१ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले सर्पदंशको उपचारबारे ठोस कार्ययोजना ल्याउन आग्रह गरेकी छन् । सोमबार प्रतिनिधिसभामा शून्य समयमा बोल्दै उनले यस्तो आग्रह गरेकी हुन् ।
उनका अनुसार केहि दिन अगाडी मात्र बुद्धशान्तिका एक र अर्जुनधाराका एक जनाले सर्पको टोकाइबाट ज्यान गुमाएका छन् । केवल एन्टिभेनम उपलब्ध गराएर मात्र सर्पदंशको उपचार पूरा नहुने उनले बताइन् ।
गम्भीर बिरामीका लागि शर्पदंश उपचार केन्द्रमै आकस्मिक सेवा, पर्याप्त बेड, दक्ष जनशक्ति र भेन्टिलेटर जस्ता जीवनरक्षा उपकरण अनिवार्य चाहिने उनले बताइन् ।
उनका अनुसार सरकारी तथ्यांक अनुसार २०१६ देखि २०२६ सम्म नेपालमा सर्पदंशका १ हजार ६७८ घटना दर्ता भएका छन् । जसमा ३०१ जनाको मृत्यु भएको छ । पछिल्लो तथ्यांकअनुसार १४ अप्रिलदेखि ४ अगस्टसम्म मात्रै सर्पदंशका कारण ५७ जनाको मृत्यु भएको छ ।
त्यसैले देशभरका सर्पदंश उपचार केन्द्रहरूमा एन्टिभेनम वितरण मात्र होइन, क्षमता मूल्यांकन गर्न आवश्यक रहेको उनले बताइन् ।
‘आवश्यक पूर्वाधार, उपकरण एवं विशेषज्ञ जनशक्ति सुनिश्चित गर्ने ठोस कार्ययोजना तुरुन्त अघि बढाउन सरकारको ध्यानाकर्षण गराउन चाहन्छु’ उनले भनिन् ।
प्रतिक्रिया 4