+
+
Shares

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

अस्पतालमा कार्यरत चिकित्सक डा. उदयनारायण सिंहका अनुसार अस्पतालका करिब ७० चिकित्सकमध्ये ४० जनाले मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन साहसमक्ष राजीनामा बुझाइसकेका छन् । बाँकी चिकित्सकको हस्ताक्षर संकलन भइरहेको र सबैले राजीनामा दिने तयारीमा रहेको उनले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १२ गते १२:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नारायणी अस्पतालका करिब ४० जना चिकित्सकले कार्यक्षेत्रमा भएको कुटपिट र प्रशासनको दुर्व्यवहारको विरोध गर्दै सामूहिक राजीनामा दिएका छन् ।
  • चिकित्सकहरूले घटनामा संलग्नलाई कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखको राजीनामा हुनुपर्ने अडान राखेका छन् ।
  • नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मीमाथिको आक्रमण र प्रशासनको व्यवहारको विरोध गर्दै मंगलबार देशभर आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ ।

१२ साउन, काठमाडौं । वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । गत शनिबार अस्पतालमा भएको तोडफोड, चिकित्सकमाथिको कुटपिट तथा त्यसपछिको घटनामा प्रशासनले दुर्व्यवहार गरेको आरोप लगाउँदै उनीहरूले प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला प्रहरी प्रमुख (एसपी) को राजीनामा मागेका छन् ।

नारायणी अस्पतालमा कार्यरत चिकित्सक डा. उदयनारायण सिंहका अनुसार अस्पतालका करिब ७० चिकित्सकमध्ये करिब ४० जनाले मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन साहसमक्ष राजीनामा बुझाइसकेका छन् । बाँकी चिकित्सकको हस्ताक्षर संकलन भइरहेको र सबैले राजीनामा दिने तयारीमा रहेको उनले बताए ।

अहिले नारायणी अस्पतालको आकस्मिक सेवा नै ठप्प बनाएर स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् । डा. सिंहका अनुसार सोमबार स्वास्थ्य मन्त्रालयले आकस्मिक सेवा सञ्चालन गर्न आग्रह गरेपछि चिकित्सकहरू सकारात्मक बनेका थिए ।

चिकित्सकमाथि आक्रमण गर्नेहरूलाई पक्राउ गरी कानूनी कारबाही गरिने आश्वासन पाएपछि उनीहरू वार्ताका लागि सीडीओ कार्यालय पुगेका थिए । तर, त्यहाँको वातावरण एकाएक तनावपूर्ण बनेको उनको दाबी छ ।

उनका अनुसार वार्ताकै क्रममा नेपाल चिकित्सक संघका एक प्रतिनिधिले दोषीमाथि कारबाही नभए प्रशासनिक नेतृत्वको पनि राजीनामा माग्न सकिने चेतावनी दिएपछि सीडीओ आक्रोशित बने । त्यसलगत्तै सीडीओ र एसपीले चिकित्सकहरूप्रति अपशब्द प्रयोग गर्दै प्रहरीलाई नियन्त्रणमा लिन निर्देशन दिएको आरोप उनले लगाए ।

डा. सिंहले भने, ‘हामी वार्ताबाट बाहिर निस्किँदै गर्दा प्रहरी परिचालन गरेर चिकित्सकलाई घेरा हालियो । मोबाइल खोसियो, फेरि कार्यालयभित्र लगेर झण्डै एक घण्टा नियन्त्रणमा राखियो । अपराधीलाई जस्तो व्यवहार गरियो । त्यसपछि यस्तो वातावरणमा काम गर्न सकिंदैन भन्ने निष्कर्ष निकाल्यौं ।’

उनका अनुसार प्रशासनको व्यवहारपछि सरकारी चिकित्सकहरूले सामूहिक राजीनामा दिने निर्णय गरेका हुन् । ‘सबै चिकित्सकले राजीनामा दिएपछि आकस्मिक सेवा कसले सञ्चालन गर्ने ? अहिले अस्पतालको सेवा लगभग ठप्प छ’, डा. सिंहले भने ।

उनले सीडीओ र एसपी पदमा रहुञ्जेल आफूहरू काममा नफर्किने अडान दोहोर्‍याए । ‘अस्पतालभित्र चिकित्सक कुटिन्छन्, वार्तामा बोलाएर फेरि प्रशासनले नै धम्क्याउँछ भने सुरक्षित वातावरण कसरी हुन्छ ? यस्तो अवस्थामा उपचार सेवा दिन सकिंदैन’, डा. सिंह भन्छन् ।

यता नेपाल चिकित्सक संघले पनि चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र त्यसपछि प्रशासनबाट भएको व्यवहारको विरोध गर्दै मंगलबार देशभर आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ ।

संघले दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न, चिकित्सकलाई सुरक्षित कार्य वातावरण सुनिश्चित गर्न र आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ ।

गत ८ साउनमा वीरगन्जस्थित नारायणी अस्पतालमा डा. प्रमोद राममाथि कुटपिट तथा स्वास्थ्यकर्मीमाथि सांघातिक आक्रमण हुनुका साथै अस्पतालमा तोडफोड भएको थियो । अहिले डा. रामको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घटनापछि दोषीमाथि कारबाहीको माग गर्दै चिकित्सकले देशव्यापी रुपमा ओपीडी सेवा ठप्प पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?