३१ असार, काठमाडौं । अब एक क्लिकमै कर्मचारीको व्यक्तिगत विवरण लोकसेवा आयोगको प्रणालीबाट राष्ट्रिय किताबखानाको प्रणालीमा स्वत: देखिने भएको छ। एउटै सूचना पटक/पटक प्रविष्ट गरिरहनु नपर्ने भएको छ ।
लोकसेवा आयोगका सचिव रामेश्वर दंगालको उपस्थितिमा आज राष्ट्रिय किताब खानाका महानिर्देशक श्रवण कुमार पोखरेल र लोकसेवा आयोगका सहसचिव पुरुषोत्तम शर्माबीच समझदारी पत्रमा हस्ताक्षर भई दुवै निकायका प्रणालीबीच सूचनाको स्वत:विनिमय हुने गरी अन्तर-आवद्धता विस्तार भएको छ ।
राष्ट्रिय किताब खानाले लोकसेवा आयोगको सिफारिसमा नियुक्त हुने नयाँ कर्मचारीको सुविधालाइ लक्षित गरि ३ महिना अघिदेखि नै ई-सिटरोल रेजिष्ट्रेशन सेवाको पृथक मोड्यूल विकास गरी संचालन गरिरहेकोछ।
यस मोड्युलमा कर्मचारीले आफ्नै मोबाइल/ल्यापटप/डेस्कटपबाट सजिलै सिटरोल दर्ता, संकेत नम्बरको प्राप्ति तथा सिटरोल डाउनलोड गर्न सक्ने सुविधा उपलब्ध गराइएकोछ । महानिर्देशक श्रवण कुमार पोखरेलका अनुसार ई-पेन्सन सेवाको तुलनामा अझ यो ई-सिटरोल रेजिष्ट्रेशन सेवा थप लोकप्रीय रहेको साथै लक्षित सबै कर्मचारीले यो सेवा लिने गरेका छन् ।
समझदारीपत्रको कार्यान्वयबाट ई-सिटरोल रेजिष्ट्रेशन सर्विस मोड्यूल संचालनमा थप सहजता मिल्ने भएकोछ । अब लोकसेवाको मास्टर आइडी नम्बर यस मोड्यूलमा प्रविष्ट गर्ने वित्तिकै कर्मचारीको सम्पूर्ण वैयाक्तिक विवरण स्वत: प्रणालीमा हुनेछन् ।
अहिलेको जस्तो नामथर ,वावुवाजेको नाम ,वैवाहिक स्थिति, स्थायी/ अस्थायी ठेगाना, शैझिक योग्यता, नागरिकता नम्बर, जारी मिति, जिल्ला लगायतका थुप्रै वैयाक्तिक विवरण पटक/ पटक प्रविष्ट गरिरहनुपर्ने वा सोधिरहनु पर्ने बाध्यता एक क्लिकमा दूर हुने भएकोछ ।
प्रतिक्रिया 4