+
+
Shares

४०० केभी क्षमताको नयाँ बुटवल-गोरखपुर प्रसारण लाइन २२० केभीमै सञ्चालन गरिने

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १ गते १४:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नयाँ बुटवल–गोरखपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनलाई प्रारम्भिक चरणमा २२० केभी क्षमतामा सञ्चालन गर्ने नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकले निर्णय गरेको छ ।
  • एमसीसीअन्तर्गत निर्माण भइरहेको यो आयोजनाको नेपाल खण्ड सन् २०२६ अगस्ट र सबस्टेसनको ४०० केभी पूर्वाधार सन् २०२७ डिसेम्बरसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
  • सहायक प्रवक्ता शालिग्राम भण्डारीले 'सन् २०२७ भित्र यो प्रसारण लाइन निर्माण सम्पन्न हुन सकेन भने एमसीसी परियोजनामै असर पर्ने बाध्यकारी अवस्था सिर्जना हुन्छ' भनी उल्लेख गरे ।

१ साउन, काठमाडौं । नयाँ बुटवल–गोरखपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनलाई प्रारम्भिक चरणमा २२० केभी क्षमतामा सञ्चालन गर्ने सहमति भएको छ । पोखरामा हालै सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको १३ औँ बैठकले यस्तो निर्णय गरेको हो ।

मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए–नेपाल) अन्तर्गत निर्माण भइरहेको उक्त प्रसारण लाइनको नेपाल खण्डको निर्माण कार्य सन् २०२६ अगस्टसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यस्तै, नयाँ बुटवल सबस्टेसनको ४०० केभी पूर्वाधार निर्माण कार्य भने सन् २०२७ डिसेम्बरसम्म सम्पन्न गर्ने लक्ष्य तय गरिएको छ ।

सबस्टेशनको निर्माण सम्पन्न नभएसम्म प्रसारण लाइनलाई २२० केभी क्षमतामा सञ्चालन गर्ने प्राविधिक सहमति भएको ऊर्जा मन्त्रालयले जनाएको छ । उक्त प्रसारण लाइनमार्फत १३० मेगावाटसम्म विद्युत् आयात र २०० मेगावाटसम्म विद्युत् निर्यात गर्न सकिने गरी आवश्यक कार्य अघि बढाउने सहमति भएको मन्त्रालयका सहायक प्रवक्ता शालिग्राम भण्डारीले जानकारी दिए ।

सहायक प्रवक्ता भण्डारीका अनुसार एमसीसी कम्प्याक्टअन्तर्गत सन् २०२७ भित्र आयोजना सम्पन्न गर्नु नेपालका लागि अनिवार्य दायित्व हो । ‘यदि सन् २०२७ भित्र यो प्रसारण लाइन निर्माण सम्पन्न हुन सकेन भने एमसीसी परियोजनामै असर पर्ने बाध्यकारी अवस्था सिर्जना हुन्छ,’ उनले भने, ‘त्यसैले नेपाल खण्डको निर्माण कार्य सन् २०२६ भित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको हो।’

उनका अनुसार प्रसारण लाइनसँग सम्बन्धित प्राविधिक कार्यहरू, टावर डिजाइन परिवर्तनलगायतका विषय मन्त्रालयबाट स्वीकृत भइसकेका छन् र निर्माण प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?