+
फिफा विश्वकप :

इंग्ल्यान्ड र अर्जेन्टिनाको खेल हुँदा चर्चामा आइरहन्छ फकल्यान्ड युद्ध

२०८३ असार  ३१ गते १८:३३ २०८३ असार ३१ गते १८:३३

सन् १९८२ को त्यो फकल्यान्ड युद्ध, जहाँ बेलायतसँग पराजित भएको थियो, अर्जेन्टिना । पराजयको पीडाबाट आक्रान्त अर्जेन्टिनीहरू त्यसको कारक गोर्खालीहरूलाई ठान्छन् भनिन्छ ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सन् १९८२ को फकल्यान्ड युद्धमा गोर्खाली सैनिकको अदम्य साहस र वीरतापूर्ण योगदानले बेलायतलाई नाटकीय जित दिलाउन निर्णायक भूमिका खेलेको थियो ।
  • युद्धका एक नायक हेमकुमार श्रेष्ठले आफ्नो अनुभव सुनाउँदै तत्कालीन विषम् परिस्थिति र सान कार्लोसको रणनीतिक लडाईंमा गोर्खाली फौजको भूमिकाको स्मरण गरेका छन् ।
  • युद्धपछि अमेरिकामा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएका श्रेष्ठले अझै पनि फकल्यान्डको सम्झनालाई आफ्नो जीवनको गौरवपूर्ण गाथाका रूपमा आत्मसाथ गरेका छन् ।

विश्वकप जारी छ । र, सँगै छ- अर्जेन्टिना र लियोनल मेसीको चर्चा । यहाँ चर्चा गर्दैछु, फकल्यान्ड युद्धको ।

१९८२ को त्यो फकल्यान्ड युद्ध, जहाँ बेलायतसँग पराजित भएको थियो, अर्जेन्टिना । पराजयको पीडाबाट आक्रान्त अर्जेन्टिनीहरू त्यसको कारक गोर्खालीहरूलाई ठान्छन् भनिन्छ । र, भनिन्छ- त्यही कारण अर्जेन्टिनीहरू गोर्खालीलाई घृणा गर्छन् । थाहा छैन, त्यो कति सत्य हो । तर ठूलो संख्यामा नेपालीहरू भने मेसी र अर्जेन्टिनालाई औधी माया गर्छन् । सबै कुरा बिर्सेर अर्जेन्टिनी टिमलाई समर्थन गर्छन् ।

तर, यहाँ मेसीको थोरै र फकल्यान्ड युद्धको धेरै चर्चा गर्दैछु । ७४ दिनमा टुंगिएको त्यो युद्ध, जहाँ अर्जेन्टिनाले ठूलो क्षति मात्र बेहोर्नु परेन, उसको फकल्यान्ड कब्जा गर्ने सपनासमेत अधुरो रह्यो । गोर्खालीको साथका कारण अप्रत्यासित रूपमा बेलायतले जित निकालेको विश्वास गरिन्छ ।

फकल्यान्ड युद्धमा नाटकीय ढंगले जित दर्ज गरेर संसार हल्लाएका गोर्खाहरूले त्यसपछि बेहोरेका कठिन संघर्षका आफ्नै पाटा छन् ।

जितको एक वर्षपछि चुपचाप अमेरिका भासिएका त्यही युद्धका एक नायक हेमकुमार श्रेष्ठ २२ वर्षदेखि कोलोराडोको स्टेस पार्कमा नेपाल्स क्याफे चलाइरहेका छन् ।

डेनभर डाउन टाउनबाट ७० माइल टाढा । पहाडमा स्टेस पार्क छ । छेउमा अविरल बगिरहेको छ बिग थम्पसन नदी । त्यही किनारमा छ, नेपाल्स क्याफे । क्याफेका भित्ताभरि छन्, सगरमाथा र बुद्ध । हृदयमा देश र मस्तिष्कमा फकल्यान्ड युद्धको गौरवपूर्ण गाथा बोकेर नोस्टाल्जिक भइरहन्छन्, श्रेष्ठ ।

उमेरले ८० नाघेका श्रेष्ठको स्मृतिबाट धुमिल हुँदै गएको फकल्यान्ड युद्धको वीरतापूर्ण इतिहासका रोमाञ्चक सम्झनाहरू अझै उस्तै छन् । रेस्टुरेन्टमा आउने आगन्तुकलाई फकल्यान्ड युद्धको किताब देखाउँदा श्रेष्ठमा बेग्लै फूर्ति हुन्छ ।

यहाँ चर्चा गर्दैछु, श्रेष्ठले लडेको फकल्यान्ड युद्धको । सुनाउँदैछु, श्रेष्ठको अनुभव । गोर्खालीको वीरता । अदम्य साहसको कथा । र, विश्व हल्लाउने जितको कथा ।

श्रेष्ठको कथा संखुवासभाको खाँदबारीबाट सुरु हुन्छ । अझ त्योभन्दा पर, एक घण्टा पैदल पुगिने सेखा गाउँबाट । श्रेष्ठ त्यही सेखा गाउँमा २००३ सालमा जन्मिए । पाँच दाजुभाइ । तीन दिदी बहिनी । काइँला उनी । पाँच कक्षाभन्दा माथि पढेनन् । गाईबाख्रा चराउन थाले ।

बिदामा घर आउने ब्रिटिस लाहुरेको फुर्ति बेग्लै हुन्थ्यो । त्यो देखेर हेमकुमारको मनमा लाहुर जाने सपना झांगिएको थियो । संयोगले उनले धरानमा गल्ला आएको सुने । पूर्व ब्रिटिस लाहुरेहरू, जसले गोर्खा पल्टनका लागि युवाहरू छान्थे, उनीहरूलाई गल्ला भनिन्थ्यो ।

श्रेष्ठ पल्टनमा भर्ती हुन सेखाबाट धरान झरे । उनी जस्तै पूर्वी पहाड र संखुवासभाबाट थुप्रै युवाहरू धरानको घोपा क्याम्पमा जम्मा भएका थिए ।

उमेर १८ । वजन ५२ केजी । छातीको लम्बाइ ३६ इञ्च । पल्टनमा भर्ती हुन यो मापदण्ड पूरा हुनुपर्थ्यो । ब्राह्मण र श्रेष्ठ प्राथमिकतामा पर्दैनथे । दाइ नाता पर्ने बासु श्रेष्ठ खाँदबारीका प्रधानपञ्च थिए । श्रेष्ठले उनको कागज बनाइदिए । नाम हेमकुमार । थर गुरुङ । उमेर १८ वर्ष । गल्लाका अगाडि छाती फुलाए । ३६ इञ्च पुग्यो । वजन ५२ नाघ्यो । बाँकी कागजात देखाए । गल्लाले एक लटमा १३ जना छान्थ्यो । त्यस पटक ३१ जना छानिए । जसमध्ये उनी एक थिए । त्यो वर्ष थियो, २०१९ साल (सन् १९६२) ।

छनोट गरेका युवाहरूलाई गल्लाले धरानबाट कलकत्ता पुर्‍याए । त्यहाँ एक महिना राखे । त्यसपछि तालिमका लागि मलेसिया पुर्‍याइए । एक वर्षमा तालिम सकियो । र, उनको पहिलो पोस्टिङ भयो, हङकङ गोर्खा पल्टनमा । छनोट भएकाहरूलाई सोझै बेलायत लगिँदैनथ्यो । उनलाई धरानबाट कलकत्ता लगियो । साढे एक महिना त्यहाँ बसे । कलकत्ताबाट मलेसिया पुगे ।

बेलायतको अधिनमा रहेको मलायामा त्यहाँको ‘मलायन कम्युनिस्ट पार्टी’ ले ‘वार अफ न्यासनल लिबरेसन’ नाम दिएर सञ्चालन गरेको छापामार युद्ध दबाउन गोर्खा फौज त्यहाँ तैनाथ थियो । त्यहाँ गोर्खा रिक्रुट ट्रेनिङ सेन्टर पनि थियो । तालिम सकिएपछि उनको ‘सेभेन्थ ड्युक अफ एडिनबर्गस् ओन गोर्खा राइफल्स’ को फस्ट बटालियनमा पोस्टिङ भयो । जसलाई १/७ जीआर पनि भनिन्थ्यो ।

गोर्खा पल्टनको आर्मी बेस र एचक्यु बिजी (हेडक्वार्टर, ब्रिगेड अफ गोर्खाज) हङकङमा थियो । त्यहाँ साढे तीन वर्ष हङकङ बसे । त्यसपछि खटिए, ब्रुनाई । दुई पटक गरी त्यहाँ पाँच वर्ष बसे । उनको एक छोरी ब्रुनाईमा जन्मिइन् । एक छोरी र एक छोरी हङकङमा जन्मिए । पटकपटक गरी ९ वर्षजति उनी हङकङमा खटिए ।

दुई वर्ष उनी फिजीमा खटिए । १९७५ मा फिजी पुगेका तीन महिना पुगेको थियो । त्यसैबीच एक हप्ताको बिदा पाए । बिदामा घुम्बन फिजीको राजधानी गए । चाइनिज होटलमा खाना खान गए । एउटी केटीले आएर अर्डर लिइन् । एकै छिनपछि पछाडिबाट एउटी केटीले झ्याप्पै समातिन् । फर्केर हेर्दा त उनी त्यही केटी थिइन्, जसलाई उनले १९७२ मा हङकङको बोर्डर भित्र छिर्न दिएका थिए । होटलमा ती केटीका बुवाआमा पनि थिए । छोरीलाई जोगाइदिएकोमा उनीहरूले कृतज्ञता व्यक्त गरे । उनी हप्ता दिन त्यहाँ बस्दा उनीहरूले खानाको पैसा लिएनन् ।

उनी मलेसियामा हुँदा सुरुवाती तलब ६८ डलर थियो । हङकङमा ३०० डलर पुग्यो । पछि ३७० भयो । जब उनी परिवारसहित बस्न थाले । तब पारिश्रमिक वृद्धि भएर ७०० डलर पुग्यो ।

विवाहितको बढुवा पनि छिटो हुन्थ्यो । तलब पनि बढी पाउँथे । अविवाहितको तलबको ठूलो हिस्सा इनकम ट्याक्समा जान्थ्यो । विवाहितले भने भत्ता पाउँथे । जसलाई म्यारिड अनकम्प्यानियन गुर्खा अलाउन्स (मुगा) भत्ता भनिन्थ्यो । त्यही कारण अविवाहितले पनि विवाहित लेख्थे । कतिले थप भत्ता लिन तीन वटी श्रीमती भएकोसमेत लेखेका थिए ।

सन् १९७७ मा श्रेष्ठको दरबन्दी बेलायतमा भयो । त्यसअघि उनी १९७१ मा पहिलो पटक बेलायत पुगेका थिए । उनी बेलायतको अल्डरसट नजिकै चर्च क्रुकहाममा गोर्खा क्याम्पमा थिए । मध्यरातमा अर्जेन्टिनाले फकल्यान्ड कब्जा गरेको सुने ।

अर्जेन्टिनामा आर्थिक संकट र राजनीतिक असन्तुष्टि बढिरहेको बेला सैनिक शासक लेफ्टिनेन्ट जनरल लियोपोल्डो गाल्टिएरीले जनताको ध्यान मोड्न सेना परिचालन गरी सन् १९८२ को अप्रिल २ मा फकल्यान्ड टापु कब्जा गरे ।

फकल्यान्ड कब्जा गर्न अर्जेन्टिनाका सैन्य शासक गाल्टिएरीले चलाएको अप्रेसन रोसारियोका विरुद्ध बेलायतकी प्रधानमन्त्री मार्गरेट थ्याचरले अप्रेसन ब्ल्याक बक सुरु गर्दै अप्रिल ५ मा विशाल नौसैनिक टास्क फोर्स फकल्यान्ड पठाइन् ।

बेलायत सरकारले फिफ्थ इन्फ्न्ट्री ब्रिगेडको नेतृत्वमा युद्धका लागि बनाएको लागि टास्क फोर्समा कमान्डो, प्यारासुट रेजिमेन्ट र १/७ जीआरलाई सम्मिलित थियो ।

१२ मे १९८२ को दिन बेलायतको साउथह्याम्पटन बन्दरगाहबाट क्विन एलिजाबेथ-२ (क्यूटू) पानीजहाज ३१०० सेना लिएर फकल्यान्डका लागि प्रस्थान गर्‍यो । जसमा ६०० गोर्खा सैनिक थिए । ।

टाक्स फोर्सको बिदाइमा बजिरहेको थियो, बेलायतको राष्ट्रिय धुन । उता गोर्खा पल्टनको बिदाइमा पण्डित भवानीप्रसाद उपाध्यायले मङ्गल मन्त्रोच्चारण गरे ।

उनी चढेको पानी जहाज १६ दिनपछि २८ मे १९८२ मा बेलायत अधिनस्थ साउथ एटलान्टिक ओसनमा पर्ने साउथ जर्जिया द्वीप पुग्यो । तेल भरेपछि जहाज त्यहाँबाट एसेन्सन आइल्यान्डतर्फ अघि बढ्यो । जहाँ बेलायती सेनाको क्याम्प थियो ।

एसेन्सन आइल्यान्डमा पुगेपछि उनी चढेको पानी जहाज बदली भयो । त्यहाँबाट नोरल्यान्ड ‘वार सिप’ मा उनीहरू सान कार्लोस बेतिर लागे । राडार र मिसाइल जडित नोरल्यान्डलाई चारैतिरबाट पनडुब्बीले पहरा दिएका थिए । नोरल्यान्डमा अर्जेन्टिनी युद्धबन्दी पनि राखिएका थिए ।

श्रेष्ठ चढेको पानी जहाज अर्जेन्टिनी सेनाको निशानामा थियो । अर्जेन्टिनी आक्रमणका पूर्व जानकारीका लागि साइरन बज्थ्यो । साइरन बजेपछि लम्पसार पर्नुपर्थ्यो । यस्तो लाग्थ्यो, युद्ध मैदानमा पुग्नुअघि नै मृत्यु हुने भयो । तर अर्जेन्टिनी फौजको मिसाइल आक्रमणलाई बेलायती सेनाको पनडुब्बीले निष्क्रिय पारिदिन्थ्यो ।

पूर्वी फकल्यान्डको उत्तर-पश्चिमी भागमा रहेको तटीय क्षेत्र सान कार्लोस फकल्यान्ड युद्धको सबैभन्दा महत्वपूर्ण स्थान थियो । अर्जेन्टिनी फौजबाट मुक्त गरेपछि २१ मेमा यहींबाट बेलायती फौज गुजग्रिन हुँदै स्ट्यान्लीतर्फ अघि बढेको थियो ।

सेना, रसद र हतियार यही मार्ग भएर भित्रिन थालेपछि अर्जेन्टिनी फौजले निरन्तर हवाई हमला गरेर अवरोध सिर्जना गरिरह्यो ।
३ अप्रिल १९८२ मा अर्जेन्टिनी सेनाले कब्जामा लिएको साउथ जर्जिया द्वीपलाई २२ दिनमै (२५ अप्रिल) बेलायती सेनाले मुक्त गरिसकेको थियो । फकल्यान्डबाट १३०० किमी टाढा रहेको यो द्वीप रणनीतिक हिसाबले अन्यन्त महत्वपूर्ण थियो ।

२१ मे १९८२ मा बेलायती ४००० सैनिक सान कार्लोसमा उत्रिए । जसले युद्ध नगरेरै अर्जेन्टिनी फौजबाट यो भूभाग सहजै फिर्ता लिए । त्यसपछि पनि यहाँ अर्जेन्टिनी फौजले हवाई आक्रमण गरिरह्यो ।

मे २८ र २९ दिन चलेको भीषण लडाईंपछि डार्बिन र गुजग्रिनलाई पनि बेलायती सेनाले मुक्त गर्‍यो । र, त्यहाँ रहेका ९०० अर्जेन्टिनी सेनाले आत्मसमर्पण गरे ।

२९ मे मा बेलायती फौजले गुजग्रिनपछि उत्तरतर्फको टिल इनलेट कब्जामा लियो । यो भूभाग नियन्त्रणमा लिएपछि बेलायती फौजलाई स्ट्यान्लीतर्फ अघि बढ्न सहज भयो ।

२ जुन १९८२ को बिहान ५ बजे उनीहरू सान कार्लोस बे पुगे । पूर्व र पश्चिममा विभाजित फकल्यान्डको पूर्वमा पर्थ्यो, सान कार्लोस बे । नोरल्यान्डबाट झरेर लागे युद्ध मैदानतर्फ ।

श्रेष्ठको फौज अघि बढ्दै गर्दा फस्ट सेभेन जीआर कमान्डिङ अफिसर लेफ्टिनन्ट कर्णेल माइक मोर्गनले गोर्खाको इतिहासलाई कायम गर्ने अभिभारा पूरा गर्ने विश्वास व्यक्त गर्दै छोटो निर्देशन मन्तव्य व्यक्त गरे ।

सान कार्लोसबाट उनको फौजलाई हेलिकप्टरमा डार्बिन पुर्‍याइयो । गुजग्रिन र डार्बिनसँगै जोडिएका साना वस्ती हुन् । भीषण लडाईंपछि बेलायती सेनाले दुई दिनअघि मुक्त गरेको डार्बिन-गुजग्रिनमा अर्जेन्टिनातर्फ ठूलो क्षति भएको थियो । जताततै लास । छरपस्ट  हेल्मेटहरू । गोली । अनि, आत्मसमर्पण गरेका अर्जेन्टिनी सेनाहरू थिए ।

ब्रिटिस पल्टनको टु पारा त्यो भूगोल कब्जामा लिएपछि अघि बढ्यो । त्यसको सुरक्षाको जिम्मा गोर्खा पल्टनलाई आयो । डार्बिनलाई फेरि नियन्त्रणमा लिने प्रयासमा दुश्मन निरन्तर हवाई आक्रमण गरिरहेको थियो । त्यो भूगोलको रक्षा र स्वयं आफ्नो सुरक्षाका लागि रणनीतिक उपायहरू अपनाउनु पर्ने भयो । उनको फौजले त्यहाँ दुश्मनको हवाई र स्थल आक्रमणबाट जोगिन ओभरहेड प्रोटेक्सन सहितको ट्रेन्च खन्यो ।

उनीहरू बाहिर निस्किँदैनथे । कुनबेला गोली बर्सिन्छ । कुन बेला बम । ट्रेन्चमा घस्रेर अघि बढ्थे । मनमा डर । मृत्युको भय । न भाग्न मिल्ने न पछि हट्न मिल्ने । विजय वा पराजय । गोर्खा पल्टनसँग दुई वटा विकल्प थिए । पराजयको अर्थ मृत्यु । विजयको अर्थ जीवन । यद्यपि, विजयका क्रममा पनि सबै जोगिने निश्चित थिएन । संख्याका हिसाबले दुश्मन उनीहरूभन्दा निकै ठूलो संख्यामा थिए ।

यता, उनीहरू लडाईंको मोर्चामा थिए । उता, दुश्मनले बेलायती सेनाको खाद्यान्नसँगै ठूलो मात्रामा हतियार र गोला बारुद बोकेको एटलान्टिक कन्भेयर अर्जेन्टिनी फौजले क्षेप्यास्त्र आक्रमण गरी ध्वस्त पारिदियो । जसमा रसद र हतियार ओसार्न प्रयोग गरिने चिनुक (ब्राभो नोभेम्बर) सँगै वेसेक्स र लिन्क्स हेलिकोप्टर पनि थिए । अर्जेन्टिनी फौजको क्षेप्यास्त्र आक्रमणबाट ती सबै नष्ट भए । जसका कारण एकातिर हेलिकोप्टरमा सेना ओसार्ने कार्य प्रभावित भयो । अर्कोतर्फ बेलायती सेना भोकभोकै लड्नु पर्ने अवस्था सिर्जना भयो ।

श्रेष्ठलाई पानीजहाजमा चिनियाँ कर्मचारीले चामल दिएकी थिइन् । करिब एक किलोजति चामल उनले विभिन्न खल्तीमा हालेका थिए । त्यही खाएर लडे । त्यो पनि सकियो । त्यसपछि भोकभोकै लडे । तीन दिनपछि मात्र उनीहरूले खानेकुरा पाए ।

जुन १९८२ को सुरुवातमा बेलायती सेनाले फिट्जरोय र ब्लफ कोभ क्षेत्रमाथि नियन्त्रण कायम गर्दै स्टान्लीलाई दक्षिण र पश्चिमतर्फबाट घेराबन्दी सुरु गर्‍यो । तर ८ जुन १९८२ मा अर्जेन्टिनी वायुसेनाले गरेको भीषण हवाई आक्रमणमा बेलायती नौसेनाका दुई युद्धपोतसर गलाहद र सर ट्रिस्ट्राममा ध्वस्त गरिदियो । आक्रमणमा ४८ जना बेलायती सैनिकको मृत्यु भयो भने धेरै सैनिक घाइते भए । सर गलाहदबाट वार भेइकलहरू जमिनमा झार्ने क्रममा दुश्मनको आक्रमणबाट गोरखाक पल्टनका भैरवबहादुर राई घाइते भए ।

९ जुन १९८२ । डार्बिन क्लियर गरेपछि गोर्खाली फौजलाई ब्लफ कोभतर्फ अघि बढ्न कार्यादेश आयो । हेलिकप्टरमा ब्लफ कोभमा अवतरण गर्ने प्रयासमा दुश्मनको आक्रमण बाधक भयो । उनको टोली केही ब्लफ कोभ पुग्न पाएन् । गोरखा पल्टनको त्यहाँ नजिकबाट दुश्मनसँग लडाईं भयो ।

गोर्खाली पल्टनमाथि दुश्मनले आर्टिलरी फायर र गोलाबारी गर्‍यो । आर्टिलरी बम लागेर कर्पोरेल ज्ञानबहादुर राई दुश्मनको आक्रमणबाट गम्भीर घाइते भए । पेटबाट बाहिर निस्किएको उनको आन्द्राभुँडी माटो र रगतले लतपतिएको थियो । त्यसका बाबजुद उनी जीवितै थिए । भन्दै थिए, म ज्यूँदै छु । मलाई बचाऊ । श्रेष्ठले उनको आन्द्राभुँडी पेटभित्र राखे । भन्छन्, ‘त्यो पल सम्झिँदा अहिले पनि आङ जिरिङ्ग हुन्छ ।’

मेडिकल टिमका लान्स कर्पोरेल पञ्चवीर राई र रामबहादुर गुरुङले स्ट्रेचरमा राखेर उनलाई रेजमेन्टल एड पोस्टमा पुर्‍याए । जहाँ डाक्टरसहित सहयोगीको टिम थियो । डाक्टरको टिमले उनलाई दुःखाइ कम गर्न इञ्जेक्सन लगाए । त्यसपछि बेहोस भएका उनलाई त्यहाँबाट हेलिकप्टरमा वार हस्पिटल युगाण्डा सिपमा पुर्‍याइयो । उनीसँगै घाइते भएका गोर्खा फौजका अन्य ८ जनालाई पनि त्यसैगरी ओसारियो ।

जीपीएमजी, लञ्चर र हेभी मेसिनगनबाट निरन्तर आक्रमण गरिरहेको दुश्मनले आर्टिलरीबाट बम वर्षा गरिरहेको थियो ।
वर्षा, हिउँ र कुहिरो । कठ्यांग्रिने चिसो । राति तापक्रम माइनसमा झर्थ्यो । दिउँसो पनि घाम मुस्किलले देख्न पाइने । वर्षाले हिलो भएको थियो । यी सबै कुरा गोर्खाली पल्टनका लागि प्रतिकूल थिए ।

७ जुन १९८२ मा पूर्वी फकल्यान्डको लाफोनियाको एग हार्वर हाउसमा गोर्खाली सेनाले खुकुरी देखाएर तीन जना दुश्मनलाई नियन्त्रणमा लिए ।

बेलायतीहरूले गोर्खालीहरूको वीरता र खुकुरीको निकै प्रचार गरेर दुश्मनलाई आतंकित गरेका थिए । त्यसकारण गोर्खालीसँग लडेर जितिँदैन भन्ने मनोविज्ञानले फकल्यान्ड युद्धमा दुश्मनहरूले आत्मसमर्पण गरे । उनीहरू गोर्खालीको नाम सुनेर आतंकित थिए ।

सानो तटीय बस्ती ब्लफ कोभ, बेलायती सेनाको रसद, सैनिक परिचालन र स्टान्लीमाथिको अन्तिम अभियानका लागि अत्यन्त महत्वपूर्ण रणनीतिक केन्द्र थियो । ब्लफ कोभ नियन्त्रणमा लिएपछि बेलायती फौजले स्ट्यान्लीको दक्षिणतर्फको मार्ग बन्द गरिदियो ।

स्ट्यान्लीका पश्चिमतर्फ रहेका माउन्ट ह्यारियट, टु सिस्टर्स, माउन्ट लङडन, वायरलेस डाँडा, माउन्ट टम्बलडाउन पाँचवटा पहाड रणनीतिक उच्च भूभागमा दुश्मनको फौज थियो । यी पहाड आफैंमा दुश्मनका लागि रक्षात्मक मोर्चा थिए ।

ब्लफ कोभमाथि नियन्त्रण जमाएपछि अघि बढेको बेलायती फौजले ११-१३ जुन १९८२ मा यिनै पहाडहरूमा अर्जेन्टिनी फौजसँग भएको भीषण युद्धपछि स्टान्लीलाई पूर्ण रूपमा घेर्‍यो ।

१४ जुन १९८२ मा स्टयान्लीमा दुश्मनसँग निर्णायक लडाईं हुने भयो । गोर्खाली पल्टनलाई त्यसका लागि तयारीका साथ अघि बढ्न निर्देशन आयो । दुश्मनसँग त्यो अन्तिम लडाईंमा मरिन्छ कि बाँचिन्छ निश्चित थिएन । उनको मनमा त्रास थियो । आँखामा घर जहानका तस्वीर । जीवन पराई भूमिमा अस्ताउने चिन्ता । फेरि पनि विकल्प थिएन, अघि बढ्नु र लड्नुको ।श्र

श्रेष्ठको फौज अन्तिम युद्धका लागि ब्लफ कोभबाट स्ट्यान्लीतर्फ अघि बढ्दै थियो । बिहानको १० नबज्दै दुश्मनले सेता ठूलो झण्डा उठाए । अर्जेन्टिनाका कमान्डर मारियो मेनेन्डेजले आत्मसमर्पण गरे ।

माउन्ट विलियम डाँडामाथि ब्रिटिस झन्डा अगाडि पाइप ब्यान्डले मसक बाजा र बिगुलले ब्रिटिस राष्ट्रिय धुन बजाएपछि उनीहरूले विजय उत्सव मनाए ।

१६ जुन १९८२ का दिन उनीहरूको फौजलाई हेलिकप्टरमा डार्बिन लगियो । त्यहाँ स्थानीयले छोडेर गएका तीन वटा घर थिए । हतपत घरभित्र पस्न डर थियो । उनी एक घरभित्र पसे । त्यहाँ एक बुढी महिला थिइन् । उनले किन आएको भनेर सोधिन् । जवाफमा उनले भने, ‘नुहाउन ।’ महिलाले भनिन्, ‘हुन्छ नुहाऊ ।’ कैयौं दिनपछि उनले नुहाउन पाए ।

युद्ध मैदानमा जताततै दुश्मनका लास थिए । हेल्मेटहरू छरिएका । आलो रगत । हतियार र गोली जताततै ।

युद्धमा अर्जेन्टिनी पक्षका ६४९ सैनिक मारिए । १,६५७ जना घाइते भए । ११,३१३ जना सैनिकलाई बेलायतले बन्दी बनायो ।

बेलायततर्फ २५५ सैनिक मारिए । ७७५ जना घाइते भए । १०७ जनालाई अर्जेन्टिनाले बन्दी बनायो । युमा फकल्यान्ड टापुका ३ जना स्थानीय मारिए ।

गोर्खालीले युद्धमा नबोहरेको क्षति भने युद्ध सकिएपछि बेहोर्‍यो । युद्धका क्रममा बनाइएका ट्रेन्चहरू पुर्ने र बमहरू सर्च गर्ने क्रममा ट्रेन्चमुनि पुरिएको ग्रिनेड विस्फोट हुँदा लान्स कर्पोरल बुद्धप्रसाद लिम्बूको घटनास्थलमै मृत्यु भयो । लडाईंमा एक जना सैनिक पनि नगुमाएको गोर्खाली फौजले लडाईं सकिएपछि लिम्बूलाई गुमायो ।

युद्ध सकिएपछि करिब एक महिनाको डार्विन रहेको गोर्खाली सेना १६ जुलाई १९८२ मा एसएस युगाण्डा जहाजमा बेलायतका लागि प्रस्थान गर्‍यो । यो त्यही जहाज थियो, युद्धमा जो हस्पिटल सिपका रूपमा प्रयोग गरिएको थियो । जहाजमा गोर्खा पल्टनका ५९८ सैनिक थिए । जहाजमा उनीहरूले नाचगान र रमाइलो गरे । विजयोत्सव मनाइरहँदा उनलाई दु:खित दखेर सेकेन्ड कमान्डरले सोधे, ‘किन दु:खित ?’ उनले भने, ‘परिवार र घरको यादले ।’ कमान्डरले फेरि सोधे, ‘घर जान्छौ ?’ जवाफमा भने, ‘जान्छु ।’

लेखक दीर्घराज उपाध्याय

२२ दिनपछि उनीहरू बेलायत पुगे । उनीहरू जहाजबाट साउथह्याम्पटनमा ओर्लिंदा बेलायती जनताले पुष्पवर्षा गरेर भव्य स्वागत गरे । चर्च क्रुकह्याम ब्यारेक प्रवेश गर्नुअघि गोर्खा पल्टनले फ्लिट सिटीमा मार्च पास गर्‍यो ।

ब्यारेकमा फर्किएको केही दिनमा श्रेष्ठसहित सात जना एक महिनाको ब्लक लिभ (विशेष बिदा) मा नेपाल गए । कतिपय सैनिक भने बिदामा युरोप गए ।

त्यसको एक वर्षपछि गोर्खा पल्टनबाट अवकाश पाएर अमेरिका पुगे । केही वर्ष ‘इलिगल’ बसे । त्यसपछि नेपाल गए । फिर्ता हुँदा परिवारका सबै सदस्यलाई ल्याएर आए । र, अमेरिकाको कोलोराडोलाई स्थायी मुकाम बनाए ।

चुपचाप रेस्टुरेन्ट चलाइरहेका हेमकुमारले लडेको फकल्यान्ड युद्धले भने ४४ वर्षपछि पनि गोर्खालीको वीरताको हल्ला गरिरहेको छ ।

श्रेष्ठसँग भेट होस्, अनि फकल्यान्डको चर्चा नहोस, यो कसरी सम्भव हुन सक्छ ? डेढ घण्टा लामो नेपाल्स क्याफेको बसाइमा हामीले खाना कम खायौं, उनको मुखबाट फकल्यान्ड युद्धको चर्चा बढी सुन्यौं ।

हुन् पनि जब उनी फकल्यान्ड युद्धको कुरा गर्न थाल्छन्, उनमा गजबको स्फूर्ती देखिन्छ । लाग्छ उनी युद्ध मैदानमै छन् ।

फर्किंदा उनलाई सोध्न छुटाइनँ, ‘विश्वकप चलिरहेको छ, तपाईं कसको पक्षमा हुनुहुन्छ ?,’ उनले प्रश्न भुईंमा झर्न नदिई भने, ‘अर्जेन्टिनाको ।’

तर, अर्जेन्टिना र इंगल्यान्डका बीचमा हुने प्रतिस्पर्धामा उनको साथ भने इंगल्यान्डलाई रहन्छ । फकल्यान्ड युद्धपछि चौथो पटक अर्जेन्टिना र इंगल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ ।

विश्वकपमा बेलायतमाथि दुई पटक जित निकालेको अर्जेन्टिनाले अमेरिकाको एटलान्टा राज्यको जर्जियास्थित एटलान्टा स्टेडियममा बुधबार दिउँसो ३ बजे सुरु हुने फुटबल भिडन्तमा ह्याट्रिक गर्छ कि इंगल्यान्डले जितलाई बराबरीमा टुंग्याउँछ, त्यो भने हेर्न बाँकी नै छ ।

फकल्यान्ड युद्ध फिफा विश्वकप फिफा विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
दीर्घराज उपाध्याय
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय