३१ असार, जनकपुरधाम । उच्च अदालत जनकपुरले आर्थिक वर्ष २०८२/८३ मा लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट गर्न सफल भएको छ । चालु आवमा ७०.८८ प्रतिशत फैसला दर हासिल गरेको पत्रकार सम्मेलन गरी अदालतले जनाएको छ ।
अदालतले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको असार ३१ गतेसम्म कुल ६ हजार ५२६ मुद्दा दर्ता भएकामा ४ हजार ६१९ मुद्दाको फैसला भएको जनाएको छ । एक हजार ८९७ मुद्दा बाँकी रहेका छन् ।
अदालतका अनुसार यस आर्थिक वर्षका लागि ४ हजार ५५६ मुद्दा फर्छ्योट गर्ने लक्ष्य तोकिएको थियो । तर, लक्ष्यभन्दा ६३ मुद्दा बढी फर्छ्योट गर्दै १०१.६० प्रतिशत लक्ष्य प्रगति हासिल गरिएको कामु मुख्य न्यायाधीश टेकनारायण कुवरले बताए ।

पत्रकार सम्मेलनमा प्रस्तुत विवरणअनुसार जिम्मेवारी सरेर आएका २ हजार २७१ मुद्दा र नयाँ दर्ता भएका ४ हजार २५५ गरी कुल ६ हजार ५२६ मुद्दामध्ये ७०.८८ प्रतिशत मुद्दा फर्छ्योट भएका छन् ।
अदालतमा अहिले १८ महिनाभन्दा बढी पुराना र दुई वर्षभन्दा बढी समय पुगेका सबै मुद्दा शून्यमा झारिएको मुख्य न्यायाधीश कुवरले जानकारी दिए ।
पछिल्ला पाँच आर्थिक वर्षको तुलनात्मक विवरणले पनि अदालतको कार्यसम्पादनमा उल्लेखनीय सुधार देखिएको छ ।आर्थिक वर्ष २०७८/७९ मा ४९.१५ प्रतिशत फैसला दर रहेको अदालतले २०७९/८० मा ४४.१७ प्रतिशत, २०८०/८१ मा ७१.१३ प्रतिशत, २०८१/८२ मा ६६.०७ प्रतिशत र चालु आर्थिक वर्षमा ७०.८८ प्रतिशत फैसला दर हासिल गरेको तथ्यांकमा उल्लेख छ ।
अदालतले लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट हुनु, पुराना मुद्दा शून्यमा झारिनु तथा फैसला दरमा सुधार आउनुलाई न्याय सम्पादनलाई प्रभावकारी बनाउने प्रयासको परिणाम भएको कामु मुख्य न्यायाधीश कुवरको भनाइ छ ।
समाजमा सचेतना बढ्नु, मेलमिलाप हुनु र पालिकाको न्यायपालिका प्रभावकारी कार्य सम्पादनको कारण घटेको उनले बताए । अर्को प्रविधि मैत्री बनाइएको कारण, वकिल टाढाबाट आउनु पर्ने झन्झट हटेकोले मुद्दा फर्छ्यौट सहज बनेको उनको भनाइ छ ।
बारसँग समन्वय र काममा रणनीति लक्ष्य अनुसार काम गर्दा प्रभावकारी भएको उनले बताए ।
प्रतिक्रिया 4