+

सरकारले अन्तर्राष्ट्रिय पदक विजेतालाई नगद पुरस्कार दिने

२०८३ असार  ३१ गते १९:२३ २०८३ असार ३१ गते १९:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने १०१ जना खेलाडी तथा पदाधिकारीलाई १० करोड ५१ लाख ४८ हजार ५०० रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको छ।
  • मन्त्रिपरिषद्को मंगलबारको बैठकले राष्ट्रिय खेलकुद विकास नियमावलीअनुसार विभिन्न खेलका पदक विजेता खेलाडी, प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई सम्मान गर्ने निर्णय गरेको हो।
  • खेलकुद मन्त्रालयका अनुसार बजेट अभावले रोकिएको पुरस्कार रकम राखेपको सिफारिसमा अब सम्बन्धित विजेताहरूलाई प्रदान गरिनेछ।

३१ असार, काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने नेपाली खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई पटक जिताउने खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

शिक्षा तथा खेलकुद मन्त्रालयले खेलाडीको सम्मान र प्रोत्साहनका लागि नगद पुरस्कारसहित सम्मान गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेको थियो । सोही प्रस्तावका आधारमा सरकारले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल गरेका खेलाडी तथा खेलाडी टोलीलाई सम्मान गर्न लागेको हो ।

राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ (दोस्रो संशोधन, २०८२) अनुसार खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, व्यवस्थापक तथा फिजियोसहितको टोलीलाई कुल १० करोड ५१ लाख ४८ हजार ५०० रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ । बजेट अभावका कारण पाउनुपर्ने पुरस्कार खेलाडीले पाउन सकेका थिएनन् ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, व्यवस्थापक तथा फिजियोसहितका १०१ जनालाई नगद पुरस्कारसहित सम्मान गरिने खेलकुद मन्त्रालयले जनाएको छ ।

माल्दिभ्समा भएको १५औं विश्व बडी बिल्डिङ एन्ड फिजिकल च्याम्पियनसिप–२०२४ का पदक विजेता चार खेलाडी र भारतमा भएको प्रथम खो–खो विश्वकप–२०२५ मा रजत पदक जित्ने महिला टोलीका १८ तथा पुरुष टोलीका १८ खेलाडीले पुरस्कार पाउनेछन् ।

त्यस्तै, युडब्लु एसियन बेल्ट रेस्लिङ–२०२५ का कांस्य पदक विजेता तीन खेलाडी, मलेसियामा १०औं एसियाली पारा तेक्वान्दो प्रतियोगिता–२०२५ का कांस्य पदक विजेता तीन खेलाडी, चीनमा छैटौं एसियन बीच गेम्स–२०२६ अन्तर्गत बीच कबड्डी महिला टोलीका कांस्य पदक विजेता सात खेलाडी तथा मलेसियामा भएको एसिसी मेन्स यू–१६ इस्ट जोन कप–२०२५ का स्वर्ण पदक विजेतासहित १७ खेलाडीलाई पनि मन्त्रालयले पुरस्कृत गर्नेछ ।

थाइल्यान्डमा भएको ५७औं बडी बिल्डिङ एन्ड फिजिकल च्याम्पियनसिप–२०२५ का कांस्य पदक विजेता एक खेलाडी, श्रीलंकामा सम्पन्न एसियन प्यासिफिक मोटरस्पोर्ट च्याम्पियनसिप–२०२५ का स्वर्ण पदक विजेता एक खेलाडी, बहराइनमा सम्पन्न आइएसएफ जिम्नासियाड–२०२४ का स्वर्ण र कांस्य पदक विजेता नौ खेलाडी तथा ओमानमा सम्पन्न पुरुष टी-२० विश्वकप छनोटमा प्रथम स्थान हासिल गरी स्वर्ण पदक जित्दै विश्वकपमा छनोट भएका खेलाडी र प्रशिक्षकसहित २० जनाले पुरस्कार पाउनेछन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सिफारिसका आधारमा तयार गरिएको प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै सम्बन्धित खेलाडी तथा टोलीलाई नगद पुरस्कारसहित सम्मान गरिने मन्त्रालयले जनाएको छ ।

अन्तर्राष्ट्रिय पदक विजेता नगद पुरस्कार
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय