News Summary
Generated by OK AI. Editorially reviewed.- तेह्रथुमको लालीगुराँस नगरपालिकामा ढाका बुनाइ तालिमले स्थानीय महिलालाई आत्मनिर्भर र आर्थिक रूपमा सशक्त बनाएको छ ।
- परम्परागत सीपलाई आधुनिक डिजाइनसँग जोडेर उत्पादन गरिएका ढाकाका सामग्री स्वदेशी तथा विदेशी बजारमा लोकप्रिय बन्दै गएका छन् ।
- उपप्रमुख जमुना मगर कार्कीले स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्ने प्रयास जारी रहने बताउनुभयो ।
११ साउन, तेह्रथुम । बिहानको घामले लालीगुराँस नगरपालिकाको डाँडाकाँडा छुन नपाउँदै गाउँका घरहरूमा दैनिक चहलपहल सुरु हुन्छ । कसैले गाईवस्तु हेर्छ, कसैले करेसाबारी सम्हाल्छ । भान्साको काम सकिएपछि कतिपय घरमा भने तानमा धागा बुन्न थालिन्छ । तर तानमा कपडा मात्रै बुनिँदैनन् स्थानीय महिलाको आत्मविश्वास, परिवारको आर्थिक आधार र भविष्यका सम्भावनासमेत बुनिन्छन् ।
केही वर्षअघिसम्म स्थानीय महिलाको दैनिकी घरधन्दा, मेलापात र खेतीपातीमै सीमित थियो । आफ्नै आम्दानी नभएकाले सामान्य व्यक्तिगत खर्चका लागि पनि परिवारको भर पर्नुपर्ने अवस्था थियो । केही गर्न सक्ने चाहना हुँदाहुँदै पनि अवसर, सीप र पहुँचको अभावले उनीहरू घरको घेराभन्दा बाहिर निस्कन सकेका थिएनन् । तर अहिले तेह्रथुमको लालीगुराँस नगरपालिकामा विगतको अवस्था विस्तारै बदलिँदै छ ।
स्थानीय सरकारले सञ्चालन गरेको गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गतको ढाका बुनाइ तालिमले ग्रामीण महिलाको जीवनमा नयाँ सम्भावनाको ढोका खोलेको छ । परम्परागत पहिचानका रूपमा चिनिएको तेह्रथुमे ढाका अहिले स्थानीय महिलाको आर्थिक सशक्तीकरणको आधार बन्दै गएको छ ।
पहिचान मात्र होइन, पुस्तौंदेखिको सीप
पूर्वी पहाडको तेह्रथुम ढाका उत्पादनका लागि परिचित जिल्ला हो । यहाँ उत्पादन हुने ढाका एउटा कपडा मात्र होइन, पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको मौलिक कला, संस्कृति र सीपको जीवित स्वरूप हो ।
हातले तानमा बुन्ने परम्परागत शैली, आकर्षक बुट्टा र मौलिक डिजाइनका कारण तेह्रथुमे ढाकाले देशभर छुट्टै पहिचान बनाएको छ । कुनै समय दौरा–सुरुवाल र ढाका टोपीमा सीमित रहेको यसको प्रयोग अहिले आधुनिक फेसन उद्योगसम्म विस्तार भएको छ ।
ढाकाबाट अहिले साडी, चौबन्दी चोली, पछ्यौरा, सल, कुर्ता–सुरुवाल, वास्कोट, कोट, ज्याकेट, टाई, मफलर, ह्यान्डब्याग, पर्स, ल्यापटप ब्याग, मोबाइल कभर, फाइल कभर, कुशन कभर, टेबल रनरदेखि सजावटी सामग्रीसम्म उत्पादन हुन थालेका छन् ।
परम्परागत सीप आधुनिक डिजाइनसँग जोडिएपछि यसको बजार पनि विस्तार हुँदै गएको छ ।
घरमै बसेर व्यवसाय

लालीगुराँस नगरपालिकाका विभिन्न वडामा अहिले धेरै महिलाले आफ्नै घरमा तान राखेका छन् । बिहान घरधन्दा सकेपछि उनीहरू दिनभर ढाका बुन्न व्यस्त हुन्छन् ।
घरमै बसेर व्यवसाय सञ्चालन गर्न सकिने भएकाले यो पेशा महिलाको पहिलो रोजाइ बन्न थालेको छ । यसबाट उनीहरूले परिवारसँगै बसेर आम्दानी गर्ने, घरखर्च धान्ने, बचत गर्ने र आफ्नै पहिचान बनाउने अवसर पाएका छन् ।
लालीगुराँस नगरपालिका–७ की पुष्पाञ्जली केप्छाकी मगर पनि त्यही परिवर्तनको एउटा प्रतिनिधि पात्र हुन् ।
केही वर्षअघिसम्म उनी घरायसी काममै सीमित थिइन् । अहिले भने ढाका बुनाइ नै उनको नियमित आम्दानीको स्रोत बनेको छ ।
‘बेरोजगार बसेर अरूको भर पर्नुभन्दा आफ्नै सीपले केही कमाउन पाउँदा आत्मविश्वास बढेको छ । अहिले परिवारको खर्चमा पनि सहयोग गर्न सकेकी छु । घरमै बसेर व्यवसाय गर्न पाइने भएकाले यो काम महिलाका लागि निकै उपयुक्त छ,’ उनी भन्छिन् ।
सीपसँगै उद्यमशीलता
महिलालाई स्वरोजगार बनाउने उद्देश्यले लालीगुराँस नगरपालिकाले पछिल्ला केही वर्षदेखि मेड्पामार्फत ढाका बुनाइ, सिलाइकटाइ तथा अन्य घरेलु उद्योगसम्बन्धी सीपमूलक तालिम सञ्चालन गर्दै आएको छ ।
तालिम दिएर मात्र नरोकिने नगरपालिकाको दाबी छ । तालिमपछि व्यवसाय सञ्चालनका लागि आवश्यक प्राविधिक परामर्श, उद्यम व्यवस्थापन र बजारीकरणमा समेत सहजीकरण गरिँदै आएको छ ।
मेड्पा कार्यक्रमका संयोजक छत्र श्रेष्ठका अनुसार कार्यक्रमको उद्देश्य महिलालाई आफ्नै गाउँमै बसेर आयआर्जन गर्न सक्ने बनाउनु हो । उनका अनुसार सीपले महिलालाई स्वरोजगार मात्र बनाएको छैन, उनीहरूमा आत्मविश्वास, निर्णय क्षमता र उद्यमशील सोच पनि विकास गरिरहेको छ ।
गाउँबाट विश्व बजारसम्म

तेह्रथुम आउने स्वदेशी तथा विदेशी पर्यटकका लागि ढाका सबैभन्दा लोकप्रिय कोशेलीमध्ये एक बनेको छ ।
यहाँ उत्पादन हुने सामग्री काठमाडौं, पोखरा, विराटनगर, धरान, इटहरीलगायत देशका प्रमुख बजारमा पुग्ने गरेका छन्। त्यससँगै विदेशमा रहेका नेपाली समुदायमार्फत यसको अन्तर्राष्ट्रिय बजार पनि विस्तार हुँदै गएको छ ।
भारत, हङकङ, बेलायत, सिङ्गापुर र ब्रुनाइमा तेह्रथुमे ढाका निर्यात हुँदै आएको छ । पछिल्ला वर्षहरूमा अमेरिका, अष्ट्रेलिया, जापान, दक्षिण कोरिया तथा युरोपका विभिन्न देशमा बसोबास गर्ने नेपाली समुदायले पनि यसको माग बढाइरहेका छन् ।
नेपाली मौलिक पहिचान बोकेको उत्पादन भएकाले अन्तर्राष्ट्रिय बजारमा यसको आकर्षण वर्षेनी बढ्दो छ ।
आम्दानीसँगै सम्मान
ढाका उद्योगको विस्तारसँगै गाउँका महिलाको जीवनशैली पनि फेरिएको छ ।
पहिले घरधन्दामा सीमित रहेका महिलाले अहिले उत्पादनदेखि बजारीकरणसम्मको जिम्मेवारी सम्हालिरहेका छन् । आम्दानी बढेसँगै उनीहरूले छोराछोरीको शिक्षामा लगानी गर्न, बचत गर्न र परिवारको आर्थिक निर्णयमा सक्रिय भूमिका खेल्न थालेका छन् । यसले उनीहरूको आर्थिक अवस्था मात्र होइन, सामाजिक सम्मान पनि बढाएको स्थानीयहरू बताउँछन् ।
लालीगुराँस नगरपालिकाकी उपप्रमुख जमुना मगर कार्कीका अनुसार ढाका व्यवसायलाई अझ व्यावसायिक बनाउँदै महिलाको आर्थिक अवस्था सुदृढ बनाउने लक्ष्यसहित स्थानीय सरकारले निरन्तर सहयोग गरिरहेको छ ।
‘ढाका हाम्रो पहिचान मात्र होइन, महिलाको आर्थिक सशक्तीकरणको बलियो आधार पनि हो । सीपसँगै उत्पादन, बजारीकरण र उद्यमशीलतालाई जोड्न सकियो भने महिलाको जीवनस्तरमा उल्लेखनीय सुधार आउँछ । स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्ने हाम्रो प्रयास निरन्तर रहनेछ,’ उनी भन्छिन् ।
तेह्रथुमे ढाका आज एउटा कपडा उद्योगमा मात्र सीमित छैन । यो जिल्लाको सांस्कृतिक पहिचान, स्थानीय अर्थतन्त्र र महिला सशक्तीकरणको महत्वपूर्ण आधार बनेको छ ।
स्थानीय सरकारले दिएको सीप, महिलाको अथक मेहनत र विस्तार हुँदै गएको बजारले गाउँमा परिवर्तनको नयाँ कथा लेख्न थालेको छ ।
अब चुनौती उत्पादन बढाउनेभन्दा पनि त्यसलाई आधुनिक प्रविधि, आकर्षक डिजाइन, प्रभावकारी ब्रान्डिङ, व्यवस्थित बजारीकरण र निर्यातसँग जोड्ने हो ।
त्यो सम्भव भयो भने तेह्रथुमे ढाका नेपालको हस्तकला उद्योगको प्रमुख निर्यातयोग्य उत्पादन बन्न सक्छ ।
अहिले भने तेह्रथुमका गाउँघरमा तानमा चलिरहेका धागाले केवल कपडा मात्र बुनिरहेका छैनन् । ती धागाले आत्मनिर्भरता, सम्मान र समृद्ध भविष्यको सपना पनि बुनिरहेका छन् ।
प्रतिक्रिया 4