News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका सांसद रञ्जित कर्णले सुनसरीको देवानगञ्जमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री र गृहमन्त्रीसँग राजीनामा माग गर्नुभएको छ ।
- सांसद कर्णले घटनाबारे स्वतन्त्र न्यायिक छानबिन समिति गठन गर्नुपर्ने र दमनको साटो संवादमार्फत समस्या समाधान खोज्नुपर्ने सरकारलाई आग्रह गर्नुभएको छ ।
- उनले भनेका छन्, ‘प्रहरीको गोलीबाट कोही कुनै नेपाली नागरिकको मृत्यु भयो भने यो सरकारले जिम्मा लिनुपर्छ, राज्यले जिम्मा लिनुपर्छ ।’
१५ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद रञ्जित कर्णले सुनसरीको देवानगञ्जमा भएको घटनाप्रति दु:ख व्यक्त गरेका छन् ।
शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले त्यस क्षेत्रका नागरिकसँग फोनमा कुरा गर्दा घरबाट निस्कन नसक्ने, चारैतिर गोली चलिरहेको र घाइते तथा मृत्युको खबर आइरहेको भन्ने जानकारी पाएको बताए ।
यहाँनेर उनले आफन्तसँग कुरा गरेको पनि स्मरण गरे । बिहान काकालाई फोन गरेको भन्दै उनले स्थलगत रूपमा प्राप्त जानकारी र पीडाहरू सुनाए ।
कर्णले एक महिनाअघि नै देवानगञ्जमा तनावको संकेत देखिएको भए पनि गृह मन्त्रालय, जिल्ला प्रशासन र सुरक्षा निकायले समयमै समस्या समाधानतर्फ ध्यान नदिएको आरोप लगाए ।
समयमै सरकारले संवाद नगर्दा तनाव सिर्जन भएको भनेर यसको राजनीतिक तथा नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने बताए ।
‘प्रहरीको गोलीबाट कोही कुनै नेपाली नागरिकको मृत्यु भयो भने यो सरकारले जिम्मा लिनुपर्छ, राज्यले जिम्मा लिनुपर्छ,’ उनले दोहोर्याए, ‘राज्यले नै चलाएको गोलीकोबाट कुनै नागरिकको मृत्यु भयो भने त्यसको जिम्मेवार गृहमन्त्री हुनुपर्छ त्यसको जिम्मेवार प्रधानमन्त्री हुनुपर्छ ।’
सांसद कर्णले सरकारले तत्काल यो विषयमा स्वतन्त्र न्यायिक छानबिन समिति गठन गर्नुपर्ने माग गरे । साथै दमनबाट समस्या समाधान नहुने भन्दै सर्वदलीय र सर्वपक्षीय संवादमार्फत समाधान खोज्न सरकारलाई आग्रह गरे ।
उनले अगाडि भनेका छन्, ‘अहिले पनि सरकारसँग केही लज्जा छ भने, केही मोरल जिम्मेवारी छ भने सम्माननीय प्रधानमन्त्रीजी र गृहमन्त्रीजीलाई आज राजीनामा दिएर नयाँ निकास देओस् भन्ने आग्रह गर्न चाहन्छु ।’
प्रतिक्रिया 4