+
+
Shares

ओलीले गभर्नरमा रोकेका भट्टलाई बालेनले बनाइदिए योजना आयोग उपाध्यक्ष

सत्तापलटपछि भएको निर्वाचनमा बालेनले ओलीलाई नै पराजित गरे र बलियो बहुमतको सरकार बनाएपछि डा. भट्ट राष्ट्रिय योजना आयोगका उपाध्यक्ष नियुक्त भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २४ गते १८:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले डा. गुणाकर भट्टलाई राष्ट्र बैंक गभर्नर बन्न नदिए पनि अहिले उनी योजना आयोगका उपाध्यक्ष नियुक्त भएका छन्।
  • डा. भट्टले राष्ट्र बैंकमा कार्यकारी निर्देशक, कर्जा सूचना केन्द्र अध्यक्ष र धितोपत्र बोर्ड सञ्चालक भएर काम गरेका थिए र गत कात्तिकमा अवकाश पाएका थिए।
  • योजना आयोग उपाध्यक्ष भट्टले विकास प्रशासन सुधार गर्दै प्राथमिकताका आधारमा योजना छनोट र प्रभावकारी अनुगमन गर्नुपर्ने चुनौती सामना गर्नुपर्ने छ।

२४ चैत, काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नरोकेको भए डा. गुणाकर भट्ट अहिले नेपाल राष्ट्र बैंकको गभर्नरका रूपमा काम गरिरहेका हुन्थे ।

तत्कालीन एमाले–कांग्रेस गठबन्धन सरकारका पालामा कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाले भट्टलाई गभर्नर बनाउन सिफारिस गरेका थिए ।

तर, सत्तापलटपछि भएको निर्वाचनमा बालेन्द्र (बालेन) शाहले केपी शर्मा ओलीलाई नै पराजित गरे र बलियो बहुमतको सरकार बनाएपछि डा. भट्ट राष्ट्रिय योजना आयोगका उपाध्यक्ष नियुक्त भएका छन् ।

तत्कालीन प्रधानमन्त्री ओलीले भट्टलाई कुनै हालतमा गभर्नर नबनाउने रणनीति लिएका थिए । त्यसबेला राष्ट्र बैंक कार्यकारी निर्देशक रहेका उनलाई गभर्नर बन्न नदिन ओलीले सुरुमा कार्यकारी निर्देशकलाई गभर्नरमा सिफारिस नै गर्न नमिल्ने तर्क गरेका थिए ।

सत्ता साझेदार दलहरूबीच उनलाई गभर्नर बनाउने सहमति समेत जुटेको भन्दै देउवाले नै भनेपछि डा. भट्टले कार्यकारी निर्देशकबाट राजीनामा दिए । तर, तत्कालीन कार्यवाहक गभर्नर डा. निलम तिम्सिना ढुंगानाले उनको राजीनामा स्वीकृत नै गरिदिइनन् ।

ओलीकै चाहनामा राजीनामा स्वीकृत नगरी उक्त विषयलाई विवादित बनाइएको थियो । त्यसपछि देउवाले गभर्नर सिफारिस समितिमा रहेका डा. विश्वनाथ पौडेललाई गभर्नर बनाउन सिफारिस गरे । सिफारिस समितिबाट राजीनामा दिएपछि बनेको अर्को सिफारिस समितिले डा. पौडेल सहितको नाम सिफारिस गर्‍यो र पौडेल गभर्नर बने ।

पछि गभर्नर डा. पौडेलले भट्टको राजीनामा अस्वीकृत गरेसँगै भट्ट पुन: राष्ट्र बैंक फिर्ता भएका थिए । भट्टले गत कात्तिकमा अनिवार्य अवकाश पाएका थिए ।

राष्ट्र बैंकमा रहँदा उनले कर्जा सूचना केन्द्र अध्यक्ष, धितोपत्र बोर्ड सञ्चालक तथा ग्रामीण विकास बैंक सञ्चालक भएर काम गरेका थिए ।

योजना आयोग उपाध्यक्ष नेपाल सरकार तथा प्रधानमन्त्रीको मुख्य आर्थिक सल्लाहकार पनि हो । सरकारका योजना निर्माण, अनुगमन र मूल्यांकनसम्मका काम यो निकायबाट हुने गर्छन् ।

भट्टले वेन स्टेट युनिभर्सिटी अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । उनले ‘फाइनान्सियल डेभलपमेन्ट एन्ड हेल्थ क्यापिटल एकुमुलेसन’ शीर्षकमा सन् २०१३ मा विद्यावारिधिको अनुसन्धान सम्पन्न गरेका थिए ।

उनले अमेरिकाको मासाच्युसेट्सको विलियम्स कलेजबाट स्नातकोत्तर गरेका थिए । त्रिभुवन विश्वविद्यालयमा समेत उनले अर्थशास्त्रमा सर्वोत्कृष्ट अंक हासिल गरी स्वर्ण पदक हासिल गरेका थिए ।

उनी अर्थशास्त्र, वित्त र विकासमा केन्द्रित रही अनुसन्धानात्मक लेखसमेत प्रकाशन गर्दै आइरहेका छन् । विगतमा राजस्व परामर्श समितिमा रहेर काम गरेको अनुभव समेत उनीसँग छ । साथै, डा. प्रकाशशरण महत अर्थमन्त्री हुँदा उनी मन्त्रालयको अवैतनिक प्रमुख आर्थिक सल्लाहकारको भूमिकामा रहेर काम गरेका छन् । उनको जन्म डोटीमा भएको हो ।

राष्ट्र बैंक अनुसन्धान विभाग, नियमन विभाग लगायत महत्त्वपूर्ण विभागमा रहेर काम गरेका डा. भट्ट नेपालका एक प्रतिष्ठित अर्थशास्त्री मानिन्छन् । योजना आयोगमा काम गर्दैगर्दा भट्टसामु लथालिङ्ग विकास प्रशासन सम्हाल्नुपर्ने चुनौती छ ।

खासगरी विनियोजनमा रहेका विकृति रोक्दै प्राथमिकताका आधारमा योजना छनोट, कार्यान्वयनमा संरचनागत समस्या र प्रभावकारी अनुगमन तथा मूल्यांकन अभावले अहिले आयोजना/कार्यक्रम भद्रगोल अवस्थामा छन् ।

सरकारले लिएका तत्कालीन, मध्यमकालीन, आवधिक र दीर्घकालीन योजनाहरु समेत अलपत्र जस्तै अवस्थामा छन् । नयाँ जनमत, बलियो र स्थायी सरकारको योजना आयोगको नेतृत्व सम्हाल्दै गर्दा भट्टसामु विकास प्रशासनको गति ‘लिक’ मा ल्याएर गति दिनु मुख्य दायित्व हुनेछ ।

सरकारले अहिले १६औं आवधिक योजना कार्यान्वयन गरिरहेको छ । एकातर्फ विकास र समृद्धिको विशाल आकांक्षा जनताको छ । अर्कातर्फ स्रोत अभाव, वाह्य चुनौती र अन्तर निकाय समन्वय अभावबीच उनको असली परीक्षा आगामी बजेटबाटै सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?