News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको भृकुटीमण्डपमा आजदेखि दोस्रो संस्करणको ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ सुरु भएको छ ।
- एक्स्पोमा ५३ ब्रान्ड र ५१ स्टल रहेका छन् भने ४० भन्दा बढी नयाँ सवारीका मोडल सार्वजनिक गरिएको छ ।
- विद्युतीय सवारीको बढ्दो उपस्थितिले नेपाली अटोमोबाइल बजारमा नयाँ प्रतिस्पर्धाको संकेत गरेको छ ।
२६ साउन, काठमाडौं । दोस्रो संस्करणको ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको एक्स्पोमा ५३ ब्रान्ड, ५१ स्टल र ४० नयाँ सवारी सार्वजनिक हुने आयोजकले जनाएको छ ।
एक्स्पोमा दुईपांग्रे, चारपांग्रे, कमर्सियल भेहिकल, विद्युतीय तथा हाइब्रिड सवारी, मोबिलिटी प्रविधि र सेवाहरू प्रदर्शनमा छन् । गत वर्षको पहिलो संस्करणभन्दा ठूलो सहभागितासहित सुरु भएको यो एक्स्पोले नेपाली अटोमोबाइल बजारमा भइरहेको परिवर्तनलाई समेत प्रतिविम्बित गरेको छ ।
विशेषगरी चारपांग्रे बजारमा विद्युतीय सवारीको बढ्दो उपस्थितिले एक्स्पोलाई ‘ईभी केन्द्रित’ बनाएको छ । त्यसमाथि ४० भन्दा बढी नयाँ मोडलमध्ये ठूलो हिस्सा नयाँ इलेक्ट्रिक कार, एसयूभी र ह्याचब्याकको छ । यसले आगामी दिनमा नेपाली बजारमा पेट्रोल–डिजेलका परम्परागत मोडलभन्दा ईभीको प्रतिस्पर्धा अझ तीव्र हुने संकेत गरेको छ ।

२० लाखदेखि करोडमाथिसम्मका गाडी
यसपटकको एक्स्पोको एउटा महत्वपूर्ण पक्ष भनेको एउटै बजारमा फरक–फरक मूल्य र सेग्मेन्टका नयाँ विद्युतीय गाडीको प्रवेश हो । कम मूल्यका साना ईभीदेखि प्रिमियम एसयूभीसम्मका नयाँ मोडल नेपाली बजारमा आउँदैछन् । एक्स्पोमा नयाँ यात्रुबाहक गाडी समेत सार्वजनिक हुनेछन् ।
कम मूल्यको ईभी सेग्मेन्टमा प्रोटोन ई.मास ५, आर्कफक्स टी–१ र विलिङ मिनी ईभी फोर–डोरजस्ता मोडलले ध्यान तानेका छन् । यीमध्ये केही मोडलको मूल्य ४० लाख रुपैयाँभन्दा कम राख्ने तयारी गरिएको छ ।
प्रोटोन ई.मास ५ को कम्पनीले प्राइम भेरियन्टको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ । तर, पहिलो १०० ग्राहकका लागि विशेष अफर स्वरूप २९ लाख ९९ हजार रुपैयाँमै उपलब्ध गराइने कम्पनीले जनाएको छ । त्यसैगरी प्रिमियम भेरियन्टको मूल्य ३६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ भने पहिलो १०० ग्राहकलाई यो ३४ लाख ९९ हजार रुपैयाँमा राखिएको छ ।
त्यस्तै एक्स्पोमा राखिएको बीजे–३० ई एसयूभीको मूल्य १ करोड १९ लाख ९६ हजार कायम गरिएको छ । लक्ष्मी मोटर हबले नेपाल ल्याएको हाइब्रिड एसयूभी बीजे–३०ई अफरोड एसयूभीमा म्याजिक कोर हाइब्रिड इन्जिन प्रयोग भएको छ ।
नेपाली बजारमा यसअघि पनि टाटा टियागो ईभी, एमजी कमेट, बीवाईडी डल्फिनलगायत साना तथा कम्प्याक्ट ईभीको उपस्थितिले बजार बनाइसकेको छ । त्यसका साथै प्रोटोन, आर्कफक्स, विलिङ, चेरीजस्ता ब्रान्ड थपिएका छन् । जसले गर्दा ईभी बजारमा प्रतिस्पर्धा थपिएको छ ।
यस्तो प्रतिस्पर्धाले उपभोक्तालाई विकल्प थप्ने मात्र होइन, कम्पनीहरूलाई मूल्य, ब्याट्री क्षमता, रेन्ज, चार्जिङ स्पिड र फिचरमा प्रतिस्पर्धा गर्न बाध्य बनाउनेछ ।

एसयूभीमै सबैभन्दा ठूलो दौड
नेपालमा पछिल्लो समय एसयूभीप्रतिको आकर्षण उच्च छ । त्यसैले नयाँ मोडल ल्याउने कम्पनीहरूको प्राथमिकतामा पनि एसयूभी देखिन्छ । एक्स्पोमा लिपमोटर बी ०३, बीएआईसी बीजे–३० ई, चाङआन नेभो क्यू ०५, चेरि क्यू, ओमोडा ओ ४ लगायतका नयाँ मोडल भित्रिएका छन् ।
त्यस्तै बीएआईसीको बीजे–३० ई हाइब्रिड एसयूभी नाइमा एक्स्पोमा सार्वजनिक भएको छ । यसको ग्राउन्ड क्लियरेन्स २१५ एमएम रहेको छ भने १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र १४.६ इन्चको इन्फोटेनमेन्ट डिस्प्ले लगायतका फिचर छन् । यसले नेपालमा ईभीसँगै हाइब्रिड एसयूभीको बजार पनि समाप्त नभएको देखाउँछ ।

महँगो बजारमा पनि नयाँ प्रतिस्पर्धी
ईभीको प्रतिस्पर्धा सस्तो सेग्मेन्टमा मात्र सीमित छैन । प्रिमियम र लक्जरी सेग्मेन्टमा पनि नयाँ ब्रान्ड तथा मोडल थपिँदैछन् ।
हुन्डाईको आयोनिक ९ जस्ता प्रिमियम इलेक्ट्रिक एसयूभीदेखि विलिङको सात सिटे एक्सियन ईभीसम्मका मोडलले माथिल्लो सेग्मेन्टमा पनि विकल्प थप्दैछन् । विलिङ एक्सियन ईभीमा ६९.२ किलोवाट आवरको ब्याट्री र ५३० किलोमिटरसम्मको दाबी गरिएको रेन्ज रहेको कम्पनीले जनाएको छ । यसले नेपालमा ईभी बजार अब ‘सस्तो गाडी’ को मात्र नरहेको देखाउँछ । साना सहरमुखी कारदेखि परिवारका लागि ठूलो एसयूभी र प्रिमियम कारसम्म ईभीको विस्तार भइरहेको छ ।
नाइमा एक्स्पोको दृश्यले नेपालमा पेट्रोल तथा डिजेल गाडीको बजार तत्काल सकिने देखाउँदैन । एक्स्पोमै आईसीई अर्थात् पेट्रोल–डिजेल, हाइब्रिड र इलेक्ट्रिक सबै प्रविधिका सवारीलाई स्थान दिइएको छ ।
टोयोटाले एक्स्पोका अवसरमा दुई नयाँ मोडल सार्वजनिक गर्ने तयारी गर्नु र गाडीमा ३ लाखदेखि २१ लाख रुपैयाँसम्मको छुट घोषणा गर्नुले परम्परागत तथा हाइब्रिड गाडीका लागि पनि बजार रहेको देखाउँछ ।
तर प्रतिस्पर्धाको केन्द्र भने विस्तारै परिवर्तन हुँदैछ । केही वर्षअघिसम्म नेपालमा नयाँ कार भन्नासाथ पेट्रोल वा डिजेल मोडलको चर्चा बढी हुन्थ्यो । अहिले एउटै मूल्यमा कुन ईभी राम्रो, कुनको ब्याट्री ठूलो, कुनको रेन्ज धेरै र कुनको चार्जिङ छिटो भन्ने प्रश्न उपभोक्ताको प्राथमिकतामा आउन थालेको छ ।
दुईपांग्रेमा पनि ईभीको विस्तार
चारपांग्रे मात्र होइन, दुईपांग्रे बजारमा पनि विद्युतीय सवारीको उपस्थिति विस्तार भइरहेको छ । नाइमा एक्स्पोमा बजाज, होन्डा, टीभीएस, केटीएम, रोयल इन्फिल्ड, एथर, सुजुकी, याडिया, एनआईयू, अल्ट्राभायोलेट, सीएफमोटो, ट्रायम्फलगायतका ब्रान्ड सहभागी छन् ।
यसमा परम्परागत पेट्रोल मोटरसाइकल तथा स्कुटरसँगै विद्युतीय स्कुटर र मोटरसाइकलका ब्रान्डसमेत ठूलो संख्यामा छन् । बजाज, एथर, याडिया, एनआईयू, अल्ट्राभायोलेटजस्ता ब्रान्डले दुईपांग्रे ईभी बजारमा आफ्नो उपस्थिति विस्तार गरिरहेका छन् । यसले दुईपांग्रे बजारमा पनि ‘पेट्रोल कि इलेक्ट्रिक ?’ भन्ने प्रतिस्पर्धा बलियो बन्दै गएको देखाउँछ ।

ब्रान्ड थपिए, उपभोक्ताको रोजाइ पनि बढ्यो
नाइमा एक्स्पोमा टाटा, आर्कफक्स, बीएआईसी, बीवाईडी, सिट्रोन, डेन्जा, फोर्थिङ, ग्रेटवाल मोटर्स, एमजी, निसान, हुन्डाई, महिन्द्रा, आइकार, ओमोडा/जेको, प्रोटोन, किया, लिपमोटर, टोयोटा, विलिङ, जिकरलगायतका ब्रान्ड सहभागी छन् ।
दुईपांग्रेमा पनि एथर, बजाज, सीएफमोटो, जिहो, ग्यारो, होन्डा, केरेन, केटीएम, मोर्बिडेली, एनआईयू, प्यूजो, रोयल इन्फिल्ड, सुजुकी, ट्रायम्फ, टीभीएस, अल्ट्राभायोलेट, याडियालगायतका ब्रान्ड सहभागी छन् ।
यसरी हेर्दा नेपाली अटो बजारमा ब्रान्डको संख्या मात्र बढेको छैन, एउटै सेग्मेन्टमा प्रतिस्पर्धा गर्ने कम्पनीको संख्या पनि बढेको छ । तर उपभोक्ताको रोजाइमा मूल्य मात्रै निर्णायक हुनेछैन ।
नयाँ गाडीको संख्या बढ्दै जाँदा उपभोक्ताका लागि विकल्प बढेको छ । तर बजारमा कुन ब्रान्ड टिक्छ भन्ने कुरा बिक्री संख्याले मात्र निर्धारण गर्ने छैन ।
विशेषगरी ईभीको हकमा ब्याट्रीको आयु, वारेन्टी, चार्जिङ नेटवर्क, बिक्रीपछिको सेवा, स्पेयर पार्ट्सको उपलब्धता, पुनःबिक्री मूल्य र ब्याट्री व्यवस्थापनजस्ता विषय महत्वपूर्ण बन्नेछन् ।
ईभी आयातअघि ब्याट्री व्यवस्थापनको सम्झौता अनिवार्य रहेको र प्रयोगपछि ब्याट्री व्यवस्थापन तथा रिसाइकलिङको व्यवस्था हुनुपर्ने विषय अहिले उद्योगमा बहसको विषयसमेत बनेको छ ।
प्रतिक्रिया 4