News Summary
Generated by OK AI. Editorially reviewed.- अष्ट्रेलियाको सिड्नीमा नेपाली युवा उद्यमीहरूको विश्व सम्मेलन सम्पन्न भएको छ जसमा २० भन्दा बढी देशका ४ सयभन्दा बढी युवा सहभागी भएका छन् ।
- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भर्चुअल माध्यमबाट सम्बोधन गर्दै विदेशमा रहेका नेपाली उद्यमीलाई नेपालमा लगानी गर्न आह्वान गर्नुभएको छ ।
- सम्मेलनले नेपाली उद्यमीबीच विश्वव्यापी सञ्जाल विस्तार, लगानी साझेदारी तथा प्रविधि आदान–प्रदानमा जोड दिँदै आगामी संस्करण सन् २०२८ मा चीनमा गर्ने निर्णय गरेको छ ।
११ साउन, सिड्नी (अष्ट्रेलिया) । विश्वभरका नेपाली युवा उद्यमीलाई एउटै मञ्चमा जोड्दै नवप्रवर्तन, स्टार्टअप, लगानी तथा विश्वव्यापी व्यवसायिक सहकार्यका विषयमा केन्द्रित नेपाली युवा उद्यमीहरूको विश्व सम्मेलन अष्ट्रेलियाको सिड्नीमा सम्पन्न भएको छ।
जुलाई २४ र २५ मा सिड्नीस्थित सोफिटेल होटलमा आयोजित सम्मेलनमा २० भन्दा बढी देशबाट आएका करिब ४ सय नेपाली युवा उद्यमी, व्यवसायी, लगानीकर्ता, प्रविधि विज्ञ तथा नीति निर्माता सहभागी भएका थिए ।
अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघको अन्तर्राष्ट्रिय कार्य समितिको आयोजनामा तथा अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ अष्ट्रेलियाको व्यवस्थापनमा सम्पन्न सम्मेलनमा नेपाल र अष्ट्रेलियाका सरकारी, वित्तीय तथा निजी क्षेत्रका प्रतिनिधिसहित ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ताले विभिन्न विषयमा आफ्नो अनुभव र धारणा राखेका थिए ।
सम्मेलनलाई नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भर्चुअल माध्यमबाट सम्बोधन गरेका थिए ।
सो क्रममा उनले विदेशमा रहेका नेपाली उद्यमी तथा लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरे। नेपालमा लगानीका लागि वातावरण क्रमश: अनुकूल बन्दै गएको उल्लेख गर्दै उनले सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने तथा लगानीमैत्री नीतिलाई थप प्रभावकारी बनाउने दिशामा काम गरिरहेको बताए ।
‘नेपालमा लगानीका लागि सकारात्मक वातावरण निर्माण भइरहेको छ । विदेशमा आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई नेपालसँग जोड्न म सम्पूर्ण नेपाली उद्यमीलाई आग्रह गर्छु । नेपाली उद्यमलाई अन्तर्राष्ट्रिय बजारसम्म विस्तार गर्न सक्ने नीतिगत सुधारमा सरकार गम्भीरतापूर्वक अघि बढिरहेको छ,’ अर्थमन्त्री वाग्लेले भने ।
दुईदिने सम्मेलनमा एआई, डिजिटल अर्थतन्त्र, स्टार्टअप इकोसिस्टम, नवप्रवर्तन, लगानी, वित्तीय पहुँच तथा विश्वव्यापी व्यवसाय विस्तारका विषयमा विभिन्न कार्यपत्र प्रस्तुत गरिनुका साथै प्यानल छलफल आयोजना गरिएको थियो ।
छलफलमा एआईले सिर्जना गरिरहेका अवसर, नेपाली स्टार्टअपको अन्तर्राष्ट्रिय सम्भावना, प्रविधिमा आधारित उद्यम विकास, लगानी आकर्षण तथा विश्वभर रहेका नेपाली उद्यमीबीच सहकार्य विस्तारका विषयमा व्यापक बहस भएको थियो ।
फिनेका अध्यक्ष गोकर्ण ढकालका अनुसार सम्मेलनले विश्वभर फैलिएका नेपाली युवा उद्यमीबीच व्यवसायिक सञ्जाल विस्तार, लगानी साझेदारी, ज्ञान तथा प्रविधि आदान–प्रदान र नेपालकेन्द्रित लगानी प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको छ ।
‘सम्मेलनमार्फत भविष्यमा नेपाली उद्यमलाई विश्व बजारसँग अझ प्रभावकारी रूपमा जोड्ने, अन्तर्राष्ट्रिय साझेदारी बढाउने तथा नवप्रवर्तनमा आधारित उद्यमशीलतालाई प्रोत्साहन गर्ने साझा प्रतिबद्धता व्यक्त गरिएको छ,’ उनले भने ।
आगामी सम्मेलन सन् २०२८ मा चीनको गन्जाउमा आयोजन गर्ने निष्कर्षसहित कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिक्रिया 4