News Summary
Generated by OK AI. Editorially reviewed.- ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्सले सेप्टेम्बर २५ देखि २७ सम्म न्यूयोर्कमा नेपाली अमेरिकन बिजनेस एण्ड इन्भेस्टमेन्ट समिट आयोजना गर्ने भएको छ ।
- अध्यक्ष प्रदीप श्रेष्ठले यो सम्मेलन नेपाल र अमेरिकाबीचको आर्थिक सम्बन्धलाई नयाँ दिशामा लैजाने साझा अभियान भएको बताउनुभयो ।
- तीन दिने सम्मेलनमा नेपालका विभिन्न क्षेत्रमा लगानी प्रवर्द्धन गर्ने र प्रविधि तथा अनुभव साटासाट गर्ने लक्ष्य राखिएको छ ।
३० असार, काठमाडौं । नेपाल र संयुक्त राज्य अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा आर्थिक सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यसहित ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्सले नेपाली अमेरिकन बिजनेस एण्ड इन्भेस्टमेन्ट समिट (एनएबीआईएस) आयोजना गर्ने भएको छ ।
सेप्टेम्बर २५ देखि २७ सम्म न्यूयोर्कस्थित न्यूयोर्क जेएफके मेरियट होटलमा आयोजना हुने तीन दिने अन्तर्राष्ट्रिय व्यापार सम्मेलन ‘पूँजी, बिचार र अवसरलाई जोड्ने’ नाराका साथ सञ्चालन हुने बताइएको छ ।
समिटमा नेपाल र अमेरिकाका सरकारी प्रतिनिधि, व्यवसायी, लगानीकर्ता, उद्यमी, नीतिनिर्माता तथा विश्वभर फैलिएको नेपाली डायस्पोराको सहभागिता रहने आयोजकले जनाएको छ । सम्मेलनमार्फत दुई देशबीच व्यापार विस्तार, लगानी प्रवर्द्धन, प्रविधि विकास र दीर्घकालीन आर्थिक साझेदारी निर्माण गर्ने लक्ष्य राखिएको छ ।
समिटको आधिकारिक घोषणा कार्यक्रममा बोल्दै ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्सका अध्यक्ष प्रदीप श्रेष्ठले एनएबीआईएस एक साधारण सम्मेलन मात्र नभइ नेपाल र अमेरिकाबीच आर्थिक सम्बन्धलाई नयाँ दिशामा लैजाने साझा अभियान भएको बताए ।
उनले नेपाल पर्यटन, जलविद्युत्, सूचना प्रविधि, आधुनिक कृषि, पूर्वाधार विकास, उत्पादनमूलक उद्योग तथा स्टार्टअप क्षेत्रमा ठूलो सम्भावना भएको देश रहेको उल्लेख गरे । अमेरिकामा रहेका नेपाली मूलका सफल व्यवसायी, लगानीकर्ता, प्रविधि विज्ञ र विभिन्न क्षेत्रमा नेतृत्व गरिरहेका व्यक्तिहरूको ज्ञान, अनुभव र पूँजीलाई नेपालको आर्थिक विकाससँग जोड्ने उद्देश्यले यस्तो सम्मेलन आयोजना गर्न लागिएको उनले बताए ।
श्रेष्ठका अनुसार सम्मेलन केवल छलफलमा सीमित रहने छैन । विचारलाई व्यवसायमा, संवादलाई साझेदारीमा र प्रतिबद्धतालाई वास्तविक लगानीमा रूपान्तरण गर्ने परिणाममुखी मञ्चका रूपमा विकास गरिनेछ।
उनले अमेरिकाभर रहेका नेपाली व्यवसायीहरूलाई सशक्त बनाइने बताए । न्यूयोर्कदेखि क्यालिफोर्निया, टेक्सासदेखि इलिनोइस र फ्लोरिडादेखि वासिङ्टनसम्म नेपाली उद्यमीले रेस्टुरेन्ट, होटल, स्वास्थ्य सेवा, सूचना प्रविधि, रियल स्टेट, निर्माण, वित्तीय सेवा, खुद्रा व्यापार, शिक्षा तथा यातायात क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको र सम्मेलनले ती व्यवसायीहरूबीच नेटवर्क विस्तार, अनुभव आदानप्रदान र रणनीतिक साझेदारी निर्माण गर्ने अवसर प्रदान गर्ने उनले बताए ।
सम्मेलनमा अन्तर्राष्ट्रिय तथा डायस्पोरा नेताले सम्बोधन गर्ने, सरकार तथा निजी क्षेत्रबीच संवाद, स्टार्टअप शोकेस तथा उत्पादन सार्वजनिक कार्यक्रम, लगानीकर्ता नेटवर्किङ, व्यवसाय–व्यवसाय तथा व्यवसाय–सरकार भेटघाट, रणनीतिक साझेदारी बैठक तथा गाला डिनर एवं सम्मान कार्यक्रम आयोजना गरिने भएको छ ।
समिट घोषणा कार्यक्रममा आधिकारिक वेबसाइट सार्वजनिक गर्दै दर्ता प्रक्रिया सुरु गरिएको आयोजकले बताएको छ । आयोजकका अनुसार स्टार्टअप तथा उद्यमीहरूले आफ्नो व्यवसाय प्रस्तुत गर्न आवेदन दिन सक्ने भएका छन् ।
प्रतिक्रिया 4