+
+
Shares

सरकार जनसरोकारका मुद्दामा गैरजिम्मेवार बनेको हर्कको आरोप

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २ गते १३:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले सरकार जनअपेक्षाअनुसार काम गर्न असफल भएको भन्दै संसद्मा आलोचना गरेका छन् ।
  • सांसद राईले सीमा रक्षा, महँगी नियन्त्रण र रोजगारी सिर्जना जस्ता आधारभूत विषयमा सरकार असफल रहेको दाबी गरेका छन् ।
  • उनले सुनसरीको जग्गा प्रकरण र बराह सहकारीका बचतकर्ताको रकम फिर्ता गराउन सरकारले तत्काल पहल गर्नुपर्ने माग गरेका छन् ।

२ भदौ, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले सरकार जनअपेक्षाअनुसार काम गर्न असफल भएको भन्दै आलोचना गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद राईले सरकारका विभिन्न मन्त्रालयहरूको कार्यसम्पादन र जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएका हुन् ।

सांसद राईले प्रधानमन्त्रीदेखि विभागीय मन्त्रीहरूसम्मले आ–आफ्नो जिम्मेवारी वहन गर्न नसकेको टिप्पणी गरे ।

उनले सीमा रक्षा, शान्ति सुरक्षा, मल तथा खाद्यान्न आपूर्ति, रोजगारी सिर्जना र महँगी नियन्त्रण जस्ता आधारभूत विषयमा सरकार असफल रहेको दाबी गरे ।

उनले प्रधानमन्त्रीले संसद्‍मा उपस्थित भएर जनताका प्रश्नहरूको दफावार उत्तर दिनुपर्ने माग समेत गरे ।

उनले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको ध्यानाकर्षण गराउँदै सुनसरीको रामधुनी–७ स्थित ६४ बिघा जग्गा भूमाफियाले आफ्नो नाममा पारेको विषयमा बस्तीवासीलाई न्याय दिन माग गरे ।

साथै, धरानस्थित बराह वचत तथा ऋण सहकारी संस्थाका वचतकर्ताको अर्बौं रुपैयाँ जोखिममा परेको उल्लेख गर्दै उक्त रकम फिर्ता गराउन सरकारले पहल गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘सहकारी पीडितले पैसा फिर्ता पाएका छैनन्, न्यायालयमा न्याय छैन र अस्पतालमा उपचार पाउने अवस्था छैन । सरकार संसदप्रति र संसद जनताप्रति पूर्ण रूपमा जवाफदेही हुनुपर्छ, अन्यथा हाम्रो बहसको कुनै अर्थ रहँदैन ।’

विकास निर्माणका सन्दर्भमा बोल्दै सांसद राईले सुनसरी–१ लगायत देशभरका योजनाहरूको ठेक्का प्रक्रिया तत्काल अगाडि बढाउन माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?