+
+
Shares

नेपाली युवाको ‘मल्टिनेसनल’ सपना : कन्टेन्ट क्रियटर र ब्रान्डको सेतु बन्दै ‘भिल’

नेपाली युवा दिलिप ढकालले आकर्षक र सहज जीवनलाई निरन्तरता दिएनन् । आफ्नै बुतामा विश्वस्तरीय ब्रान्ड बनाउने सपनाको लागि संघर्ष गर्नु नै उनको रोजाइ बन्यो ।

कौशल काफ्ले कौशल काफ्ले
२०८३ साउन ७ गते ७:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एप्पलका पूर्व इन्जिनियर दिलिप ढकालले विश्वभरका ब्रान्ड र कन्टेन्ट क्रिएटरलाई जोड्ने उद्देश्यका साथ ‘भिल’ नामक एआई–आधारित प्लेटफर्म स्थापना गरेका छन्।
  • कम्पनीले हालै नेपाल र भारतमा आधिकारिक सेवा सुरु गर्दै दक्षिण एसियाली बजारमा आफ्नो सञ्जाल विस्तार गरेको छ।
  • पाँच लाखभन्दा बढी क्रिएटर र साढे चार सय बढी अन्तर्राष्ट्रिय ब्रान्ड जोडिएको यो कम्पनी हाल पूर्ण रूपमा नाफामा रहेको छ।

७ साउन, काठमाडौं । एप्पल, गुगल भेन्चर र वालमार्ट जस्ता विश्‍वविख्यात कम्पनीहरूको उच्च तहको भूमिका । हातमा युसी बर्कलेको ‘एक्जिक्युटिभ एमबीए’ डिग्री । सिलिकन भ्यालीको आनन्ददायी जीवनशैली ।

आजका दिनमा कुनै पनि युवाका लागि यी सपना हुन् । त्यसमाथि प्रविधि क्षेत्रमा करिअर बनाउन चाहनेको लागि यसरी काम गर्न पाउनु बेग्लै आनन्दको कुरा हो ।

नेपाली युवा दिलिप ढकालसँग यो सबै थियो । तर, त्यसले उनलाई आकर्षण गरिरहेन । आफ्नै बुतामा विश्वस्तरीय ब्रान्ड बनाउने सपनाको लागि संघर्ष गर्नु नै उनको पछिल्लो रोजाइ बन्यो ।

‘एप्पलमा काम गर्दा सबै कुरा सुविधाजनक थियो । तर मभित्र एउटा आफ्नै मल्टिनेसनल कम्पनी बनाउने हुटहुटी सधैँ थियो,’ टेक स्टार्टअप ‘भिल’का संस्थापक दिलिपले विगत सम्झिए ।

सोही हुटहुटी साकार पार्दै उनी अहिले विश्‍वभरका ब्रान्ड र कन्टेन्ट क्रिएटरलाई जोड्ने प्रविधि कम्पनी ‘भिल’ सञ्चालन गरिरहेका छन् । सिलिकन भ्यालीको आरामदायी जागिर छोडेर युवाहरूको टिम बनाएर ‘ग्लोबल प्रोडक्ट’ खडा गर्ने सुरुवाती सपना पछ्याउँदै छन् ।

भिलको चर्चा गर्दै गर्दा हामी सन् २०२२ को डिसेम्बरमा फर्कनु पर्छ, जतिबेला यसको ‘आइडिया क्लिक’ भएको थियो । त्यसबेला दिलिप एप्पलमा डिजाइन एन्ड डेभलपमेन्ट इन्जिनियरका रुपमा कार्यरत थिए ।

वेस्ट हलिउडको एउटा इभेन्ट सकेर लस एन्जेलस एयरपोर्टमा उडानको पर्खाइमा बसिरहँदा उनको नजर लाउन्जमा बसिरहेकी एक जना कन्टेन्ट क्रियटरमा पर्‍यो । दिलिप आफैँ पनि इन्स्टाग्राममा चर्चित ती क्रिएटरलाई फलो गर्थे ।

दुई–तीन घण्टाको समय थियो । जिज्ञासु दिलिपले उनीसँग कुराकानी गर्न खोजे । कारण– त्यसबेला कन्टेन्ट क्रिएटरहरूले निकै धेरै पैसा कमाउँछन् भन्ने हल्ला थियो । तर उनीहरूले वास्तवमै कति कमाउँछन् ? कुन टुल र प्ल्याटफर्म युज गर्छन् ? ब्रान्डहरूसँग उनीहरूको डिल कसरी हुन्छ ? दिलिपका यिनै जिज्ञासामाथि त्यहाँ कुराकानी भयो ।

त्यही दुई घण्टाको अनौपचारिक गफले दिलिपलाई यो क्षेत्रमा अवसर रहेको ‘क्लिक’ भयो । त्यसपछि थप अनुसन्धान गर्दै जाँदा उनले थाहा पाए– विश्‍वभर क्रिएटर इकोनोमी २ खर्ब ५० अर्ब डलरभन्दा ठूलो भइसकेको छ । तर यत्रो ठूलो बजार हुँदाहुँदै पनि क्रिएटर र ब्रान्डहरूलाई जोड्ने वा सहज बनाउने एउटै व्यवस्थित र एकीकृत प्रविधि (अल इन वान प्लेटफर्म) नै थिएन ।

कन्टेन्ट कस्तो बनाउने ? कहिले पोस्ट गर्ने ? एडिट कसरी गर्ने ? र, त्यसबापत पाएको पैसा सजिलै आफ्नो बैंक खातामा कसरी ल्याउने ? यी सबै काम फरक–फरक टुल्सबाट गर्नुपर्ने बाध्यता कन्टेन्ट क्रियटरको थियो ।

यता ब्रान्डिङ तथा मार्केटिङ गर्न चाहने कम्पनीहरू पनि कुनै डेटाबिना नै एजेन्सीहरूलाई ठूलो रकम बुझाउन बाध्य थिए ।

‘यहाँ एउटा ठूलो बिजनेस ग्याप छ । यदि यी सबै छरिएका डटहरूलाई जोडेर एउटा सफ्टवेयर बनाउन सकियो भने बजारमा सहजै स्थापित हुन सक्छ भन्ने लाग्यो,’ दिलिपले तत्कालीन अनुभूति सुनाए ।

यिनै जिज्ञासाबाट सुरु भएको थियो, भिल । यद्यपि, यसको नाम भने काम थालेको निकै पछि मात्र जुरेको थियो । नाम र लोगो जस्ता विषयमा एकदमै सचेत दिलिपले प्रोडक्टमा काम थालेको निकैपछि मात्र नाम र लोगो जुराएका थिए ।

०००

आइडिया त आयो, तर यसलाई कसरी अगाडि बढाउने ? दिलिपले तत्कालै एप्पलको जागिर छोड्ने हतार पनि गरेनन् । बरु उनले सान फ्रान्सिस्कोको एउटा रिसर्च फर्मसँग मिलेर मार्केट रिसर्च गरे । त्यसपछि रिसर्चकै आधारमा ‘वान–पेजर’ डकुमेन्ट बनाएर सिलिकन भ्यालीका नामी भेन्चर क्यापिटलहरूलाई भेट्न थाले ।

भीसीहरूको सुझाव एउटै हुन्थ्यो– आइडिया र बिजनेस मोडल ठिक छ, तर एक्जिक्युसन (कार्यान्वयन) सहज छैन ।

यसो भन्नुमा कारण स्पष्ट थियो । भिलले एकैपटक दुइटा ठूला पाटोमा काम गर्नुपर्ने थियो– बी टु बी (व्यवसायका लागि टुल) अनि बी टु सी (क्रिएटरका लागि टुल) । यो कन्सेप्टलाई हेर्दा मेटा वा युट्युब जस्ता खर्बौँ डलरका कम्पनीहरूले मात्र यस्तो ‘रिस्क’ लिन सक्थे । त्यस्तै सुझाव उनले निकटस्थहरूबाट पाए ।

‘सबैले मलाई सोध्नुहुन्थ्यो, के तिमी दुवैतर्फको बिजनेस ‘क्र्याक’ गर्न आफ्नो करिअर र पैसाको यत्रो ठूलो जोखिम मोल्न तयार छौ ?’

दिलिपले सुझाव सबैका सुने, तर काम आफ्नो लयमै कायम रहेर गरे । पछाडि हटेनन् । यसअघि अन्य स्टार्टअप बनाउँदाको अनुभव पनि यसबेला काम लाग्यो ।

भिल उनको पहिलो स्टार्टअप थिएन । यसअघि नै उनी दुई वटा स्टार्टअपको कोर टिममा रहेर काम गरिसकेका थिए । सन् २०१५ मा उनले काम गरेको एउटा स्टार्टअप २० मिलियन डलरमा बिक्री भएको थियो भने अर्को स्टार्टअप गुगल भेन्चरले किनेको थियो ।

त्यसैले दिलिपलाई थाहा थियो– पिच कसरी गर्ने, टिम कसरी बनाउने ?

एप्पल जस्ता कम्पनीमै रहँदा १००–२०० जनाको टिम हाँक्दाको अनुभवले पनि यस्तो आत्मविश्वास दिएको थियो । त्यही भएर उनले सुरुमै बाह्य लगानी लिएर आफ्नो इक्विटी (सेयर) गुमाउन चाहेनन् । आफ्नै सेभिङ र अघिल्ला कम्पनीको इक्विटीबाट आएको पैसा लगानी गरेर काम सुरु गर्ने निधो गरे । सानफ्रान्सिस्कोमै कम्पनीको सुरुवात गरे ।

सोही कारण भिललाई उनले स्वलगानीमा सञ्चालन गर्ने ‘बुटस्ट्र्याप’ कम्पनीकै रूपमा अघि बढाएका छन् ।

०००

झट्ट सुन्दा भिललाई धेरैले फेसबुकको मार्केटप्लेस वा दराज जस्तै ‘क्रिएटरहरूको बजार’ भनेर बुझ्छन् । तर दिलिप यसलाई ती भन्दा फरक प्लेटफर्मको रूपमा हेर्छन् ।

‘हामी क्रिएटरहरूको मार्केटप्लेस होइनौँ, डिरेक्टरी र डेटाबेस हौँ,’ उनले थपे, ‘मार्केटप्लेसमा सामान सबैलाई देखिने गरी डिस्प्लेमा राखिन्छ । हामी त्यसरी क्रिएटरलाई शो–केस गर्दैनौँ । हामी ब्रान्ड र क्रिएटर दुवैका लागि चाहिने ‘सफ्टवेयर एज अ सर्भिस (सास)’ प्ल्याटफर्म हौँ ।’

उदाहरणका लागि, कुनै ब्रान्डलाई आफ्नो प्रवर्द्धनका लागि विश्‍वभरका प्रभावशाली इन्फ्लुएन्सर चाहियो भने, उसले भिलमार्फत आफ्नो क्याम्पेनको ‘डिमान्ड क्रियट’ गर्छ । क्रिएटरहरूले पनि आवश्यकताका आधारमा आफूलाई प्रस्तुत गर्छन् । क्रियटरको ‘रिच’ अनुसार उनीहरूको मूल्यको प्रारम्भिक अनुमान पनि यसैले गरिदिएको हुन्छ । यसरी भिलले भिडियो प्रोसेसिङ, ट्रान्सकोडिङसहित डेटा विश्‍लेषणको काम गरिदिन्छ ।

यसमा व्यवसायहरूले आफ्ना उत्पादन, लक्षित ग्राहक र आवश्यक कन्टेन्टबारे ‘क्याम्पेन’ तयार गर्छन् । त्यसपछि क्रिएटरहरूले यसमा आवेदन दिन सक्छन् । भिलको एआई–आधारित सिफारिस प्रणालीमार्फत छनोट हुन्छन् । छनोट भएका क्रिएटरहरूले प्लेटफर्ममै उपलब्ध भिडियो एडिट टुल र लाइसेन्स प्राप्त संगीत प्रयोग गरी कन्टेन्ट तयार गर्छन् ।

त्यसपछि ब्रान्डले कन्टेन्टको समीक्षा गर्ने, आवश्यक परिमार्जनका लागि सुझाव दिने, अन्तिम स्वीकृति प्रदान गर्ने र स्वीकृतिपछि विभिन्न वालेटमार्फत भुक्तानी हुने व्यवस्था यसभित्र छ । कन्टेन्टको लाइसेन्स तथा प्रयोगको अधिकार पनि यही प्लेटफर्ममार्फत सुरक्षित राखिन्छ ।

०००

आजको दिनमा भिलले जति सहजै कन्टेन्ट क्रियटर र ब्रान्डलाई जोडिरहेको छ, त्यति सहज कम्पनीको सुरुवातमा भने थिएन ।

सन् २०२३ को सुरुवाततिर दिलिपले एप्पलबाट एक महिनाको छुट्टी लिए । काठमाडौँ ओर्लिए । अमेरिकामा स्थापना गरे पनि नेपालमा प्राविधिक टिम तयार गर्ने  उद्देश्यका साथ उनी यता आएका थिए।

‘म दुई वटा कुरामा स्पष्ट थिएँ । एक, नेपालमा आरएन्डडी (रिसर्च एन्ड डेभलपमेन्ट) गर्दा खर्च अमेरिकाको तुलनामा निकै कम भए पुग्थ्यो । दोस्रो, आफ्नै देशका १०–१५ जना राम्रा इन्जिनियरहरूलाई काम दिएर एउटा विश्‍वस्तरीय प्रविधि इकोसिस्टम बनाउन सकिन्थ्यो,’ उनले प्रारम्भिक रणनीति सुनाए ।

सोहीअनुसार काठमाडौँमा पनि अफिस खोलियो । उता अमेरिकाबाट पनि यसको काम चलिरहेको थियो । मुख्य कार्यालय अहिले पनि अमेरिकामै छ । त्यहाँ स्थापना गरिएको कम्पनीको थप विस्तार भने काठमाडौंबाट हुँदैछ ।

यसरी थोरै जनशक्तिबाट सुरु भएको टिम विस्तारै बढ्न थाल्यो । तर रमाइलो कुरा– सुरुका तीन/चार महिनासम्म नेपालको टिमलाई आफूहरूले ‘भिल’ जस्तो विश्‍वस्तरीय टेक्नोलोजी बनाउँदैछौँ भन्ने अत्तोपत्तो थिएन ! उनीहरूलाई बिजनेस मोडलको फ्रेमवर्कभित्र रहेर काम लगाउने/सिकाउने क्रम चलिरह्यो ।

दिलिप सम्झिन्छन्, ‘सुरुमै ठूलो सपना देखाएर टिमलाई तर्साउन चाहन्नथेँ । पहिला उनीहरूलाई भिडियो टेक्नोलोजी, इन्जिनियरिङ र रिसर्च सिकाउनु पर्ने थियो । सरल तरिकाले मैले त्यही गराएँ ।’

नेपाली इन्जिनियरहरूलाई पोख्त बनाउन दिलिपले आफ्नो विश्‍वव्यापी नेटवर्कको भरपूर प्रयोग गरे । ओपन एआईका एक लेभलका इन्जिनियरहरूलाई भिडियो कलमा जोडेर काठमाडौँका ‘ब्याकइन्ड इन्जिनियर’हरूलाई तालीम दिलाए ।

झन्डै १५ महिनाको मिहिनेत । दिनरातको कोडिङ र रिसर्च । सन् २०२४ को अप्रिल ८ मा आएर ‘भिल’ विश्‍वव्यापी रूपमा लन्च भयो । यसले औपचारिकता पायो ।

दिलिप ब्रान्डिङको मामिलामा निकै संवेदनशील छन् । ‘जे पायो त्यही नाम राखेर ब्रान्ड बन्दैन । नाम छोटो, क्याची र अर्थपूर्ण हुनुपर्छ,’ उनको मान्यता छ ।

त्यसैले भिडियो र रिललाई जोडेर ‘भिल’ जुराए ।

लोगो बनाउँदा पनि उनले महँगा डिजाइनर खोजेनन् । आफैँ आइप्याडमा कोर्दै जाँदा एउटा ‘समुद्री निलो’ रङको वृत्तभित्र भिडियो रिल र तेस्रो धर्को देखिने गरी लोगो तयार पारे । पछि गुगल गर्दा थाहा भयो– डच भाषामा ‘भिल’ को अर्थ ‘मच मोर’ (अझ धेरै) हुँदो रहेछ । ब्रान्डको मर्मसँग ठ्याक्कै मिल्ने ।

आजको दिनमा भिल एउटा विश्वव्यापी ब्रान्ड बन्ने लयमा छ । कन्टेन्ट क्रियसनको उदाउँदो विश्वबजारमा फक्रँदो छ । यसमा १४० भन्दा बढी पूर्णकालीन कर्मचारी छन् । नेपाल, भारत, फिलिपिन्स, दक्षिण अफ्रिका र अमेरिकामा छुट्टाछुट्टै टिम बनाएका छन् ।

करिब ५०० को हाराहारीमा ब्रान्डहरू जोडिएका छन् । साढे पाँच लाख बढी क्रियटर्स ‘अनबोर्ड’ भएका छन् । भीललाई एउटा युनिकर्न (१ अर्ब डलर मूल्य भएको) कम्पनी बनाउने  सपना देख्दै छन् उनी ।

अहिले भिल पूर्ण रूपमा नाफामा छ । हालै कम्पनीले नेपाल र भारतको बजारलाई विशेष ध्यान दिन नेपालमै ‘भिल प्राइभेट लिमिटेड’ नामको सब्सिडिएरी कम्पनी पनि दर्ता गरेको छ । नेपालका लागि अमेरिकाका कार्यवाहक राजदूत स्कट उर्बोमले असारमा भिलको नेपाल तथा भारत ‘अपरेसन’ शुरु गरेका थिए ।

भिलले नेपाल र भारतमा आफ्नो सेवा आधिकारिक रूपमा थाल्दै दक्षिण एसियाली बजारमा एआईमा आधारित एकीकृत क्रिएटर मार्केटिङको पूर्वाधार खडा गरेको छ । दुवै देशका व्यवसायहरूले एउटै प्लेटफर्मबाट उपयुक्त क्रिएटर खोज्न, क्याम्पेन सञ्चालन गर्न, भिडियो सम्पादन तथा स्वीकृति दिन र कन्टेन्टको लाइसेन्स अधिकार सुरक्षित गर्न सक्ने छन् । स्थानीय क्रिएटरहरूले पनि स्वदेशी तथा ४५० बढी अन्तर्राष्ट्रिय ब्रान्डहरूसँग सोझै सहकार्य गर्ने अवसर पाउने छन् ।

नेपाल र भारतमा भएको यो औपचारिक शुभारम्भ भिलका लागि महत्त्वपूर्ण उपलब्धि हो । अन्तर्राष्ट्रिय बजारमा आफ्नो सेवा विस्तार गरिसकेको कम्पनीका लागि दक्षिण एसियाली बजारलाई लक्षित गर्दै गरिएको यो पहिलो औपचारिक विस्तार थियो ।

अन्यत्रझैँ दक्षिण एसियाको लागि पनि यो एआई–सञ्चालित भिडियो मार्केटिङ प्लेटफर्म भएको दिलिप बताउँछन् । अन्यत्र जस्तै यहँँ पनि भिलले ब्रान्ड र क्रिएटरलाई जोड्छ । यसमा पनि इमेल, मेसेजिङ एप, स्प्रेडसिट, भिडियो सम्पादन सफ्टवेयर र छुट्टाछुट्टै भुक्तानी प्रणालीमा निर्भर हुनुपर्ने परम्परागत प्रक्रियाको सट्टा सबै कुरा एउटै प्लेटफर्मबाट व्यवस्थापन गर्ने प्रणाली छ ।

यसरी विश्वबजारसँगै अब दक्षिण एसियाको क्रिएटर इकोनोमीलाई विश्वस्तरीय प्रविधिसँग जोड्ने उद्देश्यले भिलको पछिल्लो विस्तार थालनी गरेको दिलिपले बताए । साथै, नेपालमा भुक्तानी प्रक्रियालाई सहज बनाउन भिलले विभिन्न कम्पनीसँग साझेदारी गर्दै क्रिएटरहरूका लागि स्थानीय बैंक तथा वालेटमार्फत सोझै पैसा लिन मिल्ने गरी सहज बनाएको छ ।

‘हामीले चाहेको भए सबै रेभेन्यु अमेरिकाकै कम्पनीमा लैजान सक्थ्यौँ, किनकि हाम्रो कम्पनीको मुख्य कार्यालय उतै छ । यताको काम पनि उतैमार्फत गर्न सक्थ्यौँ । तर दक्षिण एसियाको सम्पूर्ण बिजनेस नेपालमै दर्ता भएको कम्पनीबाट चलाउँदा त्यसको ट्याक्स र इकोनोमिक भ्यालु नेपालमै रहन्छ,’ दिलिपले भने, ‘त्यही भएर हामीले नेपाल र भारतमा पनि छुट्टै तरिकाले यसको काम थालेका हौँ ।’

लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?