१ साउन, बुटवल । कपिलवस्तु–३ का प्रतिनिधिसभा सांसद अभिषेकप्रताप शाह र कृष्णनगर नगरपालिकाका मेयर रजतप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी भएको विरोधमा कृष्णनगर बजार बन्द गरिएको छ ।
सामान्य विवादको विषयलाई राजनीतिक प्रतिशोध साँध्ने उद्देश्यले सांसद र मेयरलाई फसाउन खोजिएको भन्दै स्थानीयले बजार बन्दसँग यातायातका साधन पनि बन्द गराएका छन् ।
सांसद शाह र मेयर शाह विरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता गराएका कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष एवं कोहिनूर मार्बलका सञ्चालक रितेश शर्मा भने फरार भएका छन् ।
शर्माविरुद्ध पनि आपराधिक उपद्रव मुद्दामा बिहीबार पक्राउ पुर्जी जारी भएको छ । त्यसपछि उनी पनि फरार भएका हुन् । कपिलवस्तु प्रहरीले शर्मा सहित ७ जना विरुद्ध जाहेरी दर्ता गरी अदालतबाट पक्राउ अनुमति लिएर पुर्जी जारी गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) रिपेन्द्र सिंहले शर्मासहितको टोली फरार रहेको र उनीहरूको खोजी कार्य जारी रहेको बताए ।
शर्मासहितको समूहले कृष्णनगरको शाह कम्प्लेक्समा रहेको एक व्यवसायिक कार्यालयमा तोडफोड तथा बन्द गरेको भन्दै कम्प्लेक्स धनी वैभवप्रताप शाहले उनीविरुद्ध अपराधिक उपद्रवमा जाहेरी दर्ता गराएका थिए ।
सोही घटनाको विवाद मिलाउन शर्माको घर जाँदा कपिलवस्तु क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद अभिषेकप्रताप शाह तथा मेयर रजतप्रताप शाह विरुद्ध उनै शर्माले ज्यान मार्ने उद्योग दर्ता गराएका थिए ।
दुवै पक्षको विवादपछि दुवै पक्षले एकअर्काविरुद्ध जाहेरी दिएका थिए । त्यसबाट सिर्जना भएको राजनीतिक दबाब झेल्न नसकेर प्रहरीले दुवै पक्षको जाहेरी दर्ता गरी पक्राउ पुर्जी जारी गरेको थियो ।
विगतमा नेकपा एमालेनिकट रहेका शर्मा पछिल्लो समय सत्तारुढ रास्वपासँग नजिक रहेको स्थानीयहरूको दाबी छ । शर्माले केही समय अगाडि गृहमन्त्री सुदन गुरुङसँग खिचेको तस्वीरसमेत यतिबेला सार्वजनिक भएको छ ।

करिब १ महिनाअघि शर्मासहित उनका सहयोगी फिरोज खान र अनुरागमणि त्रिपाठीको समूह चन्द्रौटास्थित लुम्बिनी ग्रीन रिसोर्टको क्यासिनोमा जुवा खेल्न छिर्न खोज्दा क्यासिनो सञ्चालकले रोकेको बताइएको छ । त्यसक्रममा उनीहरूबीच विवाद भएको जानकार स्रोतको दबी छ ।
सोही विवादले आक्रोशित शर्मा समूहले कृष्णनगरस्थित शाह कम्प्लेक्समा रहेको क्यासिनोको सम्पर्क कार्यालयमा गत आइतबार (असार २८) आइतबार बिहान ११ बजे कार्यालय जलाइदिने भन्दै कर्मचारीलाई बाहिर निकालेर तालबान्दी गरिदिएका थिए ।
त्यही घटनाबाट विवादको क्रम बढेर अहिले दोहोरो जाहेरीदेखि पक्राउ पुर्जीसम्म जारी भएका छन् ।
दुई महिनाअघि मात्रै कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष शर्मा पक्राउ परेका थिए । सामाजिक सञ्जालमा चरित्रहत्या गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
पछि कपिलवस्तु जिल्ला अदालतले शर्मालाई ८५ हजार धरौटीमा छाडेको थियो ।
प्रतिक्रिया 4