News Summary
Generated by OK AI. Editorially reviewed.- संघीय संसद् भवन निर्माणको म्याद सातौं पटक ६ महिनाका लागि थप्ने प्रस्ताव शहरी विकास तथा भवन निर्माण विभागले अगाडि बढाएको छ।
- छैटौं पटक थपिएको म्याद जेठ महिनामा नै समाप्त भएपछि निर्माण व्यवसायीले दिएको निवेदनका आधारमा यो प्रक्रिया सुरु गरिएको हो।
- १६ असोज २०७९ मा नै सम्पन्न हुनुपर्ने संसद् भवनको भौतिक प्रगति हालसम्म ९५ प्रतिशत पुगेको विभागले जनाएको छ।
१७ साउन, काठमाडौं । संघीय संसद् भवन निर्माणको म्याद सातौं पटक थप्ने तयारी भएको छ ।
छैटौं पटक थपिएको म्याद सकिएको छ । सिभिल वर्कका लागि थपिएको म्याद जेठ ९ गते र इन्टेरियरको जेठ १५ गते म्याद सकिएको हो । लगत्तै निर्माण व्यवसायीले निवेदन दिए । त्यसआधारमा शहरी विकास तथा भवन निर्माण विभागले समग्रमा ६ महिना म्याद थप्ने प्रस्ताव अगाडि बढाएको हो ।
चौथो पटक थपिएको म्याद अनुसार २०८१ चैत १८ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने थियो । उक्त समयभित्र काम नसकिएपछि २०८२ पुस १६ सम्मका लागि पाँचौं म्याद थपिएको थियो ।
फेरि पनि काम सकिएन र छैटौं पटक ९० दिन म्याद गरिएको थियो । छैटौं पटक थपिएको म्याद जेठमै सकिएको हो ।
अब अर्को ६ महिना म्याद थप्ने गरी शहरी विकास तथा भवन निर्माण विभागले प्रस्ताव अगाडि बढाएको हो ।
सुरुको सम्झौताअनुसार काम हुन सकेको भए संसद् भवनको निर्माण १६ असोज २०७९ सालमै सकिने थियो । २०७९ सालको चुनावबाट आउने प्रतिनिधिसभाको बैठक राख्ने लक्ष्यसहित १६ असोज २०७६ मा संसद् भवन निर्माणको ठेक्का सम्झौता भएको थियो ।
नयाँ संसद् भवनको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले १ असोज २०७६ मा गरेका थिए । त्यसको १६ दिनपछि ठेकेदारसँग ६ अर्ब ९२ करोड रुपैयाँमा सम्झौता भएको थियो । सम्झौताअनुसार काम नसकिएपछि पहिलो पटक ३० चैत २०७९ सम्म म्याद थपिएको थियो । सम्झौता अनुसार काम भएन ।
१ वैशाख २०८० बाट १९ चैत २०८० सम्म समय काम सक्ने गरी दोस्रो पटक म्याद थप भयो । फेरि पनि प्रगति भएन । २९ असोज २०८० देखि १९ चैत २०८० सम्म काम सक्नेगरी तेस्रो पटक म्याद थप भयो ।
फेरि पनि काम नसकिएपछि चौथो पटक १८ चैत २०८१ सम्मका लागि म्याद थपिएको थियो ।
म्याद थप गर्दै जाने काम हुँदै गर्ने प्रवृत्ति छ । शहरी विकास तथा भवन निर्माण विभागका अनुसार संसद् भवन निर्माणको भौत्तिक प्रगति ९५ प्रतिशत छ ।
प्रतिक्रिया 4