News Summary
Generated by OK AI. Editorially reviewed.- कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्स दाइ) आठ हजार मिटरभन्दा अग्ला हिमालहरू ५७ पटक आरोहण गरेर विश्व कीर्तिमान कायम गर्न सफल भएका छन्।
- निर्मल पुर्जाले सन् २०१९ मा बेलायती सेनाको आकर्षक जागिर छाडेर 'प्रोजेक्ट पसिबल' अभियानमार्फत ६ महिनाभित्र १४ वटै आठ हजार मिटर अग्ला हिमाल आरोहण गरेका थिए।
- ब्रोड पिक आरोहणका क्रममा बेपत्ता भएका निम्स दाइसहितका आरोहीहरूको सकुशल उद्धारका लागि यतिखेर चौतर्फी प्रार्थना र खोजी कार्य जारी रहेको छ।
१५ साउन, काठमाडौं । म्याग्दीमा जन्मिएका निर्मल पुर्जा (निम्स दाइ) बेलायती सेनामा काम गर्थे । जबसम्म उनी गोरखा सैनिकमा सक्रिय थिए, तबसम्म उनको पहिचान अन्तर्राष्ट्रिय आरोहीका रूपमा स्थापित बनिसकेको थिएन ।
यद्यपि, उनी गोरखा सैनिकमै हुँदा आरोहण यात्रा भने थालिसकेका थिए । उनको आधिकारिक वेवसाइट निम्सदाइ डटकमका अनुसार उनले कुल १६ वर्ष सेनामा बिताए । त्यसमध्ये उनले ६ वर्ष गोरखा र १० वर्ष ‘यूके स्पेसल फोर्स’ (एसबीएस) मा बिताए ।
म्याग्दीमा जन्मिएका उनी १८ वर्षको उमेरमा सन् २००३ मा गोरखा सैनिकमा भर्ती भएका थिए । म्याग्दीमा जन्मिए पनि उनी चितवनमा हुर्किएका थिए । सोहीकारण उनको प्रारम्भिक जीवनमा भने हिमाल जोडिएको थिएन ।
पढाइमा तिक्ष्ण निम्स दाइको बाल्यकालको शोख हिमाल चढ्ने पनि थिएन । उनको अर्कै लक्ष्य थियो, आफ्ना बुबा र दाजुहरू झैं बेलायती सेनामा गोरखा भर्ती हुनु । सोही क्रममा उनले २००३ मा आफ्नो पहिलो सपना पूरा गरेका थिए ।
आफ्नो सपना पूरा गर्न जुनसुकै कदम उठाउन पछि नपर्ने निम्स दाइ २००९ मा गोरखा सैनिकबाट स्पेसल बोट सर्भिसमा आबद्ध हुने पहिलो गोरखा सैनिक बने । यस यूनिटमा मुख्यतया रोयल मरिन्स कमान्डोहरू हुन्छन् । यो युनिट गोप्य र रणनीतिक कारबाहीमा विशेष दखल राख्छ ।

उनले २०१२ देखि हिमाल आरोहण यात्रा थालेका हुन् । स्पेसल फोर्सको ड्युटीबाट छुट्टीमा आएको मौकामा उनले सगरमाथा आधार शिविरको यात्रा तय गरे । यो यात्राले उनलाई हिमालप्रतिको लगाव र महत्त्वाकांक्षा ह्वात्तै बढायो ।
सोही यात्राबाट काठमाडौं फर्किएपछि उनले आफ्ना गाइडसँग आरोहण सिक्ने इच्छा व्यक्त गरे । सोही क्रममा उनी गाइडसँगै ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे इस्ट हिमाल आरोहणमा गए र सफल भए ।
त्यो उनको हिम चुचुरातर्फको पहिलो पाइला थियो । सोही आरोहणपछि भने उनी सैन्य सेवामै फर्किए । एसबीएसमा उनी अधिक चिसो मौसमको युद्धकला सम्बन्धी विषयविज्ञको भूमिकामा पुगे ।
निम्सदाइ डटकमका अनुसार त्यही बेला उनले जुनसुकै कठिन अवस्थामा पनि शीघ्र मूल्यांकन गर्ने र अरूको सुरक्षा सुनिश्चित गर्ने क्षमता विकास गरे । यो सिप अन्तत: उनलाई कठिन आरोहण यात्रा सहजै पार लगाउन सहयोगी समेत सावित भयो । उनी सैन्य सेवामा छुट्टी पाउने बित्तिकै नेपाल फर्किएर आरोहणलाई निरन्तरता दिन थाले ।
हिमालमा उनले आरोहण गरी आफ्नो कीर्तिमान बनाउने भन्दा पनि संकटमा परेका आरोहीलाई उद्धार र सहयोगमा उनी केन्द्रित थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद तथा कीर्तिमानी आरोही मिङ्माडेभिड शेर्पा २०१९ मा निम्स दाइसँग आरोहण अभियानमा जोडिए ।
शेर्पाका अनुुसार निम्स दाइमा आँटेको काम पूरा गरिहाल्नुपर्ने दृढ क्षमता थियो, जसले उनलाई हिमालको कठिन यात्रामा समेत यति धेरै सफलता प्राप्त गर्न सहयोग गरेको हो ।
सन् २०१९ मा ६ महिनाभित्र ८ हजार मिटर अग्ला १४ हिमालचुली चुमेर कीर्तिमान बनाउन नेपाल फर्किएका निम्स दाइ बेलायती सेनाको आकर्षक जागिर छाडेर आएका थिए ।
निम्स दाइसँग जोडिएका डेभिडले सोही अभियानमा १४ वटै हिमाल आरोहण गर्ने कान्छो आरोहीको कीर्तिमान बनाउन सफल भए । २०२१ मा माउन्ट केटु निम्स दाइ र डेभिड सहित १० नेपाली आरोही टोलीले विन्टर सिजनमा पहिलो पटक आरोहण गरी विश्व कीर्तिमान बनाएको थियो ।

जुन नेपाली आरोहीले व्यक्तिगत प्रतिस्पर्धाभन्दा टिममा कति शक्ति हुन्छ भनेर देखाएको एक पछिल्लो उदाहरण थियो । त्यसयता नै निम्स दाइले सगरमाथामा पटक–पटक आरोहण गरी कीर्तिमानको झन्डा गाडिसकेका थिए । उनीसँग ५ दिनमा सगरमाथा, ल्होत्से र मकालु आरोहण कीर्तिमान समेत छ ।
निम्सदाइ डटकमका अनुसार तीव्र गतिमा हिमाल चढ्न सक्ने र उचाइमा छिट्टै घुलमिल हुन सक्ने आफ्नो अद्भुत शारीरिक क्षमता पत्ता लगाएका उनी त्यसपछि भने महत्त्वाकांक्षी परियोजनामा होमिने निर्णय गरेका हुन् ।
धेरैले असम्भव भनेका कीर्तिमान आफ्नो नाममा लेखाउने महत्त्वाकांक्षाकै बीच उनले बेलायती सेनाको जागिर छाडेर हिमालमा होमिएका थिए । निम्स दाइले कीर्तिमान बनाउनुअघि ८ हजार मिटर माथिका संसारका १४ हिमाल आरोहण गर्न ८ वर्ष लागेको रेकर्ड थियो ।
सोहीकारण उनले सो अभियानको नाम नै ‘प्रोजेक्ट पसिबल’ राखेका थिए । ७ महिनामा कीर्तिमान राख्न हिँडेका उनले शिशापाङ्मा शिखरबाट मिसन पूरा भएको घोषणा गर्दा ६ महिनाभन्दा केही बढी मात्र भएको थियो ।
गोरखा सैनिकको सगमाथा अभियान सफल बनाउन उनले खेलेको भूमिका र ८ हजार मिटरभन्दा माथिका अग्ला हिमालमा हासिल गरेको सफलताका कारण उनले बेलायती महारानी एलिजाबेथ द्वितीयबाट एमबीई सम्मान प्राप्त गरेका थिए । निम्स दाइले सगरमाथामा स्काई डाइभ गरेर साहसिक पर्यटन प्रवर्द्धन समेत गरेका थिए ।
सांसद शेर्पाका अनुसार निम्स दाइले अघिल्लो सातामात्र ८ हजार मिटरभन्दा अग्ला हिमाल ५७औं पटक आरोहण गरी नयाँ कीर्तिमान बनाएका थिए । जसमध्ये विनाअक्सिजन २९ वटा आरोहण समावेश छन् ।
अघिल्लो सातामात्र उनले पाकिस्तानको गसेरब्रम २ आरोहण गरी ५७औं आरोहण पूरा गरेका थिए । यस पटक ब्रोड पिक आरोहणको योजनामा उनी थिएनन् ।

आफ्नो ८ हजार मिटर माथिका हिमाल आरोहण रेकर्ड हेर्दा यस पटक ब्रोड पिक चढेमा चोयुबाहेक ८ हजार मिटर माथिका १४ वटै हिमाल विनाअक्सिजन दुई पटक आरोहण गर्ने विश्व कीर्तिमान उनको नाममा दर्ज हुने निश्चित थियो ।
उनी आफ्नो प्रतिस्पर्धा कहिल्यै पनि अरूसँग नभएको बताउने गर्छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटसमा आफूले १४ हिमाल आरोहण क्रममा भोगेका कठिनाइ समेत उल्लेख गरेका छन् ।
उनले यस आरोहण क्रममा प्रार्थना समेत गरेका छन् र भनेका छन्, ‘ब्रोड पिक, म सुरक्षित आरोहण गर्ने र फर्कने बाटोबाहेक अरू केही माग्दिनँ ।’
हामी पनि भगवानसँग यही प्रार्थना गर्छाैं- ‘निम्स दाइसहित ब्रोड पिकमा बेपत्ता आरोही सकुशल फिर्ता होउन् ।’

प्रतिक्रिया 4