News Summary
Generated by OK AI. Editorially reviewed.- माइतीघर क्षेत्रमा बर्खायाममा हुने डुबानको मुख्य कारण इन्जिनियरिङ त्रुटि, ढल अतिक्रमण र प्राकृतिक जलशोषक क्षेत्रको विनाश रहेको प्राविधिक अध्ययनले देखाएको छ ।
- ढलको पाइप साघुरो हुँदा पानीको बहाव थुनिएर सडकमा आउने बोटलनेकिङको समस्या र टुकुचा खोलाको पानी उल्टो बग्ने समस्याले माइतीघर जलमग्न हुने गरेको छ ।
- डुबान समाधान गर्न जमिनमुनि ठूलो पानी भण्डारण ट्याङ्की बनाउने तथा ढलको क्षमता पुनः डिजाइन गर्ने लगायतका दीर्घकालीन उपायहरू प्रतिवेदनमा सिफारिस गरिएका छन् ।
१० साउन, काठमाडौं । माइतीघर मण्डला क्षेत्रमा बर्खायाममा डुबानको मुख्य समस्या आसपास क्षेत्रको पूर्वाधार निर्माण गर्दाको प्राविधिक त्रुटि, जल प्रवाह क्षेत्रमा अतिक्रमण र प्राकृतिक जलशोषक क्षेत्रको विनाश रहेको अध्ययनले देखाएको छ ।
झरी परेपछि सो क्षेत्र डुबानमा पर्न थालेपछि साउन ५ गते काठमाडौं महानगरपालिकाका कार्यबाहक प्रमुख सुनिता डंगोल नेतृत्वमा विकास साझेदार, सुविधा वितरण तथा सेवा व्यवस्थापनका क्षेत्रमा काम गर्ने निकायका प्रमुख र प्रतिनिधिसहित अनुगमन भएको थियो । अनुगमनपछि कार्यबाहक प्रमुख डंगोलले, सम्बन्धित कार्यालयका अधिकारीहरुको संयुक्त टोलीलाई प्राविधिक प्रतिवेदन पेश गर्न निर्देशन दिएकी थिइन् ।
कार्यबाहक प्रमुखको निर्देशनपछि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रतिकार्य शाखा प्रमुख उपसचिव रामबहादुर के. सी. को संयोजकत्वमा गठित समितिले स्थलगत प्रतिवेदन तयार पारेको हो । टोलीको सदस्यहरूमा महानगरपालिकाका वरिष्ठ इञ्जिनियर जीवन रेग्मी, सडक विभागका इञ्जिनियर पुरुषोत्तम भण्डारी, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रबन्धक उज्वल श्रेष्ठ थिए ।
प्रतिवेदन अनुसार माइतीघर मण्डला क्षेत्रको ढल निकास प्रणालीमा गम्भीर इन्जिनियरिङ त्रुटि देखिएको छ । माइतीघर क्षेत्रमा भित्रिने ढलको माथिल्लो भागमा ९० सेन्टिमिटरको ढल छ । यो ढल प्रणाली तल्लो भागमा पुगेपछि ६० सेन्टिमिटरमा साँघुरिएको छ । यसरी माथिल्लो भागबाट आउने पानीको चापलाई तल्लो भागको साँघुरो ढलले धान्न नसक्दा ‘बोटलनेकिङ’ को समस्या भई पानी सडकमा बाहिरिने गरेको प्रतिवेदनमा उल्लेख छ ।
यसबाहेक, टुकुचा खोलाको सतह बढेको बेला ढलको पानी खोलामा जानुको साटो उल्टै बस्ती र सडक तिर फर्कने (ब्याक फ्लो) समस्याले गर्दा पनि माइतीघर जलमग्न हुने गरेको देखिएको छ । भौतिक पूर्वाधार बाहेक वातावरणीय र सहरी विकास तथा व्यवस्थापनका कारणहरूलाई पनि प्रतिवेदनले डुबानको प्रमुख कडीका रूपमा औंल्याएको छ ।

विगतमा माइतीघर चोकसँगै जोडिएका खुला क्षेत्रहरूले ‘प्राकृतिक जलाधार’ को काम गर्थे । जसले वर्षाको पानीलाई जमिनमुनि सोस्ने गथ्र्यो । तर, अहिले ती क्षेत्रमा जिल्ला प्रहरी परिसर काठमाडौं र जिल्ला सरकारी वकिलको कार्यालय लगायतका ठूला भवनहरू निर्माण भएपछि जमिन कंक्रिटले ढाकियो । यसकारण पानी सोसिने प्राकृतिक प्रक्रिया बन्द भएको छ । यसले गर्दा सतहमा बग्ने पानीको मात्रा अत्यधिक बढ्न गई माइतीघर चोकमा सिधै केन्द्रित हुने गरेको प्राविधिक टोलीको निष्कर्ष छ ।
अतिक्रमणको समस्या पनि माइतीघर डुबानमा उस्तै जिम्मेवार देखिएको छ । अनुगमनका क्रममा कतिपय स्थानमा ढलमाथि नै व्यक्तिगत र सरकारी भवनका संरचनाहरू निर्माण भएका कारण नियमित सरसफाइमा अवरोध पुगेको पाइएको छ । ढलको पाइपभित्र प्लास्टिकजन्य फोहर, बोतल र ढुङ्गा–गिट्टी थुप्रिनुले पानीको बहावलाई थप रोकेको छ । यस समस्यालाई समाधान गर्न कार्यवाहक प्रमुख डंगोलले अनुगमनकै क्रममा स्थानीय प्रशासन र साझेदार निकायहरूको सहकार्यमा सबै प्रकारका अवरोध हटाउन निर्देशन दिएकी थिइन् ।
प्रतिवेदनले तत्काल र दीर्घकालीन रूपमा चालिनुपर्ने कदमहरू पनि सिफारिस गरेको छ । तत्कालका लागि ढल निकास मार्गमा रहेका अवरोध हटाउने, म्यानहोलहरूको उचाइ बढाउने र नियमित सरसफाइ गर्ने कार्यलाई प्राथमिकता दिइएको छ ।
दीर्घकालीन समाधानका रूपमा माइतीघर वा पुरानो स्वास्थ्य मन्त्रालय परिसरको सार्वजनिक जग्गाभित्र जमिनमुनि ठूलो क्षमताको पानी भण्डारण ट्याङ्की निर्माण गर्न सुझाव दिइएको छ । यसले वर्षाको पिक समयमा आउने पानीलाई केही बेर भण्डारण गरी पछि विस्तारै निकास दिन सहयोग पुग्नेछ ।
त्यस्तै, टुकुचा खोलाको निकास बिन्दुमा पानी फिर्ता हुन नदिने ‘नन रिटर्न भल्भ’ जडान गर्न, समग्र उपत्यकाको ढल सञ्जालको जीआईएस म्यापिङ गर्न र माइतीघर क्षेत्रको क्याचमेन्ट एरियाको आधारमा ढलको क्षमता पुनः डिजाइन गर्न प्रतिवेदनले जोड दिएको छ ।
सडक, खानेपानी, ढल र विद्युत् जस्ता निकायहरू बीच समन्वयको अभावमा एउटाले बनाउने र अर्काेले खन्ने परिपाटीलाई अन्त्य गरी एकीकृत प्रणाली विकास गर्नुपर्ने आवश्यकतालाई समेत प्रतिवेदनले विशेष महत्वका साथ उठाएको छ ।
प्रतिक्रिया 4