+
+
Shares

भारतसँगको सैन्य कूटनीति र भूराजनीतिसँग जोडिन्छ मानार्थ प्रधानसेनापति प्रचलन

यस किसिमको उच्चपदस्थ सैनिक अधिकारीहरूको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ विस्तार एंव प्रगाढ बनाउन थप मद्दत पुग्ने नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेत बताउँछन् ।

नारायण अधिकारी नारायण अधिकारी
२०८३ भदौ १ गते २२:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतका स्थल सेनाध्यक्ष धीरज सेठ पाँच सदस्यीय टोलीसहित चार दिने औपचारिक भ्रमणका लागि आइतबार काठमाडौं आइपुगेका छन् ।
  • राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा भारतीय सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथी दर्जाबाट सुशोभित गरेका छन् ।
  • भारतीय सेनाध्यक्ष सेठले जंगी अड्डामा प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरी सैनिक तथा स्वास्थ्य सामग्री नेपाली सेनालाई हस्तान्तरण गरेका छन् ।

१ भदौ, काठमाडौं । भारतका स्थल सेनाध्यक्ष धीरज सेठ पाँच सदस्यीय टोलीसहित आइतबार काठमाडौं ओर्लिए ।

प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणमा काठमाडौं आएका सेठको टोलीलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका बलाधिकृत रथी प्रदीपजंग केसीसहितको टोली पुगेको थियो ।

चार दिने नेपाल भ्रमणका लागि सेठ आज सोमबार दिनभर व्यस्त रहे । बिहान सैनिक मञ्च टुँडिखेलमा वीर स्मारकमा पुष्पगुच्छा चढाए । टुँडिखेलको कार्यक्रम सकिएपछि सैनिक मुख्यालय जंगी अड्डामा भारतीय सेनाध्यक्ष सेठलाई सम्मान तथा गारद ग्रहण गरेका थिए ।

त्यसपछि भारतीय सेनाध्यक्ष सेठ र नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलबीच शिष्टाचार भेटवार्ता भएको सैनिक मुख्यालय जंगी अड्डाले बताएको छ । भेटका क्रममा आपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक मुख्यालयले बताएको छ ।

यो भेटवार्तापछि सैनिक मुख्यालय जंगी अड्डामा सेठले वृक्षरोपण गरेका थिए । त्यसपछि जंगी अड्डामै अर्को कार्यक्रम तय भयो । जहाँ भारतीय सेनाध्यक्ष सेठले सैनिक सामग्री र स्वास्थ्य सामग्री नेपाली सेनालाई हस्तान्तरण गरेका थिए । तर उक्त सामाग्रीहरूको परिमाणबारे जंगी अड्डाले केही खुलाएको छैन ।

यसअघिका भ्रमणमा पनि यस्ता सामग्री हस्तान्तरण हुँदै आएको छ । जंगी अड्डाको सोमबारको कार्यक्रम सकेर पूर्वनिर्धारित कार्यक्रम अनुसार सेठ राष्ट्रपति कार्यालय शीतल निवास पुगेका थिए । जहाँ राष्ट्रपति रामचन्द्र पौडेलले सेठलाई नेपाली सेनाको मानार्थ महारथीबाट सुभोभित गरे ।

यस किसिमको उच्चपदस्थ सैनिक अधिकारीहरूको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ विस्तार एंव प्रगाढ बनाउन थप मद्दत पुग्ने नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेत बताउँछन् ।

आज दिनभर व्यस्त रहेका सेठले शिवपुरीस्थित नेपाली सेनाको कमान्ड तथा स्टाफ कलेजमा सम्बोधन गर्ने र पोखरामा पूर्वगोर्खा सैनिकहरूसँगको कार्यक्रममा सहभागी हुने बताइएको छ । तर रक्षा मन्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री बालेन शाहसँगको भेटबारे भने सैनिक अधिकारीहरूले केही बताएका छैनन् ।

प्रधानमन्त्री बालेन र भारतीय सेनाध्यक्ष सेठबीच भेटको तारतम्य मिलाउँदै गरिएको बताए पनि यसको औपचारिक जानकारी परराष्ट्र मन्त्रालयदेखि प्रधानमन्त्री कार्यालयसम्मले गरेका छैनन् ।

बुधबार पोखरामा पूर्वगोर्खा सैनिकको कार्यक्रममा सहभागी भएपछि सेठ स्वेदश फिर्ता हुने बताइएको छ । यस्तो किसिमको भ्रमणमा प्रायजसो पूर्वगोर्खा सैनिकसँग पनि भेटघाट हुँदै आएको छ ।

७६ वर्ष पूरानो मानार्थ सम्बन्ध

नेपाल र भारतीय सेनाबीच ऐतिहासिक सम्बन्ध छ । आजभन्दा करिब ७६ वर्षदेखि यी दुई देशका सेनाबीच मानार्थ महारथीको दर्जा दिने चलनसमेत रहँदै आएको छ । सन् १९५० देखि मानार्थ महारथी दिने चलन रहेको सैनिक मुख्यालय जङ्गी अड्डाले बताएको छ ।

नेपाली सेनाका बहालवाला प्रधानसेनापति अशोकराज सिग्देलले पनि भारतीय सेनाको मानार्थ महारथी दर्जा प्राप्त गरिसकेका छन् । २७ मङ्सिर २०८१ मा नयाँ दिललीस्थित राष्ट्रपति भवनमा एक विशेष समारोहबीच राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानसेनापति सिग्देललाई मानार्थ महारथीको दर्जा प्रदान गरेकी थिइन् ।

३० जुन २०२६ मा भारतीय सेनाध्यक्ष बनेका सेठले भने आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्राप्त गरेका छन् ।

यसअघि ६ मङ्सिर २०८१ मा भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका थिए । यसले सैनिक सहकार्यमा थप प्रगाढ सम्बन्ध बनाउने नेपाली सेनाका पूर्वउपरथी सुरेश कार्की बताउँछन् ।

‘मानार्थ महारथीको दर्जा दिने पुरानो सैन्य परम्परा हो । यसले दुई देशका सेनाबीच आपसी समझदारी र सहयोग आदानप्रदानमा समेत राम्रो भूमिका खेलेको छ,’ कार्की भन्छन् ।

भारतीय सेनाका पूर्वसेनाध्यक्ष मनोज मुकुन्द नरवणेले नेपाल–भारत सैन्य कूटनीतिको सम्बन्धबारे आफ्नो प्रकाशोन्मुख पुस्तक ‘फोर स्टार्स अफ डेस्टिनी’ मा समेत उल्लेख गरेका छन् ।

डिसेम्बर २०१९ देखि अप्रिल २०२२ सम्म भारतीय सेनाको सेनाध्यक्ष रहेका नरवणेले अवकाशपछि आफ्नो कार्यकालको संस्मरणको रूपमा यो पुस्तक लेखेका थिए । तर यसका केही विषयहरू विवादास्पद भन्दै कुरा उठेपछि अहिलेसम्म यो पुस्तक प्रकाशित हुन सकेको छैन ।

यहीबारे भारतीय क्याराभान म्यागजिनमा ‘नरवणेज मोमेन्ट अफ ट्रुथ’ स्टोरी १ फेब्रुअरी २०२६ मा प्रकाशित छ । जहाँ नरवणेले नेपाल–भारतका सेनाबीच मानार्थ दिने चलन विश्वका अन्य मुलुकहरूमा कतै नरहेको उल्लेख गरेका छन् ।

यति मात्रै होइन, नेपाल–भारतका सेनाबीच बहालवाला साथै पूर्वआर्मी चिफहरूबीच समेत भेटघाट र छलफल हुन थालेको छ । यसको कन्सेप्टसमेत आफ्नो रहेको नरवणेले उल्लेख गरेका छन् ।

आफू भारतीय सेनाध्यक्ष रहेका बेला काठमाडौँ आउँदा तत्कालीन प्रधानसेनापति पूर्णचन्द्र थापाले पूर्वआर्मी चिफहरूसँग भेट गराएको र त्यही बेला यसको कन्सेप्ट जन्मिएको उल्लेख गरेका छन् । अहिले प्रत्येक दुई वर्षको फरकमा पूर्वआर्मी चिफबीच भेट हुन थालेको छ ।

यस किसिमका भेटहरूले परम्परा कायम राख्न मात्र नभई सैन्य कूटनीतिमार्फत कतिपय असहज गाँठाहरू फुकाउन सहज पुग्ने विश्वास सैन्य मामलाका जानकारहरूको छ ।

सेनाध्यक्ष सेठको पहिलो नेपाल भ्रमणको सन्देश

भारतको ३१औं स्थल सेनाध्यक्ष भएपछि सेठले गरेको पहिलो अन्तर्राष्ट्रिय भ्रमण नै नेपाल हो । उनको यो भ्रमणलाई मुख्यगरी दुई कोणबाट बुझ्नु पर्ने नेपाली सेनाका पूर्वउपरथी बिनोज बस्न्यात बताउँछन् ।

पहिलो सैन्य परम्परा : विगत लामो समयदेखि दुई देशका सेनाबीचको सम्बन्ध र प्रधानसेनापतिलाई दिइने मानार्थ महारथीको रूपमा यो भ्रमणलाई बुझ्नुपर्ने उनको सुझाव छ । ‘सैन्य परम्परा र मानार्थ महारथीको दर्जाको परम्परा भएकाले यसलाई त्यो रूपमा बुझ्न सकिन्छ,’ उनी भन्छन् ।

दोस्रो भू–राजनीतिक कोण : सेठको नेपाल भ्रमण पहिलो हुनु र अहिलकोे राजनीतिक अवस्थाका कारणलाई यसलाई भू–राजनीतिक रूपमा पनि विश्लेषण गर्न सकिने उनको बुझाइ छ ।

‘भू–राजनीतिक मामला, नेपालसहित दक्षिण एसियामा भएको जेनजी आन्दोलन र त्यसको प्रभाव लगायतका कोणबाट पनि यो भ्रमणलाई हेरिनु पर्छ,’ पूर्वउपरथी बस्न्यातले अनलाइनखबरसँग भने ।

अहिले भारतमा पनि जेनजी आन्दोलन भइरहेकोले भारतीय सेनाध्यक्षले नेपालको जेनजी आन्दोलनको बारेमा विशेष चासो राखेर जानकारी लिन सक्ने बताइन्छ । भारतमा पनि पछिल्लो समय चर्किंदै गएको जेनजी आन्दोलनबाट नेपालले सिक्नुपर्ने विषयहरू भएकाले सेठको भ्रमणबाट लाभ लिन सक्नुपर्ने उनी बताउँछन् ।

यसका अलवा लिपुलेक, कालापानी विवादका विषयहरू, सीमा सुरक्षाका साथै सैन्य कूटनीति, आदानप्रदानका विषयहरू स्वाभाविक रूपमा जोडिएर आउने बताइन्छ ।

त्यसैगरी, पोखरामा पूर्वगोर्खाको कार्यक्रममा सहभागी हुने बताइएकाले अग्नीपथको विषय पनि उठ्न सक्ने बताइन्छ । सन् २०२२ पछि नेपालबाट भारतीय सेनामा गोर्खा भर्ती रोकिएको छ ।

भारतीय रक्षा मन्त्री राजनाथ सिंहले सन् २०२२ को जुन महिनामा अग्निपथ योजना सार्वजनिक गरेका थिए । यस योजनाअन्तर्गत भारतीय सैनिकमा १७ देखि २३ वर्ष उमेर समूहका युवालाई चार वर्षका लागि भर्ना गरिने छ । सेनामा भर्ती भएकाहरूलाई ‘अग्निवीर’ भनिने छ ।

भर्ती भएको चार वर्षपछि २५ प्रतिशत सेनामा स्थायी जागिरे हुने छन् भने ७५ प्रतिशतको जागिर समाप्त भई घर फर्कने छन् । यो चार वर्षे अवधि र २५ प्रतिशतमात्रै स्थायी हुने व्यवस्थाबारे नेपालले असहमति जनाउँदै पुरानै व्यवस्थाअनुसार भर्ती गर्नुपर्ने धारणा राख्दै आएको छ ।

गोर्खा भर्तीको विषय पनि सैन्य इतिहास, अर्थतन्त्र र दुई देशबीचको भावानात्मक सम्बन्धसँग जोडिएको छ ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?