+
+
Shares

सरकार र चिकित्सक वार्ता निर्णायक मोडमा, सुरक्षा ऐन संशोधन लगायत विषयमा छलफल

नेपाल चिकित्सक संघका महासचिव डा. विश्व दवाडीका अनुसार चिकित्सक संघले अघि सारेका अधिकांश माग सम्बोधनको चरणमा पुगेका छन् भने बाँकी विषयमा स्वास्थ्य, गृह र कानुन मन्त्रालयका प्रतिनिधिबीच संयुक्त छलफल भइरहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १३ गते १६:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिटपछि देशभर जारी चिकित्सक आन्दोलनलाई लिएर स्वास्थ्य मन्त्रालयमा सरकार र नेपाल चिकित्सक संघबीच निर्णायक वार्ता भइरहेको छ।
  • नेपाल चिकित्सक संघका महासचिव डा. विश्व दवाडीले अधिकांश माग सम्बोधनको चरणमा रहेकाले वार्ताबाटै आन्दोलन समाधानतर्फ उन्मुख हुने विश्वास व्यक्त गरे।
  • चिकित्सक संघले स्वास्थ्यकर्मी सुरक्षा ऐन संशोधन र स्वास्थ्य सेवासम्बन्धी विवाद हेर्ने उपभोक्ता अदालतको अधिकारक्षेत्र मन्त्रालय अन्तर्गत ल्याउनुपर्ने मुख्य माग अघि सारेका छन्।

१३ साउन, काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र त्यसपछि देशभर फैलिएको चिकित्सक आन्दोलनबीच सरकार र नेपाल चिकित्सक संघबीचको वार्ता निर्णायक चरणमा पुगेको छ ।

आन्दोलनका कारण देशभर आकस्मिकबाहेकका अधिकांश स्वास्थ्य सेवा प्रभावित भइरहेका बेला स्वास्थ्य मन्त्रालयमा बुधबार उच्चस्तरीय छलफल जारी रहेको छ ।

नेपाल चिकित्सक संघका महासचिव डा. विश्व दवाडीका अनुसार चिकित्सक संघले अघि सारेका अधिकांश माग सम्बोधनको चरणमा पुगेका छन् भने बाँकी विषयमा स्वास्थ्य, गृह र कानुन मन्त्रालयका प्रतिनिधिबीच संयुक्त छलफल भइरहेको छ ।

उनका अनुसार चिकित्सकमाथि आक्रमणमा संलग्न मुख्य आरोपितलाई पक्राउ गरिसकिएको छ । घटनाका क्रममा चिकित्सकमाथि दुर्व्यवहार गरेको आरोप लागेका प्रहरी अधिकारी (एसपी) को पनि सरुवा भइसकेको उनले बताए ।

अब सरकारसँगको छलफल मुख्य रूपमा ‘स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी सुरक्षा ऐन’ संशोधन र स्वास्थ्य सेवासम्बन्धी विवाद हेर्ने उपभोक्ता अदालतको अधिकारक्षेत्र सम्बन्धी विषयमा केन्द्रित भएको दवाडीले जानकारी दिए ।

‘स्वास्थ्य, गृह र कानुन मन्त्रालयका प्रतिनिधिबीच अहिले ऐन संशोधन र उपभोक्ता अदालतको विषयमा छलफल भइरहेको छ । यी विषय पनि टुंगिए आन्दोलन समाधानतर्फ जान सक्छ,’ डा. दवाडीले अनलाइनखबरसँग भने ।

स्वास्थ्य मन्त्रालयमा भइरहेको छलफलमा स्वास्थ्यमन्त्री, गृह र कानुन मन्त्रालय प्रतिनिधि र संघका पदाधिकारी सहभागी छन् ।

चिकित्सक संघले स्वास्थ्यकर्मीमाथि हुने आक्रमणलाई कडा कानुनी दायरामा ल्याउने व्यवस्था सुनिश्चित गर्नुपर्ने, स्वास्थ्य सेवा सम्बन्धी विवादको सुनुवाइका लागि उपभोक्ता अदालतको अधिकारक्षेत्र स्वास्थ्य मन्त्रालय अन्तर्गत ल्याउनुपर्ने लगायतका माग अघि सारेको छ ।

नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिटको विरोधमा चिकित्सकहरूले देशभर आकस्मिकबाहेकका सेवा बन्द गर्दै आन्दोलन गरिरहेका छन् ।

आन्दोलनका कारण हजारौं बिरामी नियमित उपचारबाट वञ्चित भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?