+
+
Shares

मलेसियास्थित दूतावास भन्छ- पासपोर्ट आफैसँग राख्नू, श्रमिक भन्छन्- कम्पनीले दिए पो

कृष्णसिंह धामी कृष्णसिंह धामी
२०८३ असार ३१ गते १९:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मलेसिया सरकारले वैध कागजात नभएका र भिसाको म्याद सकिएका आप्रवासीहरूविरुद्ध धरपकड तथा विशेष कारबाही अभियानलाई तीब्रता दिएको छ ।
  • मलेसियास्थित नेपाली दूतावासले सबै नेपाली नागरिकलाई आफ्नो राहदानी आफूसँगै सुरक्षित राख्न र रोजगारदातालाई श्रमिकको राहदानी नियन्त्रणमा नराख्न अनुरोध गरेको छ ।
  • रोजगारदाताले राहदानी नदिएको खण्डमा दूतावासलाई तत्काल जानकारी गराउन आग्रह गर्दै, सो विवरण आएपछि सम्बन्धित कम्पनीलाई पत्राचार गरिने दूतावासले जनाएको छ ।

३१ असार, काठमाडौं । मलेसियामा पासपोर्ट नभएका आप्रवासीमाथिको कारबाहीलाई तीब्रता दिएको छ । पासपोर्ट नभएका, भिसा नभएका तथा अन्य कागजात नभएका आप्रवासीहरूमाथि धरपकडलाई तीव्रता दिएको हो । जसले गर्दा मलेसियामा रहेका धेरै नेपालीहरू समेत त्यसको जोखिममा परेका छन् ।

पासपोर्ट नहुने, भिसाको म्याद सकिएर गैरकानुनी रूपमा मलेसिया बस्दै आएकाहरू यसको जोखिममा परेका हुन् । पछिल्लो समय मलेसिया अध्यागमनले विशेष अभियान नै चलाएर कागजातविहिन विदेशी नागरिक पक्राउ गर्र्दै आएको छ ।

विशेष अपरेसनमा गैरकानुनी रूपमा बस्ने, भिसाको नियम उल्लंघन गर्ने र अवैधानिक व्यवसाय चलाउनेहरूलाई निसाना बनाइँदै आएको छ ।

मलेसियाले वैध कागजात नभएका, भिसाको अवधि सकिएर बसेका र अस्थायी रोजगार पासको दुरुपयोग गरेकाहरूलाई पक्राउ गर्दै आएको छ । कानुन उल्लंघन गर्नेहरूमाथि कुनै पनि सम्झौता नगर्ने र कडा कारबाही गर्ने चेतावनी दिँदै आएको छ ।

हरेक आप्रवासीले आफ्नो पासपोर्ट आफैसँगै राख्नुपर्ने भएपछि मलेसियास्थित नेपाली दूतावासले समेत सबै नेपालीलाई पासपोर्ट राख्न अनुरोध गरेको छ । दूतावासले एक सूचना जारी गर्दै मलेसियामा रहेका सबै नेपाली नागरिकलाई आफ्नो पासपोर्ट आफूसँग राख्न र रोजगारदातालाई श्रमिकको राहदानी नियन्त्रणमा नराख्न भनेको छ ।

मलेसियाको प्रचलित कानुन तथा नियमअनुसार त्यहाँ बसोबास गर्ने वा यात्रा गर्ने क्रममा नेपाली नागरिकले आफ्नो राहदानी आफैसँग राख्नुपर्ने दूतावासले जनाएको छ । रोजगारदातालाई पनि नेपाली श्रमिकहरूले आफ्नो राहदानी आफैसँग राख्न पाउने वातावरण सुनिश्चित गर्न भनिएको छ ।

श्रमिकको सहमतिबिनै राहदानी रोजगारदाता वा अन्य व्यक्तिले आफ्नो नियन्त्रणमा राखेमा त्यसबारे तत्काल दूतावासलाई जानकारी गराउन आग्रह गरिएको छ । उक्त सूचना दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत समेत सार्वजनिक गरेको छ ।

तर मलेसियामा अहिले कतिपय नेपाली श्रमिकको पासपोर्ट रोजगारदाता तथा कम्पनीले नै राख्ने गरेका छन् । जसले गर्दा उनीहरूले दूतावासलाई यथार्थता बुझेर मात्रै सूचना जारी गर्न भनेका छन् । मलेसियामा रहेका एक श्रमिकका अनुसार कुनै काम परेर कम्पनीसँग पासपोर्ट माग्दा ४ हजार मलेसियन रिंगेट डिपोजिट गर्नुपर्दछ ।

दूतावासको सूचनामा एक व्यक्तिले कमेन्ट गर्दै भनेका छन्, ‘प्रत्येक कम्पनीमा गएर बुझ्नुपर्यो, कामदारहरूको अवस्था के छ कम्पनीले पासपोर्ट दिएको छ कि छैन, भिसा लगाइदिएको छ कि छैन, मेडिकल सुविधा छ कि छैन तपाईँहरूलाई मलेसियामा राजदूतावास बनाएर राखेको कसको लागि हो ? हामी कामदारहरूको लागि होइन, फेसबुकमा आएर सूचना हाल्यो त्यति भएपछि सक्यो होइन ?, मलेसियामा जति सेक्युरिटी कम्पनी छन् सबैमा जानुहोस् र यहाँका सेक्युरिटीहरूसँग बुझ्नुहोस् ।’

एक अर्का व्यक्तिले पासपोर्टको फोटोकपी पनि रोजगारदाताले दिन नखोज्ने बताए । त्यस्तै अर्का व्यक्तिले कमेन्ट गर्दै भनेका छन् ‘पासपोर्ट छुन समेत दिँदैनन्, के को आफ्नो साथमा राख्न पाउनु ?’

एक अर्का व्यक्तिले पासपोर्ट नदिने कम्पनीको विवरण आफूहरूले उपलब्ध गराउने तर, दूतावासले त्यस्ता रोजगारदातालाई नेपाली श्रमिक पठाउन रोक लगाउनुपर्ने बताए । दूतावासको उक्त सूचनापछि आक्रोश व्यक्त गर्दै नेपालीलाई कम्पनीहरूले पासपोर्ट नदिने गरेको प्रष्ट पारेका छन् ।

दूतावासल पासपोर्ट नदिने रोजगारदाताबारे जानकारी दिन भनेको छ । दूतावासका एक अधिकारीले सबै श्रमिकको पासपोर्ट रोजारदातासँग नरहेको र रहेकाहरूको हकमा फिर्ता गर्न अनुरोधका लागि सूचना जारी गरिएको बताए ।

‘सेक्युरिटी गार्ड र अन्य क्षेत्रमा काम गर्ने श्रमिकहरूको पासपोर्ट रोजगारदातासँग रहेको जानकारी आएको छ, पूरा विवरण जानकारी गराउन भनेका हौं,’ ती अधिकारीले भने।

पासपोर्ट नभएकालाई इमिग्रेसनले कडाइ गरिरहेको अवस्थालाई मध्यनजर गर्दै सूचना जारी गरिएको र रोजगारदाताले पासपोर्ट राखेकाका विवरण जानकारी गराउन अनुरोध गरिएको बताए । ती अधिकारीले पासपोर्ट नदिने कम्पनीको हकमा इमेल पठाएर पासपोर्ट फिर्ता दिन अनुरोध गरिने बताए ।

‘कसले दिएको छैन भन्ने हामीलाई थाहा हुँदैन । त्यसैको लागि हामीले सूचना जारी गरेका हौँ’ उनले भने ‘उजुरी गरेपछि हामीलाई थाहा हुन्छ । त्यसपछि हामीले सम्बन्धित कम्पनीलाई मेल पठाएर पासपोर्ट फिर्ता गर्न भन्छौं,’

लेखक
कृष्णसिंह धामी

धामी अनलाइनखबरको बिजनेश ब्युरोका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?