News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले लक्षित वर्गका लागि कुल शैयाको १० प्रतिशत निःशुल्क छुट्याउनुपर्ने कार्यविधि ल्याए पनि सुदूरपश्चिमका अधिकांश सरकारी अस्पताल अझै पोर्टलमा आबद्ध भएका छैनन् ।
- पोर्टलमा आबद्ध नहुनेमा कैलालीको लम्की चुहा प्रादेशिक अस्पतालसहित अछाम, बैतडी, दार्चुला र बझाङका जिल्ला अस्पतालहरू रहेका छन् ।
- हालसम्म देशभरि २९ हजार १७९ शैया पोर्टलमा आबद्ध भएका छन् जसमध्ये लक्षित वर्गका लागि तीन हजार ४३३ शैया निःशुल्क गरिएको छ ।
१० साउन, डोटी । संघीय सरकारको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गत जेठ २५ गते ‘लक्षित वर्ग नि:शुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८३ जारी गरेको थियो ।
उक्त कार्यविधि अनुसार देशभरिका सरकारी, गैरसरकारी, निजी, सहकारी तथा गैरनाफामुलक सामुदायिक अस्पताले लक्षित वर्ग (विपन्न, असहाय र बेवारिसे नागरिक) का लागि अस्पतालको कुल शैया (बेड) संख्याको १० प्रतिशत बेड छुट्याउनुपर्ने व्यवस्था छ ।
कार्यविधिको दफा ५ मा सबै अस्पतालहरूले मन्त्रालयले सञ्चालन गरेको नि:शुल्क स्वास्थ्य पोर्टलमा अनिवार्य रूपमा आबद्ध हुनुपर्ने भनिएको छ । यस्तै, दफा ६ मा आफ्नो संस्थामा रहेका कुल शैया संख्या, लक्षित वर्गका लागि छुट्याइएका नि:शुल्क शैया संख्या र त्यसमा भर्ना भएका बिरामीको विवरण पोर्टलमा दैनिक रूपमा अद्यावधिक गर्नुपर्ने भनिएको छ ।
तर, सुदूरपश्चिम प्रदेशभित्रका सरकारी अस्पतालहरू नै उक्त पोर्टलमा आबद्ध भएका छैनन् ।
लामो समयसम्म आधारभूत अस्पताल हुने कि प्रादेशिक अस्पताल हुने भन्ने विवादले ग्रस्त कैलालीको लम्की चुहामा रहेको प्रादेशिक अस्पताल यो समाचार तयार गर्दासम्म पोर्टलमा आवद्ध भएको छैन ।
अछाम, बैतडी, दार्चुला र बझाङ जिल्ला अस्पतालहरूले पनि पोर्टलमा आबद्धता जनाएका छैनन् । यस्तै, दार्चुलाको गोकुलेश्वर अस्पताल, डडेलधुराको जोगबुढा अस्पताल, बाजुराको कोल्टी अस्पताललगायतका अस्पतालहरूले पनि सहभागिता जनाएका छैनन् ।
अधिकांश प्राथमिक स्वास्थ्य केन्द्रहरू पनि पोर्टलमा आबद्ध भएको देखिँदैन ।
कुन जिल्लाबाट कति अस्पताल आबद्ध ?
कैलाली जिल्लाबाट सरकारी र निजी गरी १५ अस्पतालहरू आबद्ध भएका छन् । यस जिल्लाबाट आबद्ध भएका अस्पतालहरूले पेस गरेको विवरणअनुसार जिल्लामा कुल एक हजार १३१ शैया रहेकामध्ये लक्षित वर्गका लागि २०४ शैया छुट्याइएका छन् ।
डोटीमा सरकारी र निजी गरी तीन अस्पताल आबद्ध भएका छन् । जस अनुसार जिल्लामा रहेका कुल १४० शैयामध्ये १५ शैया लक्षित वर्गका लागि नि:शुल्क गरिएको छ ।
कञ्चनपुरबाट हालसम्म महाकाली अस्पताल मात्रै पोर्टलमा आबद्ध भएको छ । १०० शैया क्षमताको उक्त अस्पतालले १० शैया लक्षित वर्गका लागि नि:शुल्क गरेको छ ।
डडेल्धुराबाट १०० शैया क्षमताको डडेलधुरा अस्पताल मात्रै पोर्टलमा आबद्ध छ । यस अस्पतालले पनि १० शैया नि:शुल्क गरेको छ ।
५४ शैया क्षमताको बाजुरा जिल्ला अस्पालले लक्षित वर्गका लागि १४ शैया छुट्याउँदै पोर्टलमा आबद्ध भएको छ ।
अछामबाट बयलपाटा प्रादेशिक अस्पताल पोर्टलमा आबद्ध भएको छ । ५० शैया क्षमताको यस अस्पतालले पाँच शैया लक्षित वर्गका लागि नि:शुल्क गरेको छ ।
देशभरीमा कुन प्रदेशमा कति शैया नि:शुल्क ?
नि:शुल्क स्वास्थ्य पोर्टलमा पेस भएको विवरण अनुसार देशभरिमा तीन हजार ४३३ शैया लक्षित वर्गका लागि नि:शुल्क गरिएका छन् । हालसम्म २९ हजार १७९ शैया पोर्टलमा आबद्ध छन् ।
बागमती प्रदेशमा सवैभन्दा बढी एक हजार ५८० शैया नि:शुल्क गरिएका छन् । यो संख्या हालसम्म देशभरि नि:शुल्क गरिएका शैया संख्याको ४६ प्रतिशत हो ।
यस्तै, लुम्बिनीमा ४९५, कोशीमा ४२१, गण्डकीमा २६७, मधेशमा २६४, सुदूरपश्चिममा २५८ र कर्णालीमा १४८ शैया लक्षित वर्गका लागि नि:शुल्क गरिएको छ ।
प्रतिक्रिया 4