+
+
Shares

मकवानपुर गाडी दुर्घटना : मुख्य न्यायाधीश डाँगीसहित ६ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २ गते ९:०८

२ भदौ, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरिखेतमा स्कार्पियो गाडी दुर्घटना हुँदा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगीसहित ६ जना घाइते भएका छन् । घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर रहेको मकवानपुर प्रहरीले जनाएको छ ।

आज मंगलबार बिहान करिब ७ बजे काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कार्पियो जुरीखेतमा अनियन्त्रित भई सडकबाट करिब ५०–६० मिटर तल खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जानकारी दिए ।

दुर्घटनामा मुख्य न्यायाधीश डाँगीसहित दुई महिला र चार पुरुष घाइते भएका छन् । उनीहरूलाई उद्धार गरी उपचारका लागि भीमफेदी अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गम्भीर घाइते महिलाबाहेक अन्य पाँच जनाको अवस्था मध्यम रहेको छ । घाइतेहरूलाई थप उपचारका लागि सुविधासम्पन्न अस्पताल लैजाने तयारी भइरहेको छ ।

दुर्घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय भीमफेदीबाट ट्राफिक प्रहरीसहित सात जनाको टोली घटनास्थल पुगेको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक श्यामबहादुर खत्री नेतृत्वको टोलीसमेत घटनास्थल पुगेको छ ।

दुर्घटनामा परेको स्कार्पियो घटनास्थलमै रहेको र सडकमा यातायात भने सुरु रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?