News Summary
Generated by OK AI. Editorially reviewed.- रजोनिवृत्तिपछि शरीरमा इस्ट्रोजन र प्रोजेस्टेरोन हर्मोनको मात्रा घट्दा हड्डी कमजोर भई अस्टियोपोरोसिसको जोखिम उच्च हुन्छ।
- नियमित व्यायाम, सन्तुलित आहार र स्वास्थ्य परीक्षणमार्फत रजोनिवृत्त पछिको अवस्थामा हड्डीको स्वास्थ्य जोगाउन सकिन्छ।
नेसनल सेन्टर फर बायोटेक्नोलोजी इन्फर्मेसन (एनसिबिआई) मा प्रकाशित एक प्रतिवेदनअनुसार सन् २०१९ मा विश्वभर करिब ५२ करोड महिला अस्टियोपोरोसिसबाट प्रभावित थिए । आगामी वर्षहरूमा यो संख्या अझ बढ्ने अनुमान गरिएको छ । अस्टियोपोरोसिसका कारण हड्डी कमजोर बन्दै जान्छ ।
त्यसैगरी, रजोनिवृत्ति प्रत्येक महिलाको जीवनमा आउने प्राकृतिक अवस्था हो । सामान्यतया ४५ देखि ५५ वर्षको उमेरमा रजोनिवृत्ति हुन्छ । तर पछिल्ला वर्षहरूमा बदलिँदो जीवनशैलीका कारण केही महिलामा ४५ वर्षभन्दा पहिले नै रजोनिवृत्ति हुन थालेको छ ।
यस्तो अवस्थामा रजोनिवृत्ति र अस्टियोपोरोसिसबीचको सम्बन्ध बुझ्नु आवश्यक हुन्छ ।
अस्टियोपोरोसिस भनेको के हो ?
अस्टियोपोरोसिस हड्डीसँग सम्बन्धित रोग हो, जसमा हड्डी क्रमशः कमजोर र खोक्रो बन्छ । यस अवस्थामा सामान्य चोट वा सानो ठक्कर लाग्दा पनि हड्डी भाँचिने जोखिम धेरै हुन्छ । विशेषगरी कुहिनो, हिप, नाडी र मेरुदण्डका हड्डी भाँचिने सम्भावना बढी हुन्छ ।
हड्डी एउटा जीवित तन्तु हो, जुन निरन्तररुपमा बन्ने र नष्ट हुने गर्दछ । हड्डीका तन्तु आवश्यकता अनुसार पुरानो हड्डीलाई नष्ट गर्ने र त्यसको सट्टामा नयाँ र बलियो हड्डी बनाइरहन्छ । तर अस्टियोपोरोसिस हुँदा नयाँ हड्डी बन्ने प्रक्रिया सुस्त हुन्छ भने क्षतिग्रस्त हड्डीको मर्मत पनि पर्याप्त रूपमा हुन सक्दैन ।
यो समस्या प्रायः मध्यम उमेरका महिलामा देखिए पनि जुनसुकै उमेरका मानिसमा हुन सक्छ । पुरुषको तुलनामा महिलामा यसको जोखिम बढी हुन्छ । विभिन्न अध्ययनका अनुसार ५० वर्षभन्दा माथिका प्रत्येक दुई महिलामध्ये एक जनालाई जीवनको कुनै न कुनै समयमा अस्टियोपोरोसिसका कारण हड्डी भाँचिने जोखिम हुन्छ ।
रजोनिवृत्ति भनेको के हो ?
रजोनिवृत्ति प्रत्येक महिलाको जीवनमा आउने प्राकृतिक जैविक प्रक्रिया हो । लगातार १२ महिनासम्म महिनावारी नभपछि महिलालाई रजोनिवृत्ति भएको मानिन्छ ।
यो कुनै रोग होइन, तर यसपछि महिलाले प्राकृतिक रूपमा गर्भधारण गर्न सक्दिनन् । रजोनिवृत्तिका क्रममा शरीरमा इस्ट्रोजन र प्रोजेस्टेरोन हर्मोनको मात्रा घट्न थाल्छ । यसका कारण विभिन्न शारीरिक तथा मानसिक परिवर्तनहरू देखिन सक्छन् । जस्तै चिडचिडापन, मुड परिवर्तन, अनिद्रा, अत्यधिक पसिना आउने, तातो महसुस हुने (हट फ्ल्यास), थकान र हर्मोन असन्तुलनका अन्य असरहरू ।
अस्टियोपोरोसिस र रजोनिवृत्तको के सम्बन्ध छ ?
रजोनिवृत्तिको अघिल्लो अवस्था ‘पेरिमेनोपज’ तथा रजोनिवृत्तिपछि शरीरमा इस्ट्रोजन र प्रोजेस्टेरोन हर्मोनको मात्रा उल्लेखनीय रूपमा घट्छ । विशेषगरी इस्ट्रोजनकाम भनेको हड्डीको तन्तु नास हुन बाट बचाउँछ जसले गर्दा शरीरमा हड्डीको घनत्व कायम राख्न मद्दत गर्छ । त्यस्तै प्रोजेस्टेरोन हर्मोनले नयाँ हड्डीको तन्तुलाई बढाउँछ जसको काम नयाँ हड्डी बढाउने काम गर्दछ ।
यिनीहरूको मात्रा घटेपछि हड्डी कमजोर हुनेमात्र नभई हड्डीबाट क्याल्सियम छिटो गुम्न थाल्छ, जसका कारण हड्डी कमजोर हुन्छ र अस्टियोपोरोसिसको जोखिम बढ्छ ।
यदि ४५ वर्षअघि नै रजोनिवृत्ति भयो भने हड्डी कमजोर हुने तथा बोन मास कम हुने सम्भावना अझ बढी हुन्छ । यही कारणले रजोनिवृत्ति र अस्टियोपोरोसिस एकअर्कासँग प्रत्यक्ष रूपमा सम्बन्धित मानिन्छ ।
रजोनिवृत्तिका लक्षणहरू
–निद्रा नलाग्ने
–चिडचिडापन हुने
–डिप्रेसन वा निराशा बढ्ने
–सामान्यभन्दा बढी कपाल झर्ने
–शरीरमा जलन वा तातो महसुस हुने
–सधैं थकान महसुस हुने
–अनुहारमा चाउरी पर्न थाल्ने
–कहिलेकाहीँ ज्वरोजस्तो महसुस हुने
–अचानक धेरै पसिना आउने
–मुटुको धड्कन सामान्यभन्दा छिटो चल्ने
यी बाहेक पनि व्यक्तिअनुसार अन्य लक्षण देखिन सक्छन् ।
अस्टियोपोरोसिसका लक्षणहरू
–हड्डी तथा मांसपेशी दुख्ने
–कम्मर दुख्ने
–घाँटी दुख्ने
–सामान्य चोटमै हड्डी भाँचिने
यस्ता लक्षण देखिएमा आत्तिनु हुँदैन । सकेसम्म छिटो सम्बधित चिकित्सकसँग परामर्श गरी आवश्यक परीक्षण तथा उपचार गराउनुपर्छ ।
अस्टियोपोरोसिसको उपचार
अस्टियोपोरोसिसको उपचार बिरामीको अवस्था, उमेर तथा जोखिमका आधारमा गरिन्छ । चिकित्सकले आवश्यकता अनुसार विभिन्न औषधि सिफारिस गर्न सक्छन् ।
एलेन्ड्रोनेट, रिसेड्रोनेट, आइबान्ड्रोनेट र जोलेड्रोनिक एसिड यी औषधि चिकित्सकको सल्लाहबिना सेवन गर्नु हुँदैन । आवश्यकता भन्दा बढी मात्रा सेवन गर्दा गम्भीर दुष्प्रभाव हुन सक्छ ।
हर्मोन थेरापी
रजोनिवृत्तिपछि केही महिलामा इस्ट्रोजन थेरापी सुरु गरिन्छ, जसले हड्डी बलियो बनाउन मद्दत गर्न सक्छ । तर यस उपचारले केही जोखिम पनि बढाउन सक्छ, जस्तैः रगत जम्ने, एन्डोमेट्रियल क्यान्सर र मुटुसम्बन्धी रोग । त्यसैले हर्मोन थेरापी गर्ने वा नगर्ने निर्णय चिकित्सकले बिरामीको सम्पूर्ण स्वास्थ्य अवस्थाको मूल्याङ्कन गरेर मात्र गर्छन् ।
रजोनिवृत्तिको समयमा अस्टियोपोरोसिसको जोखिम कसरी कम गर्ने ?
रजोनिवृत्तिपछि महिलाले निम्न कुरामा विशेष ध्यान दिए अस्टियोपोरोसिसको जोखिम कम गर्न सकिन्छ ।
१. पर्याप्त क्याल्सियम तथा क्याल्सियमयुक्त खाना सेवन गर्ने
हेल्दी बोन्स अस्ट्रेलियाका अनुसार ५० वर्षभन्दा माथिका महिलाले दैनिक करिब १,३०० मिलिग्राम क्याल्सियम सेवन गर्नुपर्छ । खानामा क्याल्सियमका राम्रो स्रोतहरूः दूध, सोया दूध, बदामको दूध, बदाम, नट्स, तोफू, हरियो सागसब्जी र साल्मन माछा आदि हुन् ।
२. पर्याप्त भिटामिन डी लिने
भिटामिन डीले क्याल्सियम शरीरमा राम्रोसँग अवशोषित हुन मद्दत गर्छ । त्यसैले पर्याप्त घाम ताप्ने तथा आवश्यक परे चिकित्सकको सल्लाहअनुसार भिटामिन डी सेवन गर्नुपर्छ ।
३. नियमित व्यायाम गर्ने
नेसनल अस्टियोपोरोसिस फाउन्डेसनका अनुसार तौल बहन गर्ने तथा मांसपेशी बलियो बनाउने व्यायामले हड्डी बलियो बनाउन मद्दत गर्छ । त्यसैले दैनिक रूपमा व्यायाम गर्नु पनि महत्वपर्ण हुन्छ ।
४. दैनिक शारीरिक गतिविधि बढाउने
हरेक दिन कम्तीमा ३०–४० मिनेट शारीरिक गतिविधि वा हिँडडुल गर्नाले पनि अस्टियोपोरोसिसको जोखिम कम गर्न मद्दत मिल्छ । तर अत्यधिक तीव्र व्यायाम सुरु गर्नुअघि विशेषज्ञसँग सल्लाह लिनु राम्रो हुन्छ।
५. क्याफिन कम सेवन गर्ने
हड्डीलाई स्वास्थ्य राख्नका लागि अत्यधिक कफी, चिया तथा क्याफिनयुक्त पेय पदार्थ कम सेवन गर्नु उपयुक्त हुन्छ ।
६. मदिरा सेवन नगर्ने
अत्यधिक मदिराले हड्डी कमजोर बनाउन सक्छ । त्यसैले मदिरा सेवनबाट बचेर पनि हड्डीको स्वास्थ्यलाई राम्रो बनाउन सकिन्छ ।
७. धूम्रपानबाट टाढा रहने
धूम्रपानले हड्डीको घनत्व घटाउने भएकाले यसको सेवनबाट पनि बच्नुपर्छ ।
८. नियमित स्वास्थ्य परीक्षण गराउने
रजोनिवृत्तिपछि हड्डीको घनत्व परीक्षण आवश्यक परे गराउनुपर्छ । समयमै समस्या पत्ता लागे उपचार प्रभावकारी हुन्छ ।
प्रतिक्रिया 4