+
+
Shares

उच्च आर्थिक वृद्धिका लागि नीतिगत हस्तक्षेप र लगानी विस्तार दुवै आवश्यक : डा. गुणाकर भट्ट

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २४ गते १५:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले नेपालको उच्च आर्थिक वृद्धिका लागि नीतिगत हस्तक्षेप र लगानी विस्तार दुवैलाई सँगसँगै लैजानुपर्नेमा जोड दिनुभएको छ ।
  • उहाँले भन्नुभयो, 'अब आजको आवश्यकता के हो त भन्दा नीतिगत हस्तक्षेप र लगानी दुईटैलाई सँगसँगै लानुपर्नेछ ।'
  • डा. भट्टले नेपालको उत्पादकत्व बढाउन पूँजी निर्माण, दक्ष जनशक्ति उत्पादन, प्रविधिको प्रयोग र संस्थागत सुधार गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

२४ साउन, काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले नेपालमा उच्च आर्थिक वृद्धि हासिल गर्न नीतिगत हस्तक्षेप र लगानी विस्तारलाई सँगसँगै लैजानुपर्ने बताएका छन् ।

आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले नीतिगत हस्तक्षेप र लगानी विस्तारका कारण विगतमा उच्च आर्थिक वृद्धिदर भएको बताएका हुन् ।

नेपालको दीर्घकालीन आर्थिक वृद्धिदर औसतमा करिब ४ प्रतिशत रहेको उल्लेख गर्दै उनले नीतिगत हस्तक्षेप र लगानी विस्तारका कारण केही वर्षमा ७ प्रतिशतसम्म आर्थिक वृद्धि हासिल भएको बताए ।

उनले अहिले पनि लगानी विस्तार, नीतिगत हस्तक्षेप र पोलिसी रिफर्म गर्न आवश्यक रहेको उल्लेख गरे ।

उनकाअनुसार नेपालमा आर्थिक वृद्धिको आधार विस्तार गर्न पूँजी वृद्धि, दक्ष श्रमशक्ति निर्माण र प्रविधिमा लगानी आवश्यक छ । डिजिटलाइजेसन र आर्टिफिसियल इन्टेलिजेन्सबाट प्राप्त हुने अवसरको अधिकतम उपयोग गर्नुपर्नेमा पनि उनले जोड दिए ।

भट्टले नेपालको कुल कारक उत्पादकत्व (टोटल फ्याक्टर प्रोडक्टिभिटी) करिब ०.२ प्रतिशत मात्रै रहेको उल्लेख गर्दै हालको आर्थिक वृद्धिको मुख्य आधार पूँजी र श्रमशक्ति रहेको बताए।

उनकाअनुसार हाल नेपालमा उत्पादन वृद्धि गर्न सकिएको छैन । उनले मानव पूँजी निर्माणमा पनि केही चुनौती देखिएको बताए ।

बढ्दो वैदेशिक पलायन र न्यून जनसंख्या वृद्धिदरका कारण मानव पूँजीमा समस्या देखिएको बताए ।

उनले आर्थिक वृद्धिका लागि पूँजी निर्माण पनि बढाउनुपर्नेमा जोड दिए ।

उनकाअनुसार नेपालको फिक्स्ड क्यापिटल फर्मेसन कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब२६ प्रतिशतमा पुगेको छ । यसअघि लगातार तीन वर्ष यो अनुपात करिब २४ प्रतिशतमा सीमित रहेको उनले जानकारी दिए ।

भूकम्पपछिको पुनर्निर्माणमा लगानी बढेका बेला नेपालले लगातार तीन वर्ष करिब ७ प्रतिशत आर्थिक वृद्धि हासिल गरेको र त्यस समयमा कुल गार्हस्थ्य उत्पादनको करिब ३० प्रतिशतसम्म पूँजी निर्माण भएको उनको भनाइ छ ।

आर्थिक वृद्धिका लागि शिक्षा, स्वास्थ्य र सीप विकासमा लगानी गर्दै देशभित्रै दक्ष जनशक्ति टिकाउनुपर्नेमा उनले जोड दिए । त्यससँगै पूँजी लगानी र प्रविधिको प्रयोग बढाउनुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘सुशासन र समृद्धि एक अर्काका परिपूरक हुन् । हाम्रो उच्च आर्थिक वृद्धिका लागि तीनवटा कुरा महत्वपूर्ण हुन्छन् । औसतमा हाम्रो आर्थिक वृद्धि ४ प्रतिशत छ । कतिपय वर्षहरुमा हामीले ७ प्रतिशत आर्थिक वृद्धि हासिल गरिरहेका छौँ । तर त्यो ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्नुका पछाडि कतिपय अवस्थामा नीतिगत हस्तक्षेप छन् । कतिपय अवस्थामा हामीले लगानी बढाएका छौँ । अब आजको आवश्यकता के हो त भन्दा नीतिगत हस्तक्षेप र लगानी दुईटैलाई सँगसँगै लानुपर्नेछ । लगानी पनि बढाउनुपर्नेछ, नीतिगत हस्तक्षेप पोलिसी रिफर्म पनि गर्नुपर्नेछ ।’

उनले उत्पादकत्व केवल प्रविधि वा पूँजीसँग मात्र सम्बन्धित नभई काम गर्ने तरिका, कार्यसंस्कृति, शिक्षा र संस्थागत संरचनासँग समेत जोडिएको बताए ।

राम्रो नीति र बलियो संस्थाले देशको उत्पादकत्व तथा प्रतिव्यक्ति आय बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै उनले प्रभावकारी नीति र बलियो संस्थागत संरचना निर्माणमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?