+
+
Shares

प्रस्तावित आयुक्त सुब्बाको प्रतिबद्धता- निर्वाचनमा प्रविधिमार्फत ‘सञ्जय दृष्टि’

डिजिटल निर्वाचन र नोटा (मत दिन्न भन्ने अधिकार) लागु गर्नेगरी योजना पेस गरेका उनले महाभारतको समयमा भनिएको ‘सञ्जय(धृतराष्ट्रका सारथी) दृष्टि’ प्रविधिमा खोजेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १२ गते १४:५८

१२ साउन, काठमाडौं । प्रस्तावित निर्वाचन आयुक्त डा. राजीव सुब्बाले संसदीय सुनुवाइ समितिमा आफ्नो सुनुवाइका क्रममा महाभारतको दृष्टान्त  सम्झिएका छन ।

डिजिटल निर्वाचन र नोटा (मत दिन्न भन्ने अधिकार) लागु गर्ने गरी योजना पेस गरेका उनले महाभारतको समयमा भनिएको ‘सञ्जय(धृतराष्ट्रका सारथी) दृष्टि’ प्रविधिमा खोजेका छन् ।

सञ्जय दृष्टि प्रविधि पाउनका निम्ति आवश्यक पर्ने कानुनी व्यवस्था गर्ने र पूर्वाधार तयार गर्ने उनको प्रतिबद्धता छ ।

‘आजको सन्दर्भमा सञ्जय दृष्टिलाई वास्तविक समय सूचना, विश्लेषण तथा प्रमाणमा आधारित निर्णय प्रक्रियाको प्रतीकका रूपमा लिन सकिन्छ,’ सुनुवाइका क्रममा उनले भने ।

लोकतान्त्रिक शासन व्यवस्थामा प्रभावकारी निर्वाचन व्यवस्थापनका लागि निर्वाचन आयोगलाई पनि यस्तै सञ्जय दृष्टि आवश्यक पर्ने उनले बताए ।

निर्वाचन कहाँ कसरी भइरहेको छ ? एआई, डीपफेक फैलिएको छ कि छैन ?  मतदाता दर्ताको अवस्था के छ ? मतदान केन्द्रको अवस्था के छ ? आचारसंहिताको उल्लङ्घन कहाँ भइरहेको छ ? मतगणना कति अघि बढ्यो ? साइबर आक्रमण भएको छ कि छैन ? भनेर रियल टाइममा हेर्न सकिने उनले बताए ।

डा. सुब्बाले संसदीय सुनुवाइ समितिमा ६ बर्से रणनीतिक कार्ययोजना पेस गरेका छन् ।

जसमा डा.सुब्बाले डिजिटल निर्वाचन र नोटाको पक्षमा आफूलाई उभ्याउँदै ६ वर्षे रणनीतिक कार्ययोजना प्रस्तुत गरेका छन् ।

पहिलो चरणअन्तर्गत पहिलो र दोस्रो वर्षभित्र कानुनी, संस्थागत तथा प्राविधिक आधार निर्माण गर्ने, प्रमुख राजनीतिक दल तथा सरोकारवालाबीच राष्ट्रिय सहमति कायम गर्ने भनेका छन् ।

सबैको सहमतिमा बाह्य तथा अनुपस्थित मतदान व्यवस्थापन विभाग तथा निर्वाचन साइबर सुरक्षा सञ्चालन केन्द्र स्थापना गर्ने, मतदाता नामावली तथा निर्वाचन सूचना प्रणालीको डिजिटल आधुनिकीकरण गरी राष्ट्रिय परिचयपत्र तथा अन्य सरकारी डिजिटल प्रणालीसँग एकीकृत गर्ने उनको योजना छ ।

‘सुरक्षित डिजिटल मतदाता व्यवस्थापन प्रणाली विकास गर्ने, विद्युतीय मतदान मेसिन ईभीएम, इन्टरनेट मतदान, अनुपस्थित मतदान तथा नोटा अर्थात् नो भोट (निर्वाचनमा खडा भएका उम्मेदवारमध्ये कसैलाई पनि मतदान दिन्न भनेर गर्ने मत संकेत) सम्बन्धी राष्ट्रिय प्राविधिक मापदण्ड स्वीकृत गर्ने,’ उनको कार्ययोजनामा उल्लेख छ ।

नोटाको व्यवस्था कार्यान्वयन गर्ने अवधि पनि उनले एक देखि दुई वर्षसम्मलाई राखेका छन् ।

आफ्नो कार्यायोजनाअनुसार काम भएमा दुई वर्षभित्र डिजिटल निर्वाचन पूर्वाधार स्थापना तथा आधुनिकीकरण सम्पन्न हुने उनले दाबी गरेका छन् ।

विदेशमा रहेका नेपालीका लागि छनोट गरिएका मुलुकमा बाह्य मतदानको पाइलट सञ्चालन गर्ने, छनोट गरिएका निर्वाचन क्षेत्रमा विद्युतीय मतदान मेसिन प्रयोग गर्ने उनको योजना छ ।

सीमित दायरामा सुरक्षित इन्टरनेट मतदान परीक्षण गर्ने, सम्पूर्ण प्रणालीको स्वतन्त्र प्राविधिक, साइबर सुरक्षा तथा सञ्चालनसम्बन्धी प्रमाणीकरण सम्पन्न गर्ने डा. सुब्बाको कार्ययोजना छ ।

‘मेरो प्रतिबद्धता आगामी छ वर्षभित्र नेपालका प्रत्येक योग्य नागरिक देशभित्र जहाँसुकै बसोबास वा रोजगारीमा रहेका हुन् वा विदेशमा रहेका हुन् आफ्नो मताधिकार सुरक्षित, सहज, विश्वसनीय र सम्मानपूर्वक प्रयोग गर्न सक्ने आधुनिक तथा समावेशी निर्वाचन प्रणाली निर्माणका लागि आवश्यक कानुमी, संस्थागत, प्राविधिक तथा प्रशासनिक आधार तयार गर्नु हो’, डा. सुब्बाले कार्ययोजनामा लेखेका छन् ।

निर्वाचन आयोगप्रति नागरिकको विश्वास जति बलियो हुन्छ, लोकतन्त्र त्यति नै सबल, समावेशी र दिगो बन्ने उनले बताएका छन् । ‘यही विश्वासलाई अझ सुदृढ बनाउँदै नेपालको निर्वाचन प्रणालीलाई २१औं शताब्दी अनुकूल रूपान्तरण गर्नु नै मेरो प्रमुख लक्ष्य र सार्वजनिक प्रतिबद्धता हो’, उनले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?