News Summary
Generated by OK AI. Editorially reviewed.- सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर ओमप्रकाश मेहताको मृत्यु भएपछि सिरहाको गोलबजारमा आन्दोलनकारीले प्रदर्शन गरेका छन् ।
- प्रदर्शनकारीले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न र गृहमन्त्रीको राजीनामा माग गर्दै भोलिसम्म ठोस निर्णय नभए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
- सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सिरहाको अवस्था सामान्य रहेको र प्रदर्शनकारीका अगुवासँग छलफलको तयारी भइरहेको जानकारी दिनुभयो ।
११ साउन, सिरहा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाको विरोधमा सिरहाको गोलबजारमा पनि प्रदर्शन गरिएको छ ।
प्रदर्शनका क्रममा आन्दोलनकारीहरूले ‘सुनसरीमा मारिएका व्यक्तिलाई न्याय दे, गृहमन्त्रीले राजीनामा देऊ, गोली चलाउनेमाथि कारबाही गर, प्रहरी दमन बन्द गर,’ लगायतका नाराबाजी गरेका थिए ।
उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेका छन् ।
उनीहरूले प्रहरीबाट गोली नचलाइएको भए गोली कसले चलायो भन्ने विषयको सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् । साथै, भोलिसम्म ठोस निर्णय नगरे देशव्यापी आन्दोलन गर्ने चेतावनी पनि उनीहरूले दिएका छन् ।
यसैबीच, सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सुनसरी घटनाको विरोधमा कर्जन्हा र गोलबजारमा प्रदर्शन भइरहेको जानकारी प्राप्त भएको बताए ।
प्रदर्शनकारीका अगुवासँग छलफलको तयारी भइरहेको उल्लेख गर्दै उनले हालसम्म सिरहामा कुनै उच्छृङ्खल गतिविधि नभएको र अवस्था सामान्य रहेको बताए ।

परिस्थिति जटिल बने सुरक्षा निकाय तथा सरोकारवालासँग समन्वय गरेर आवश्यक निर्णय लिइने उनको भनाइ छ ।
यसअघि दिउँसो करिब २ बजे सिरहाको कर्जन्हा नगरपालिका–बन्दीपुरस्थित पूर्व–पश्चिम राजमार्गमा टायर बालेर केहीबेर सडक अवरुद्ध गरेका थिए ।
सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा साउने सोमबारको बोलबम यात्राका लागि डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने क्रममा दुई समूहबीच विवाद भएपछि झडप भएको थियो ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाई फायर गरे पनि अवस्था नियन्त्रणमा नआएपछि गोली चलाएको जनाएको छ ।
प्रहरीको गोली लागेर देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको छ ।
प्रतिक्रिया 4