निर्णय गर्दै अगाडि बढ्ने प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन बुझ्दै मन्त्री गौरीकुमारी यादवले राष्ट्रिय गौरवसँग जोडिएको हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्ने कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताइन् ।कार्यदलको सुझावअनुसार निर्धारित समयभित्रै उत्पादन सुरु गर्न मन्त्रालयले आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?