News Summary
Generated by OK AI. Editorially reviewed.- चितवनको बाटुली पोखरी र कुमाल तालमा गरिएको जलचर प्रजातिका चराको गुँड गणनामा बाटुली पोखरीमा ४४० र कुमाल तालमा १५ वटा गुँड भेटिएका छन्।
- नेपाल पन्छीविद् संघका संयोजक वासु बिडारीका अनुसार बाटुली पोखरीलाई घुँङ्गीफोर गरुडको महत्त्वपूर्ण प्रजननस्थलका रूपमा पुष्टि गरिएको छ।
- गुँड गणनाका लागि ४२ जनाको टोली परिचालन गरिएको थियो र ती गुँड ९७ वटा रुखमा पानीको सतहदेखि ३ देखि ३० मिटर उचाइसम्म भेटिएका हुन्।
१० साउन, चितवन । चितवनको बाटुली पोखरी मध्यवर्ती सामुदायिक वनअन्तर्गतको बाटुली पोखरी र कुमाल तालमा जलचर प्रजातीका चराको गुँड गणना गरिएको छ । गणनाका क्रममा बाटुली पोखरीमा ४४० वटा र कुमाल तालमा १५ वटा गुँड भेटिएका छन् ।
नेपाल पन्छीविद् संघ बागमती प्रदेशका संयोजक वासु बिडारीका अनुसार बाटुली पोखरीमा डाटर जातका पाँच वटा, स्वेतकण्ठ गरुडका दुई वटा र घुँङ्गीफोर गरुडका ४३३ गुँड भेटिएको छ । यस्तै कुमाल तालमा भेटिएका सबै गुँड घुँङ्गीफोर गरुडको रहेका छन् ।
उनका अनुसार पाटुली पोखरीमा पानीको सतह भन्दा तीन मिटरमाथि देखि ३० मिटर माथिसम्म गुँडहरु अवस्थामा भेटिएको हो । उनले भने, ‘बाटुली पोखरीमा रहेका ९७ वटा रुखमा गरिएको गुँड गणनामा ती गुँड देखिएका हुन् ।’
भरतपुर महानगरपालिका–१३ स्थित बाटुली पोखरीमा गुँड गणनाका लागि वर्ड एजुकेसन सोसाइटी, नेपाल पन्छीविद् सङ्घ र नेचर गाइड एसोसियसनका ४२ जना परिचालन गरिएको थियो । पोखरीलाई चार ब्लकमा बिभाजन गरेर गुँड गणना गरिएको उनले जानकारी दिए । एउटा व्लकमा १० देखि १२ जनाका दरले परिचालन गरी शनिबार गणना गरिएको हो ।
पोखरीमा ४३३ वटा गुँड फेला परेपछि पोखरी गरूड प्रजातिको महत्त्वपूर्ण प्रजननस्थलका रूपमा पुष्टि गरिएको उनले बताए । बाटुली पोखरी बरन्डाभार जैविक मार्ग, चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र तथा अन्तरराष्ट्रिय महत्वको बिसहजारी तथा आसपासका तालहरु (रामसार क्षेत्र) अन्तर्गत पर्दछन् । घुँङ्गीफोर बचेरा कोरल्ने समयमा एकै स्थानमा जम्मा भएर सामूहिक रुपमा बच्चा कोरलेर हुर्काउने गर्दछन् ।
बाटुलीपोखरीमा विगत चार वर्षदेखि यी चराहरुले गुँड लगाएर बच्चा हुर्काउँदै आएको उनले बताए । नेपालमा ९०२ प्रजातिका चरा पाइने गरेकामा चितवनमा ६६७ प्रजाति रहेको तथ्यांक छ ।
प्रतिक्रिया 4