३० असार, काठमाडौं । मधेश प्रदेका पूर्वप्रदेश प्रमुख राजेश अहिराज(राजेश झा) जबरजस्ती करणी (बलात्कार) मुद्दामा दोषी ठहर भएका छन् । सोमबार काठमाडौं जिल्ला अदालतमा न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले अहिराजलाई दोषी ठहर गरेको हो ।
इजलासले दोषी ठहर गरेपनि सजाय भने तोकेको छैन । सजायका लागि आगामी ३२ गते सजाय निर्धारणका लागि अर्को पेसी तोकिएको छ ।
अहिराज पूर्वपत्रकार तथा मधेशवादी राजनीतिज्ञ पनि हुन् । उनलाई तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ फागुन ७ मा मधेश प्रदेश प्रमुख पदमा नियुक्त गरेको थियो ।
उनीमाथि एक महिलाले ४ जेठ २०८१ मा काठमाडौंको नयाँबानेश्वरस्थित आफ्नै डेरामा बलात्कार गरेको आरोप लगाएकी थिइन् । अहिराजले भने आफूलाई बलात्कारको जाहेरी दिने युवतीविरुद्ध उल्टै मुद्दा हालेका थिए ।
त्यसपछि ४ साउन २०८२ मा प्रहरीले उनलाई पक्राउ गरेको थियो । प्रहरी अनुसन्धानका आधारमा सरकारी वकिल कार्यालय काठमाडौंले उनीविरुद्ध जबरजस्ती करणी मुद्दामा अभियोजन गरेको थियो ।
१४ साउन २०८२ मा जिल्ला अदालत काठमाडौंका न्यायाधीश पिताम्बर शर्माको इजलासले अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । त्यसयता उनी डिल्लीबजार कारागारमा थुनामा छन् ।
प्रतिक्रिया 4