+
+
Shares

लाखौं खर्चिएको गोलबजारको हाटबजार अझै अव्यवस्थित

गोलपार्क चोकदेखि करिब पाँच सय मिटर पश्चिम इलाका प्रहरी कार्यालय गोलबजार अगाडिसम्म फैलिने हाटबजारले सडक नै साँघुरो बनाउने गरेको स्थानीयको गुनासो छ ।

सुरेश राय सुरेश राय
२०८३ वैशाख ५ गते १७:२७

५ वैशाख, सिरहा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार व्यस्त बजार क्षेत्र हो, जहाँ दैनिक हजारौं सवारीसाधन र सर्वसाधारणको आवतजावत हुन्छ । यही भिडभाडयुक्त क्षेत्रमा हाटबजार लाग्छ । सडकमै लाग्ने हाटबजारका कारण दुर्घटनाको जोखिम बढ्दै गएको भन्दै स्थानीयले चिन्ता व्यक्त गर्ने गरेका छन् ।

प्रत्येक मंगलबार र शनिबार लाग्ने हाटबजारमा सागसब्जी, फलफूल, भाडाकुँडा, कपडा बेचन्छिन् । सडककै दायाँबायाँ त्यसरी हाटबजार चल्दा सवारी सञ्चालन प्रभावित हुनुका साथै पैदलयात्रीसमेत जोखिममा पर्ने गरेका छन् ।

गोलपार्क चोकदेखि करिब पाँच सय मिटर पश्चिम इलाका प्रहरी कार्यालय गोलबजार अगाडिसम्म फैलिने हाटबजारले सडक नै साँघुरो बनाउने गरेको स्थानीयको गुनासो छ ।

स्थानीय रामबाबु यादवका अनुसार नगरपालिकाले व्यापारी र किसानसँग बट्टीका नाममा राजस्व उठाए पनि बजारको सुरक्षा र व्यवस्थापनमा पर्याप्त ध्यान दिएको छैन । आर्थिक वर्ष २०८२ देखि ०८५ सम्मका लागि गुदरी हाटबजारले एक करोड २४ लाख ३० हजार रुपैयाँमा तीन वर्षका लागि ठेक्का लागेको छ । प्रत्येक वर्ष ४१ लाख १४ हजार रकम नगरपालिकाले उठाए पनि बजार व्यवस्थापनमा त्यसको प्रभाव नदेखिएको स्थानीयको आरोप छ ।

यति ठूलो रकम ठेक्कामा उठ्छ, तर सडकमै जोखिम मोलेर किनमेल गर्नुपर्ने अवस्था उस्तै छ, उनले गुनासो गरे । गोलपार्क चोक नजिकै पूर्वतर्फ म्याजिक, विंगर, बस तथा टेम्पो स्टेन्ड र पश्चिमतर्फ हाटबजार लाग्ने हुँदा थप जोखिम बढेको स्थानीय प्रमोदकुमार सिंह बताउँछन् । सडक क्षेत्रमा पसल, ठेलागाडा र तरकारी व्यापारका कारण पैदलयात्री हिँड्नसमेत सकस हुने गरेको उनको भनाइ छ ।

बजार व्यवस्थापनका लागि उद्योग व्यापार संघले एक वर्षअघि नै प्रस्ताव बुझाए पनि कुनै सुनुवाइ नभएको बताएका छन् । उद्योग व्यापार संघका उपाध्यक्ष राकेश गुप्ताले पटक–पटक मौखिक तथा लिखित रूपमा नगरपालिकालाई जानकारी गराए पनि सुनुवाइ नभएको बताए । उनले बजार व्यवस्थापन नगरपालिका मातहतको विषय भएको र संघसँग आर्थिक स्रोत अभाव रहेकाले प्रत्यक्ष व्यवस्थापन सम्भव नभएको उल्लेख गरे ।

नगरपालिका, उद्योग व्यापार संघ र ट्राफिक प्रहरीको सहकार्यमा विगतमा लाखौं रुपैयाँ खर्चिएर बजार व्यवस्थापनको प्रयास गरिए पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको आरोपसमेत छ । हालसम्म बजार व्यवस्थापनका लागि नगरपालिकाले दुई पटक प्रयास गरेको र करिब १० लाख रुपैयाँ खर्च भएको बुझिएको छ । तर ठेक्काबाट वार्षिक लाखौं राजस्व उठ्दासमेत बजार अझै अव्यवस्थित रहनुले प्रश्न उठाएको छ ।

नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर–६ का अध्यक्ष सञ्जित लामाले बजार व्यवस्थापनका लागि सर्वदलीय बैठक राखिए पनि समाधान ननिस्किएको स्वीकार गरे । उनका अनुसार पुन: सर्वदलीय बैठकमार्फत समाधान खोजिने प्रयास भइरहेको छ ।

यता जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रमुख ट्राफिक प्रहरी निरीक्षक शालिकराम तिमिल्सिनाले हाटबजार लाग्ने दिन ट्राफिक प्रहरी परिचालन गरिएको बताए । तर स्थानीयले ट्राफिक प्रहरी व्यवस्थापनभन्दा राजस्व संकलनमै बढी केन्द्रित हुने गरेको आरोप लगाएका छन् ।

लेखक
सुरेश राय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?