+
+
Shares

आर्थिक वर्षको पहिलो महिना : समग्र बजेट खर्च घट्यो, पूँजीगत खर्चमा सामान्य सुधार

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १ गते १२:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चालु आर्थिक वर्षको पहिलो महिनामा सरकारी बजेट खर्च घटेर ४१ अर्ब ८८ करोड ५८ लाख रुपैयाँमा सीमित भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
  • सरकारले साउन महिनामा लक्ष्यको ०.३१ प्रतिशत अर्थात् १ अर्ब ३२ करोड ८५ लाख रुपैयाँ मात्र पूँजीगत खर्च गरेको छ ।
  • गत वर्षको तुलनामा यस वर्षको साउन महिनामा राजस्व संकलन वृद्धि भई ९२ अर्ब २२ करोड रुपैयाँ पुगेको छ ।

१ भदौ, काठमाडौं । वर्तमान सरकारले ल्याएको चालु आर्थिक वर्ष २०८३/८४ को प्रथम महिनामा समग्र बजेट खर्च घटेको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार साउन मसान्तसम्म सरकारले ४१ अर्ब ८८ करोड ५८ लाख रुपैयाँ बराबर बजेट खर्च गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा कम हो । गत आवको साउनमा ४६ अर्ब ३० करोड रुपैयाँ बराबर बजेट खर्च भएको थियो । यस वर्ष साउनमा कुल बजेट खर्च लक्ष्यको १.६८ प्रतिशत बराबर भएको छ । गत आवमा २.३६ प्रतिशत प्रगति थियो ।

गत आवको पहिलो महिनामा बजेट खर्चको आंकडा बढाउन वित्तीय व्यवस्थामा भएको खर्चको भूमिका बढी थियो । जुन साउनमा २७ अर्ब १० करोड रुपैयाँ खर्च भएको थियो । यस वर्ष वित्तीय व्यवस्थामा १९ अर्ब १५ करोड रुपैयाँ खर्च भएको छ ।

यो रकम सामान्यतया सार्वजनिक ऋणको साँवा भुक्तानीमा खर्च हुन्छ । यस वर्ष सरकारले कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस बजेटको अर्धवार्षिक समीक्षा प्रगति गर्दा खर्च संशोधन गर्न नपर्ने दावी गर्दै आएका छन् ।

पूँजीगत बजेट खर्च सामान्य वृद्धि

पहिलो महिनाको पूँजीगत खर्च अघिल्लो वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ । कुल ४ खर्ब २१ अर्ब १० करोड पूँजीगत बजेट छुट्याएको सरकारले साउनमा १ अर्ब ३२ करोड ८५ लाख अर्थातः लक्ष्यको ०.३१ प्रतिशत मात्र खर्च गर्न सकेको छ ।

अघिल्लो वर्ष साउनमा ७२ करोड ६३ लाख रुपैयाँ मात्र विकास खर्च भएको थियो । जुन लक्ष्यको ०.१८ प्रतिशत मात्र थियो । पूँजीगत खर्चको प्रवृत्ति केलाउँदा भने सुरुवाती महिनाबाटै विकास निर्माणका कामलाई गति दिनुपर्नेमा सो अनुसार नभएको अवस्था दोहोरिएको देखिन्छ ।

१५ जेठमा बजेट आउनुको मतलव अघिल्लो आवको ४५ दिनकै अवधिमा आयोजना/कार्यक्रमको पूर्वतयारीका काम सम्पन्न गरी १ साउनबाट कार्यान्वयनमा लैजानु थियो । तर, नेपालमा भने १५ जेठमा बजेट आए पछि साउन सुरु नभई नयाँ बजेट कार्यान्वयनको पूर्वतयारीका कामले गति लिँदैनन् । जसले गर्दा लक्ष्य अनुसार बजेट खर्च हुँदैन ।

पहिलो महिनामा चालु खर्च २१ अर्ब ४० करोड रुपैयाँ बराबर भएको छ । जुन लक्ष्यको १.६८ प्रतिशत हो । यस वर्ष १२ खर्ब ७० अर्ब रुपैयाँ बराबर चालु खर्च गर्ने लक्ष्य राखिएको छ ।

राजस्व संकलन वृद्धि

गत वर्षको तुलनामा साउनमा राजस्व संकलन केही बढेको छ । यस वर्ष ९२ अर्ब २२ करोड रुपैयाँ राजस्व उठेको छ । गत वर्ष साउनमा ८४ अर्ब ४६ करोड रुपैयाँ राजस्व साउनमा उठेको थियो । यस वर्ष लक्ष्यको ५.८४ प्रतिशत राजस्व पहिलो महिनामा उठेको छ । गत वर्ष ५.७१ प्रतिशत राजस्व उठेको थियो ।

यस वर्ष सरकारले १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ । यस वर्ष पहिलो महिनामा अनुदान २४ करोड ३ लाख प्राप्त भएको छ । साउनमा सरकारको कुल आम्दानी ९३ अर्ब ४३ करोड रुपैयाँ बराबर भएको छ । जुन लक्ष्यको ५.६९ प्रतिशत बराबर हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?