+
+
Shares

यौन दुर्व्यवहारको आरोपमा मोरङको सुकुना स्कुलका शिक्षकसहित तीन जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ४ गते १४:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मोरङको सुन्दरहरैँचास्थित सुकुना माध्यमिक विद्यालयका छात्राहरूमाथि यौनजन्य दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई शिक्षकसहित तीन जनालाई पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा शिक्षक किशोरलाल गच्छदार, अबिरल मास्के र विद्यालयका सवारी चालक प्रदीप भट्टराई रहेको प्रहरीले जनाएको छ।
  • शिक्षकले छात्रालाई परीक्षामा पास गराइदिने आश्वासन दिने तथा सामाजिक सञ्जालमार्फत अश्लील प्रस्ताव पठाउने गरेको आरोपमा प्रहरीले अनुसन्धान सुरु गरेको छ।

४ साउन, विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरूमाथि यौनजन्य दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जना शिक्षकसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा एक जना सवारी चालक छन् ।

विद्यालयमा र सामाजिक सञ्जालमार्फत विद्यार्थीलाई यौनजन्य दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुन्दरहरैँचा–१० का ४० वर्षीय प्रदीप भट्टराई, सुन्दरहरैँचा–२ का ३० वर्षीय किशोरलाल गच्छदार र सुन्दरहरैँचा–१२ का ३५ वर्षीय अबिरल मास्केलाई पक्राउ गरेको हो ।

मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार, भट्टराई सोही विद्यालयका सवारी चालक तथा गच्छदार र मास्के शिक्षक हुन् ।

मास्कले छात्राहरूलाई सामाजिक सञ्जाल म्यासेन्जरबाट भेट्नका लागि प्रस्ताव गरेको र शरीरका अंग देखाउन प्रस्ताव गरेको आरोप छ ।

पटकपटक छात्राहरूलाई म्यासेज गरेर ह्यारेसमेन्ट (दुर्व्यवहार) गरेपछि विद्यार्थीले प्रदर्शन गर्ने तयारी गरेका थिए । विद्यार्थीको प्रदर्शनअघि नै सोमबार बिहान तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका शिक्षकले छात्रालाई परीक्षामा उत्तीर्ण गराइदिने आश्वासन दिने तथा अमर्यादित व्यवहार गरेको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको प्रहरीले जनाएको छ । छात्राहरूमाथि यौनजन्य दुर्व्यवहार भएको देखिएपछि अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

डीएसपी मिश्रले घटनाको अनुसन्धान जारी रहेको र अनुसन्धानबाट अन्य व्यक्ति पनि संलग्न रहेको पुष्टि भए कानुनबमोजिम कारबाही गरिने बताए । घटनालाई लिएर सामाजिक सञ्जालमा अनावश्यक टिप्पणी नगर्न र अनुसन्धानमा सहयोग गर्न सबैलाई प्रहरीले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?