+
+
Shares

गोविन्दा पत्नी सुनीताले डिभोर्सको मुद्दा फिर्ता लिइन्

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ४ गते १०:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बलिउड अभिनेता गोविन्दाकी पत्नी सुनीता आहुजाले गोविन्दाविरुद्ध दायर सम्बन्धविच्छेदको निवेदन फिर्ता लिएकी छन् ।
  • सुनीता बुधबार छोरा यशवर्धनसँग मुम्बईको पारिवारिक अदालतमा देखिएकी थिइन् ।
  • गोविन्दाका म्यानेजर शशि रञ्जनले अहिले सबै कुरा ठीक रहेको र दुवैबीचको अवस्था सामान्य हुने अपेक्षा गरिएको बताए ।

मुम्बइ । बलिउड अभिनेता गोविन्दाकी पत्नी सुनीता आहुजाले सम्बन्धविच्छेदको मुद्दा फिर्ता लिएकी छन् । बुधबार सुनीता आफ्ना छोरा यशवर्धन आहुजासँग मुम्बईको पारिवारिक अदालतमा देखिएकी थिइन् ।

मिडिया कुराकानीमा गोविन्दाका म्यानेजर शशि रञ्जनले सुनीताले गोविन्दाविरुद्ध दायर गरेको सम्बन्धविच्छेदको निवेदन फिर्ता लिएको जानकारी दिए । रञ्जनका अनुसार, अहिले सबै कुरा ठीक छ र दुवैबीचको अवस्था सामान्य हुने अपेक्षा गरिएको छ । पछिल्ला दुई वर्षका घटनाक्रमबारे उनले यो समय राम्रो नरहेको बताए ।

अदालतबाहिरको एउटा भिडियो पनि सार्वजनिक भएको छ । भिडियोमा पापाराजीले सुनीता र उनका छोरालाई अदालतमा के भयो भनेर सोधेको देखिन्छ । त्यसको जवाफमा यशवर्धनले भने, ‘केही भएको छैन। जान दिनुहोस् ।’

यशवर्धन आमालाई क्यामेराको भीडबाट जोगाउँदै कारसम्म लिएर गएका थिए । कारमा बस्नुअघि सुनीताले झर्किँदै भनिन्, ‘जन्मदिन मनाउन गएका थियौं ।’ त्यसपछि उनी कारमा बसेर त्यहाँबाट गइन् ।

सुनीताले डिसेम्बर २०२४ मा गोविन्दाविरुद्ध बान्द्रा पारिवारिक अदालतमा सम्बन्धविच्छेदको निवेदन दायर गरेकी थिइन् । यो खबर गत वर्ष अगस्टमा सार्वजनिक भएको थियो ।

हालै गोविन्दा आफ्नो आगामी कमब्याक फिल्म ‘रूपा’की सह-अभिनेत्री कोमल रानी स्वर्णकारसँग देखिएका थिए । यसबारे सुनीताले भनेकी थिइन्, ‘गोविन्दा आफ्नी छोरीको उमेरकी केटीलाई लिएर घुमिरहेका छन् र उनलाई यसमा अलिकति लाज लाग्नुपर्छ ।’

सुनीताले गोविन्दासँग देखिएकी अभिनेत्री कोमलको पहिरन शैलीबारे पनि टिप्पणी गरेकी थिइन् । उनले अगाडिको व्यक्तिको ‘सुगर ड्याडी’ यति धनी छ भने कम्तीमा कपडा त राम्रोसँग लगाउनुपर्ने बताएकी थिइन् ।

मानिसको आफ्नो एउटा स्तर हुनुपर्ने भन्दै सुनीताले आफ्नै उदाहरण दिएकी थिइन् । मानिसहरूले आफू कसरी स्टाइलका साथ बस्छु भनेर हेर्नुपर्ने उनको भनाइ थियो । उनले समग्र घटनालाई निकै खराब र घटिया सोचको संज्ञा दिएकी थिइन् ।

पत्नी सुनीताका यी टिप्पणीप्रति गोविन्दा आक्रोशित भएका थिए । उनले सुनीतालाई आफ्नो सीमामा रहन चेतावनी दिएका थिए । गोविन्दाले आफ्नी सह–अभिनेत्रीको बचाउ गर्दै सुनीताले आफूलाई बदनाम गर्न कुनै कसर बाँकी नराखेको बताएका थिए ।

गोविन्दा र सुनीताले सन् १९८७ मा निजी समारोहमा विवाह गरेका थिए । त्यसबेला गोविन्दा बलिउड स्टार बनिसकेका थिए । गोविन्दाको करिअरलाई ध्यानमा राख्दै उनीहरूले करिब दुई वर्षसम्म आफ्नो विवाहको कुरा गोप्य राखेका थिए ।

छोरी टिना आहुजाको जन्मपछि उनीहरूले विवाहबारे सार्वजनिक गरेका थिए । त्यसपछि उनीहरूका छोरा यशवर्धन आहुजाको जन्म भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?