+
+
Shares

रास्वपा सांसदका गतिविधि नियाल्न बन्यो गुगल फर्म, विदेश जान कडाइ

सांसदहरूलाई पठाइएको निर्देशनमा भनिएको छ, ‘कारणवस संसद बैठकमा उपस्थित हुन नसकेमा, बैठकमा ३० मिनेट भन्दा ढिलो उपस्थित हुने अवस्थामा, उपस्थित भएर बैठक बीचमै छोड्नुपर्ने भएमा वा बैठकको बीचमा बाहिर गई फर्किनुपर्ने भएमा संसद बैठक अनुपस्थित आवेदन फाराम अनिवार्य पेश गर्न निर्देशन गरिन्छ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २ गते ११:४६

२ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना पार्टीका सांसदहरूको गतिविधि निगरानी गर्न गुगल फर्म बनाएको छ ।

रास्वपाकी सचेतक क्रान्तिशिखा धितालका अनुसार गुगल फर्म तयार गरेर व्यवस्थित गरिएको छ । उनका अनुसार संसद् बैठकमा उपस्थित हुन नसक्दा गुगल फर्म भनुपर्छ । अनुपस्थित हुनुको कारण र प्रमाण पनि अपलोड गर्नुपर्ने व्यवस्था गरिएको छ ।

निर्धारित समयभन्दा बैठकमा आधा घण्टा भन्दा ढिलो उपस्थित हुँदा पनि फर्ममा विवरण राख्नुपर्छ । संसद् बैठकमा उपस्थित भएर बीचमै बैठक छाड्नुपर्दा, बैठकको बीचमा बाहिर गएर फर्कनुपर्दा पनि गुगल फर्म भर्नुपर्ने व्यवस्था गरिएको छ ।

रास्वपाका मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीका अनुसार गुगल फर्ममा सांसदहरूले आफ्नो नाम, निर्वाचन क्षेत्र, सम्पर्क नम्बर, बैठकमा अनुपस्थित हुनुको कारण र बैठकमा बीचमा छाड्नुको कारण खुलाउनुपर्ने हुन्छ । सांसदहरूले बिरामी भएमा उपचार भइरहेको ठाउँको विवरण भर्नुपर्ने हुन्छ । निर्वाचन क्षेत्र जाँदा पनि जाने र आउने विवरण सहितको तालिका बुझाउनुपर्ने हुन्छ ।

त्यस्तै, औपचारिक निमन्त्रणा वा विदेशमा हुने कार्यक्रममा सहभागी जाँदा पनि सांसदले त्यससम्बन्धी विवरण खुलाउनुपर्नेछ । विदेशको कार्यक्रममा सहभागी हुन लागेको भए आयोजक संस्था तथा कार्यक्रमको विवरणका साथै सम्बन्धित निकायबाट प्राप्त अनुमति पत्रसमेत पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।

रास्वपाका नेताहरू यो गुगल फर्मको उदेश्य मुख्यत: संसद् बैठकमा उपस्थितिका विषयमा थप जवाफदेही बनाउने रहेको छ । यसअनुसार बैठकमा अनुपस्थित हुनेदेखि उपस्थित भएर बीचमै बाहिरिने सांसदसम्मको विवरण एकीकृत गर्न लागिएको हो ।

सांसदहरूको संसद् उपस्थितिलाई हाजिरीको विषयका रूपमा नभई जिम्मेवारी र जवाफदेहितासँग जोड्न खोजिएको नेताहरू बताउँछन् ।

२६ साउनको प्रतिनिधिसभाको बैठकमा गणपूरक संख्या कोरम नपुगेर बैठक नै स्थगित हुन पुगेको थियो । जसका कारण सरकारी विधेयक अगाडि बढाउने प्रक्रिया समेत रोकिन पुगेको थियो ।

प्रतिनिधि सभामा १८२ जना सांसद त रास्वपाकै छन् । सदनको बिजनेसलाई सहज रुपमा अघि बढाउने मुख्य जिम्मेवारी सत्ता पक्षको हुन्छ । तर २६ साउनको बैठकमा खानीसम्बन्धी विधेयक विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस गर्ने आवश्यक गणपूरक संख्या ६९ समेत पुगेन

यो पृष्ठभूमिमा रास्वपाले सांसदका गतिविधि नियाल्न गुगल फर्म नै बनाएर अगाडि बढाएको हो ।

मुख्य सचेतक बुर्लाकोटीका अनुसार संसद बैठकलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले संसदमा उपस्थित हुन नसक्दा वा उपस्थित भएर संसद बैठक छाड्नुपर्ने लगायतका चारवटा विकल्पको अवस्थामा संसद बैठक अनुपस्थिति आवेदन फाराम भर्नुपर्ने व्यवस्था गरिएको छ ।

क. संसद बैठकमा पुरै उपस्थित हुन नसक्ने ।

ख . बैठकमा ३० मिनेटभन्दा ढिलो उपस्थित हुने

ग. उपस्थित भएर बैठक बीचमा छाड्नुपर्ने

घ. बैठकको बीचमा बाहिर गएर फर्किनुपर्ने ।

यस्तो निर्देशन सांसदहरूलाई पठाइएको छ ।

सांसदहरूलाई पठाइएको निर्देशनमा भनिएको छ, ‘कारणवस संसद बैठकमा उपस्थित हुन नसकेमा, बैठकमा ३० मिनेट भन्दा ढिलो उपस्थित हुने अवस्थामा, उपस्थित भएर बैठक बीचमै छोड्नुपर्ने भएमा वा बैठकको बीचमा बाहिर गई फर्किनुपर्ने भएमा संसद बैठक अनुपस्थित आवेदन फाराम अनिवार्य पेश गर्न निर्देशन गरिन्छ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?