News Summary
Generated by OK AI. Editorially reviewed.- धनकुटाको ऐतिहासिक टुँडिखेल संरक्षण र स्तरोन्नतिका लागि दुई महिनादेखि बन्द हुँदा सयौं खेलाडीको नियमित प्रशिक्षण तथा खेलकुद गतिविधि प्रभावित भएको छ ।
- टुँडिखेल संरक्षण समितिका सदस्य गोविन्द राईले मैदानको सतह सम्याउने, झार फाल्ने र दुबो जोगाउने काम भइरहेकाले केही दिनमा गतिविधि सञ्चालन हुने बताउनुभयो ।
- जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मनोज राईले सरकारी बजेट नपाएपछि स्थानीयको सक्रियतामा मैदान मर्मत सुरु गरिएको र थप व्यवस्थित बनाउन सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो ।
११ साउन, धनकुटा । बिहानैदेखि खेलाडीहरुको चहलपहल भरिने धनकुटाको तल्लो टुँडिखेल अहिले भने खेलका गतिविधिमा भने सुनसान छ ।
मैदानमा खेलाडिको चहलपहल होइन मैदानमा झार काट्ने मानिस र औजारको चहलपहल बढेको छ । करिब दुई महिनादेखि बन्द रहेको ऐतिहासिक खेलमैदान अहिले संरक्षण र स्तरोन्नतिको चरणमा छ । तर, यसको प्रत्यक्ष असर जिल्लाका सयौं खेलाडी, प्रशिक्षक र खेलप्रेमीले भोगिरहेका छन् ।
धनकुटा जिल्लाको खेलकुद गतिविधिको केन्द्र रहेको यस टुँडिखेलमा वर्षौंदेखि फुटबल, भलिबल, क्रिकेट, एथलेटिक्स लगायतका विभिन्न खेलहरुका लागि प्रमुख केन्द्र रहदैं आएको थियो । विद्यालयस्तरीय प्रतियोगितादेखि जिल्ला, प्रदेश र राष्ट्रियस्तरीय प्रतियोगितासम्म यही मैदानमा सञ्चालन हुने गरेका छन् ।
यही मैदानले धेरै खेलाडीलाई राष्ट्रियस्तरसम्म पुग्ने आधार पनि दिएको छ । तर अहिले मैदानमा खेलाडीको चहलपहल छैन । लामो समयसम्म प्रयोग रोकिएपछि मैदानभरि झार पलाएको थियो । अहिले टुँडिखेल संरक्षण समितिले झार काट्ने, सरसफाइ गर्ने, दुबो संरक्षण गर्ने र मैदान सम्याउने कामलाई तीव्र बनाएको छ ।
टुँडिखेल बन्द भएपछि सबैभन्दा बढी समस्या नियमित अभ्यास गर्ने खेलाडीलाई परेको छ । प्रतियोगिताको तयारी गरिरहेका खेलाडीले नियमित प्रशिक्षण गर्न पाएका छैनन् । केही टोलीले विद्यालयका खुला चौर वा अन्य साना मैदानमा अभ्यास गर्ने प्रयास गरे पनि टुँडिखेलजस्तो सुविधा र स्तरको मैदान जिल्लामा नहुँदा उनीहरुको तयारी प्रभावित भएको छ । खेलाडीको निरन्तर अभ्यास टुट्दा फिटनेस, खेल कौशल र प्रतियोगितात्मक क्षमता कमजोर हुने अवस्था आएको छ ।

लामो समयसम्म मैदान बन्द हुँदा जिल्लाको खेलकुद गतिविधि नै सुस्ताउने चिन्ता पनि थपिएको छ । मैदान बन्द गर्नुको उद्देश्य खेल रोक्नु होइन, भविष्यका लागि खेलमैदानलाई बचाउनु रहेको टुँडिखेल संरक्षण समितिका सदस्य गोविन्द राईले बताए । उनका अनुसार वर्षौंदेखि पर्याप्त संरक्षण नहुँदा मैदानको सतह असमान बनेको थियो । कतै घाँस नै थिएन भने कतै अत्यधिक झार उम्रिएको थियो ।
यस्तो अवस्थामा नियमित खेल सञ्चालन भइरहे मैदान अझ बिग्रिने भएकाले केही समयका लागि बन्द गर्नुपरेको उनले बताए । ‘हामीले अहिले मैदानलाई हरियाली बनाउने, दुबो जोगाउने र खेल्न योग्य बनाउने काम गरिरहेका छौं’, उनले भने, ‘केही दिनमै खेलकुदका गतिविधि सञ्चालन गर्ने तयारी गरिएको छ ।’
टुँडिखेलको संरक्षणका लागि प्रदेश सरकारबाट बजेट आउने आश्वासन धेरै पटक आए पनि बजेटको भने व्यवस्था नभएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मनोज राईले बताए । ‘सरकारको मात्रै मुख ताकेर बस्ने अवस्था रहेन’, उनले भने ‘त्यसैले स्थानीयको सक्रियतामा संरक्षण समिति गठन गरेर सरसफाइ र सुधारको काम सुरु गरेका हौं ।’ स्थानीयको श्रमदान र सहयोगबाट सुरु भएको यो अभियानले सरकारी निकायको ध्यान पनि आकर्षित गर्नुपर्ने राईले बताए । खेलकुद पूर्वाधारको संरक्षण सरकारको दायित्व भए पनि व्यवहारमा नदेखिएको राईको गुनासो छ ।

धनकुटा टुँडिखेलको समस्या झार पलाउनु मात्रै रहेको छैन । मैदानको सतह असमान छ भने दर्शक बस्ने प्याराफिट जीर्ण बनेको छ । सुरक्षाका लागि लगाइएका बार र पर्खाल ठाउँठाउँमा भत्किएका छन् । वर्षौंदेखि नियमित मर्मत नहुँदा समग्र पूर्वाधार कमजोर बन्दै गएको छ । कुनै समय पूर्वी पहाडकै उत्कृष्ट खेलमैदानको रुपमा चिनिएको धनकुटा टुँडिखेल अहिले आफ्नो पहिचान जोगाउने संघर्षमा पुगेको स्थानीयको भनाइ छ । समयमै मर्मत र स्तरोन्नति हुन नसके टुँडिखेलले ऐतिहासिक महत्व समेत गुमाउन सक्ने खतरा बढेको छ ।
टुँडिखेल बन्द भएपछि धनकुटामा एउटा मात्रै खेलमैदानमा निर्भर रहनुको कमजोरी देखिएको छ । जिल्लामा अर्को व्यवस्थित खेलमैदान नहुँदा सम्पूर्ण खेल गतिविधि प्रभावित भएको जिल्ला फुटबल संघका पूर्वअध्यक्ष समेत रहेका टुँडिखेल संरक्षण समितिका सदस्य राईले बताए ।
उनले खेलकुदसँग सम्बन्धित सरोकारवालाहरुले दीर्घकालीन रुपमा वैकल्पिक खेलमैदान निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने बताए । एउटा मैदान मर्मत हुँदा अर्को मैदानबाट खेल गतिविधि निरन्तर सञ्चालन गर्न सकिने व्यवस्था हुनुपर्ने उनले बताए । ‘धनकुटा टुँडिखेल केवल एउटा मैदान होइन, जिल्लाको खेलकुद इतिहास, पहिचान र सम्भावनासँग जोडिएको साझा सम्पत्ति हो’, उनले भने, ‘यसको संरक्षणले भविष्यका खेलाडीलाई राम्रो पूर्वाधार दिन सक्ने देखिन्छ । तर, स्थानीयको सक्रियताले मात्रै संरक्षणको अभियान पूरा नहुने भएकाले प्रदेश र संघीय सरकारले आवश्यक बजेट र योजनासहित साथ दिनुपर्ने आवश्यकता रहेको छ ।’


प्रतिक्रिया 4