काठमाडौं । फेसबुकको माउ कम्पनी मेटाले आफ्ना स्मार्ट चश्माहरूमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र फेस रिकग्निसन प्रविधि जोड्ने तयारी गरिरहेको छ ।
अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयमा हालै सार्वजनिक भएको एक नयाँ पेटेन्ट आवेदनबाट मेटाले यसमा काम अघि बढाइरहेको खुलासा भएको हो ।
गत फेब्रुअरीमा दर्ता गरिएको र हालै सार्वजनिक भएको ४४ पानाको उक्त पेटेन्ट कागजातमा मेटाको नयाँ प्रणालीले एआई फेस रिकग्निसनको प्रयोग गरी मानिसहरूलाई पहिचान गर्ने र भिडियोलगायतका मिडिया फाइलहरू तयार पार्ने उल्लेख छ । सिनेटले उल्लेख गरे अनुसार, यो प्रविधिले लोकेशन डेटा र विभिन्न अनलाइन सेवाहरूको सहायता लिएर व्यापक दायरामा कन्टेन्ट निर्माण गर्न तथा मेटाका अन्य डिजिटल सेवाहरूसँग अन्तरक्रिया गर्नसमेत सघाउनेछ ।
यो नयाँ खुलासाले मेटा र यसका उत्पादनहरूको भविष्यलाई लिएर गोपनीयताका मामिलामा विवाद सिर्जना भएको छ । गोपनीयताका पक्षधरहरूले कम्पनीमाथि पर्याप्त सुरक्षा मापदण्ड नभएको भन्दै कडा आलोचना गरेको सिनेटले उल्लेख गरेको छ ।
सेन्टर फर डेमोक्रेसी एण्ड टेक्नोलोजीकी प्रविधि नीति विज्ञ एरियाना आबोलाफियालाई उद्धृत गर्दै सिनेटले लेखेको छ, ‘मेटाको यो पेटेन्टले अहिले सामान्य लाग्ने कुरा देखाए पनि यसको प्रयोग भोलिका दिनमा धेरै डरलाग्दा उद्देश्यका लागि हुनसक्छ । यसले स्टकिङ तथा घरेलु हिंसाका पीडितजस्ता सीमान्तकृत मानिसहरूलाई ठूलो जोखिममा पार्नसक्छ ।’
हाल सार्वजनिक भएको यो नयाँ पेटेन्टलाई स्वीकृति पाउन कति समय लाग्छ वा यो प्रविधि बजारमा आउँछ वा आउँदैन भन्नेबारे मेटाले भने हालसम्म कुनै प्रतिक्रिया दिएको छैन ।
मेटाले यसअघि पनि आफ्नो मेटा एआई एपमा कसैलाई थाहा नदिई फेस रिकग्निसन कोड राखेको थियो । वायर्डको अनुसन्धानबाट यो रहस्य खुल्नेबित्तिकै मेटाले चर्को आलोचना खेप्नुपरेको थियो । सोही दबाबका कारण पछि मेटाले उक्त विवादास्पद सफ्टवेयरलाई एपबाट पूर्ण रूपमा हटाएको थियो ।
प्रतिक्रिया 4