News Summary
Generated by OK AI. Editorially reviewed.- सुनसरीको देवानगञ्जमा दुई समूहको विवाद नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ ।
- प्रतिनिधिसभा सदस्य लालविक्रम थापाले घटना अत्यन्तै गम्भीर र खेदजनक रहेको बताउँदै निष्पक्ष छानबिनको माग गर्नुभएको छ ।
- घटनापछि उत्पन्न तनावलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले देवानगञ्जको उक्त क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।
११ साउन, काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीचको विवाद नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि सुनसरी–२ का प्रतिनिधिसभा सदस्य लालविक्रम थापाले घटनालाई ‘अत्यन्तै गम्भीर र खेदजनक’ बताएका छन् ।
घटनास्थल पुगेर सुरक्षा निकायसँग छलफल गरेका थापाले प्रहरीले गोली चलाउनु नपर्ने अवस्था रहेको दाबी गर्दै घटनाका विषयमा निष्पक्ष छानबिन हुनुपर्ने बताएका हुन् ।
उनले गोली लागेका सबै व्यक्तिको अवस्थाबारे यकिन गर्न र कतै अन्य घाइते लुकेर बसेका वा उपचार नपाएर अलपत्र परेका छन् कि भनेर पुन: खोजी गर्न प्रशासनलाई आग्रह गरेका छन् । ‘मान्छे कहिँकतै लुकेको, ढलेका छन् कि एकपटक सर्च गरौं,’ सांसद थापाले भने ।
उनीसँग एक प्रहरी अधिकृतले भने नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले सर्च गरेको तर त्यस्तो अवस्थाका व्यक्ति फेला नपारेको बताएका छन् ।
‘गोली चलाउनुपर्ने कन्डिसन छँदैछैन’
सांसद थापाले घटना अत्यन्तै गम्भीर र दर्दनाक भन्दै नागरिकमाथि यसरी गोली चलाउनु खेदजनक भएको बताए । उनले यस घटनामा गोली चलाउनुपर्ने अवस्थै नभएको समेत जिकिर गरेका छन् । ‘कुनै पनि हालतमा काहीँ पनि गोली चलाउनुपर्ने कन्डिसन छँदैछैन यो घटनामा,’ सांसद थापाले भनेका छन् ।’
उनले यस घटनामा प्रशासन र सुरक्षा निकायबीच समन्वय अभाव भएको आशंका गरे । ‘हामी जिम्मेवार मान्छे छौं । कहिँकतै परिस्थिति फेरबदल आउन लाग्यो भने समन्वयकारी हातहरु अगाडि बढाउनुपर्छ । सीडीओ साबलाई सोध्दा पनि उहाँले मलाई जानकारी छैन भन्नुभाछ । एसपी साबलाई फोन गर्दा एसपी साबले फोन उठाइराख्नुभाछैन र अरु कसैले उठाइराछ,’ सांसद थापा भन्छन्, ‘मेरो नागरिकमाथि डंगडंग गोली चलाको छ । कमसेकम एउटा मर्यादा हुन्छ ।’
हातमा हतियार छ भन्दैमा नागरिकमाथि गोली चलाउने काम स्वीकार्य हुन नसक्ने उनको भनाइ छ । ‘जसले गर्यो यो खेदजनक छ । अत्यन्तै गर्नै नहुने काम भयो,’ उनले भनेका छन् ।
देशभर नकारात्मक सन्देश जाने भएकाले संयमता अपनाउन आग्रह
नयाँ सरकार बनेको अवस्थामा यस्ता घटनाले देशभर नकारात्मक सन्देश जाने भन्दै सुरक्षा निकायलाई अधिकतम संयमता अपनाउन आग्रह गरे ।
धार्मिक विवादका कारण परिस्थिति थप नबिग्रियोस् भन्नेमा सबै पक्षले संयम अपनाउनुपर्ने थापाले बताए ।
उनका अनुसार उनले जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारीसँग छुट्टाछुट्टै छलफल गरेका छन् । तर घटनाको प्रारम्भिक विवरणबारे सुरक्षा निकायका अधिकारीहरूबाट समेत स्पष्ट जानकारी नपाएको उनले बताएका छन् ।
थापाले घटनाको वास्तविकता बुझ्न आफू रातिसम्म घटनास्थलमै बसेको उल्लेख गर्दै स्थानीय प्रहरीसँग पनि प्रत्यक्ष रूपमा जानकारी लिएको बताए । उनका अनुसार अहिले स्थानीय प्रशासन, जनप्रतिनिधि र सुरक्षा निकायबीच समन्वय गरेर अवस्था सामान्य बनाउने प्रयास भइरहेको छ ।
उनले घाइतेहरूको उपचारलाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै आवश्यक परे काठमाडौंसम्म उपचारको व्यवस्था मिलाउन पहल गर्ने बताए ।
देवानगञ्ज–३ कप्तानगञ्जमा गएराति दुई समूहबीच उत्पन्न विवाद नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको थियो । घटनापछि उत्पन्न तनावलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले उक्त क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिक्रिया 4