+
+
Shares

२ वर्षदेखि राहतको पर्खाइमा सिदुङ्खाका अग्निपीडित

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ४ गते ८:४६

४ भदौ, गुल्मी । गुल्मीको इस्मा गाउँपालिका–२ सिदुङ्खाका अग्निपीडितले दुई वर्ष बितिसक्दा पनि सरकारले उपलब्ध गराउने भनिएको राहत रकम पाउन सकेका छैनन् ।

आगलागीबाट घरगोठ तथा सम्पत्ति गुमाएका पीडितले ऋण खोजेर घर निर्माण गरे पनि सरकारी रकम निकासा नहुँदा ऋण तिर्न नसकेको गुनासो गरेका छन् ।

२०८१ वैशाख ८ गते सामुदायिक वनबाट बस्तीमा फैलिएको आगोले सिदुङ्खामा २६ घरगोठ जलेर नष्ट भएका थिए । आगलागीमा दर्जनौँ पशुचौपायासमेत जलेका थिए ।

घरबारविहीन भएका पीडितका लागि अहिले नयाँ आवास निर्माण भइसकेको छ । तर, घर निर्माणबापत सरकारले उपलब्ध गराउने रकम नपाउँदा पीडितको समस्या भने अझै समाधान भएको छैन ।

अग्निपीडित मीना रायमाझीले ऋण लिएर ठेक्कामार्फत घर निर्माण गरेको बताइन् । घर निर्माण सम्पन्न भए पनि ठेकेदार र कामदारले रकम माग्दा आफू थप दबाबमा परेको उनको गुनासो छ ।

सरकारले आवास निर्माणका लागि किस्ताबन्दीमा रकम उपलब्ध गराउने व्यवस्था गरेको जानकारी पाए पनि अहिलेसम्म रकम नपाएको अर्की अग्निपीडित बसुन्धरा कुँवरले बताइन् । आगलागीमा घर, गोठ र पसलसमेत गुमाएकाले समयमै राहत रकम उपलब्ध गराउन उनले सरकारसँग आग्रह गरिन् ।

अग्निपीडितका लागि आवास निर्माण गर्न प्रतिपरिवार ५ लाख रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरिएको थियो । त्यसमा इस्मा गाउँपालिकाले एक लाख रुपैयाँ र बाँकी ४ लाख रुपैयाँ प्रदेश तथा संघीय सरकारले उपलब्ध गराउने निर्णय भएको थियो ।

इस्मा गाउँपालिकाले एक लाख रुपैयाँ दिएपनि अरु ४ लाख रुपैयाँ अग्नी पीडितले नपाएको इस्मा गाउँपालिका वडानम्बर-२ का वडाअध्यक्ष लोकनाथ आचार्यले बताए ।

पालिकाले तत्काल गर्न सक्ने सबै कामहरु गरे पनि मुख्य समस्या संघीय सरकाले निर्माणको भुक्तानी मै रहेको अध्यक्ष आचार्यले बताए ।

गाउँपालिकाले आफ्नोतर्फको १ लाख रुपैयाँ उपलब्ध गराइसकेको भए पनि प्रदेश र संघ सरकारबाट आउनुपर्ने ४ लाख रुपैयाँ भने अझै निकासा भएको छैन ।

स्थानीयस्तरमा समेत अग्निपीडितका लागि राहत संकलन गरिएको थियो । सिदुङ्खामा गठन गरिएको स्थानीय राहत संकलन समितिले १६ लाख रुपैयाँभन्दा बढी रकम संकलन गरी क्षतिको अवस्था मूल्याङ्कन गरेर पीडित परिवारलाई वितरण गरेको समितिका अध्यक्ष रमेश थापाले बताए । तर, ऋण खोजेर घर निर्माण गरेका पीडितले सरकारी रकम नपाउँदा आर्थिक बोझ थपिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिले अग्निपीडितलाई लाभग्राही कायम गरी आवास निर्माणका लागि आवश्यक रकम निकासाको माग गरेको छ । हालसम्म रकम निकासा भने भएकौ छैन् । गुल्मीमा २०८१ वैशाखमा सुख्खा मौसममा आगलागीका कारण १६९ घरगोठ जलेर नष्ट भएका थिए ।

आगलागीमा एक सयभन्दा बढी पशुचौपाया समेत मरेका थिए । जिल्लाका विभिन्न सामुदायिक वनबाट फैलिएको आगो बस्तीमा पुग्दा करोडौँ रुपैयाँ बराबरको क्षति भएको थियो ।

जिल्लाका १२ स्थानीय तहमध्ये इस्मासँगै मदाने, मुसिकोट, धुर्कोट र रुरुक्षेत्रमा समेत आगलागीबाट ठूलो क्षति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?