+
+
Shares

उपल्लो डोल्पाका ३ पालिकामा चीन प्रवेशका लागि धमाधम सीमा पास वितरण

हेमन्त केसी हेमन्त केसी
२०८३ भदौ ४ गते ११:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जिल्ला प्रशासन कार्यालय डोल्पाले स्थानीय तहसँगको सहकार्यमा उपल्लो डोल्पाका तीन पालिकामा ३५० भन्दा बढी नागरिकलाई सीमा पास वितरण गरेको छ।
  • प्रशासनका नायव सुब्बा दत्त लामाका अनुसार विगत १५ दिनदेखि कर्मचारीहरू गाउँ–गाउँ पुगेर सीमा पास वितरण गरिरहेका छन्।
  • छार्काताङसोङका सबै स्थानीय बासिन्दालाई सीमा पास वितरण भइसकेको छ भने शे-फोक्सुन्डोका वडा नं. ७, ८ र ९ तथा डोल्पाबुद्धका केही वडामा बाँकी छ।

४ भदौ, जाजरकोट । जिल्ला प्रशासन कार्यालय डोल्पाले तीन पालिकाका नागरिकलाई धमाधम प्रस्थान तथा प्रवेश पत्र (सीमा पास) वितरण गरेको छ ।

स्थानीय तहसँगको सहकार्यमा स्थानीय बासिन्दालाई नेपाल-चीन सीमा मरिमला र क्याटो नाका प्रवेशका लागि सीमा पास वितरण गरिएको हो । क्याटो नाका प्रवेशका लागि यहाँका ३५० भन्दा बढी बासिन्दालाई पास वितरण गरिएको छ ।

चीनसँगको सीमा जोडिएका गाउँका बासिन्दालाई नियमित आवतजावत तथा व्यापार व्यवसायमा सहजता पुर्‍याउने उद्देश्यले प्रशासन कार्यालयले गाउँमै पुगेर सीमा पास वितरण गरेको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयबाट खटिएका कर्मचारी तथा स्थानीय तहका प्रतिनिधिहरूले उपल्लो डोल्पाका विभिन्न गाउँमा पुगेर लामो समयदेखि सीमा पास वितरणको काम गरिरहेका छन्।

कार्यालयबाट खटिएका नायव सुब्बा दत्त लामाका अनुसार विगत १५ दिनदेखि उपल्लो डोल्पाका विभिन्न गाउँमा पुगेर स्थानीय बासिन्दालाई सीमा पास उपलब्ध गराउने काम भइरहेको छ ।

भौगोलिक रूपमा अत्यन्तै विकट रहेको उपल्लो डोल्पामा गाउँ–गाउँमा पुगेर सीमा पास वितरण गर्नु सहज नभए पनि स्थानीय बासिन्दाको आवश्यकता र समस्यालाई ध्यानमा राखेर कर्मचारी परिचालन गरिएको उनले बताए ।

धोमा ५० सीमा पास वितरण

डोल्पाबुद्ध गाउँपालिकाको धोमा हालसम्म ५० वटा सीमा पास वितरण गरिएको छ। धो क्षेत्रमा सीमा पास वितरणको काम अधिकांश पूरा भए पनि वडा नं. १, २ र ३ का केही बासिन्दालाई अझै सीमा पास वितरण गर्न बाँकी रहेको लामाले जानकारी दिए ।

उनका अनुसार बाँकी रहेका वडाका बासिन्दालाई पनि आवश्यक प्रक्रिया पूरा गरी सीमा पास उपलब्ध गराउने तयारी भइरहेको छ।

दुर्गम भौगोलिक अवस्थाका कारण सबै बस्तीमा एकै पटक पुग्न कठिन भए पनि क्रमशः सबै योग्य स्थानीय बासिन्दालाई सीमा पास उपलब्ध गराउने प्रयास भइरहेको प्रशासन कार्यालयले जनाएको छ।

शे-फोक्सुन्डोका ३ वडामा पुग्न कठिन

शे-फोक्सुन्डो गाउँपालिकाका वडा नं. ७, ८ र ९ मा भने सीमा पास वितरणका लागि कर्मचारी पुग्न नसकेको जिल्ला प्रशासन कार्यालयबाट खटिएका दत्त लामाले बताए। हाल सम्मा यहाँ झन्डै २ सय सीमा पास वितरण गरिएको छ ।

भौगोलिक विकटता, बाटोघाटोको समस्या तथा लामो दूरीका कारण ती वडामा पुगेर सीमा पास वितरण गर्न कठिनाइ भएको उनको भनाइ छ। ती क्षेत्रमा रहेका स्थानीय बासिन्दालाई समेत सीमा पास वितरण गर्ने गरी आवश्यक तयारी भइरहेको उनले बताए।

छार्काताङसोङका सबैलाई सीमा पास

छार्काताङसोङ गाउँपालिकाका सबै स्थानीय बासिन्दालाई सीमा पास वितरण भइसकेको प्रशासन कार्यालयले जनाएको छ। गाउँपालिकाभित्रका सीमा क्षेत्रसँग सम्बन्धित स्थानीय बासिन्दालाई आवश्यक प्रक्रिया पूरा गरी सीमा पास उपलब्ध गराइएको हो।

उपल्लो डोल्पाका तीन स्थानीय तहका बासिन्दाको चीनसँगको व्यापारिक तथा सामाजिक सम्बन्ध पुरानो रहेको छ। वर्षौंदेखि उनीहरूले चीनको तिब्बतसँग सीमा नाकामार्फत दैनिक उपभोग्य वस्तुको खरिद–बिक्री तथा व्यापार गर्दै आएका छन्। यहाँ ९० भन्दा बढी सीमा पास वितरण गरिएको छ ।

चीनबाटै खाद्यान्नदेखि दैनिक उपभोग्य सामग्री

उपल्लो डोल्पाका अधिकांश बस्तीमा सडक तथा यातायातको सहज पहुँच नहुँदा यहाँका बासिन्दाको दैनिक उपभोग्य वस्तुको आपूर्ति चीनको तिब्बततर्फ बढी निर्भर रहेको छ। चामल, पिठो, नुन, तेललगायत खाद्यान्न तथा अन्य आवश्यक सामग्री तिब्बतबाट ल्याउने गरिएको स्थानीयवासी बताउँछन्।

उपल्लो डोल्पाका तीनवटै स्थानीय तहका लागि चीनसँगको सीमावर्ती नाका व्यापार तथा आपूर्तिको महत्त्वपूर्ण माध्यमका रूपमा रहेको छ। स्थानीय बासिन्दा मरिमला नाका हुँदै तिब्बत पुगेर व्यापार गर्ने तथा आवश्यक सामग्री खरिद गरी गाउँ फर्कने गरेका छन्।

विशेष गरी वर्षा यामपछि सीमा नाका सञ्चालन हुने समयमा स्थानीय बासिन्दाले चीनको तिब्बततर्फ आवतजावत गर्ने गरेका छन्। सीमा पास नहुँदा सीमा क्षेत्रमा आवतजावत गर्न समस्या हुने भएकाले समयमै सीमा पास वितरण हुनुपर्ने स्थानीयको माग रहँदै आएको छ।

सीमा पासले व्यापारमा सहजता

सीमा पास वितरण भएपछि स्थानीय बासिन्दालाई सीमा क्षेत्रमा आवतजावत गर्न तथा व्यापार व्यवसाय सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ। उपल्लो डोल्पाको स्थानीय अर्थतन्त्र नै सीमावर्ती व्यापारमा निर्भर रहेकाले सीमा पासको व्यवस्था स्थानीयका लागि महत्त्वपूर्ण मानिन्छ।

दुर्गम बस्तीका नागरिकलाई जिल्ला सदरमुकामसम्म आएर सीमा पास बनाउनुपर्ने बाध्यता हटाउन प्रशासनले गाउँमै पुगेर सेवा दिन थालेको हो। यसबाट लामो दूरीको यात्रा, समय र खर्च बचत हुनुका साथै वृद्ध वृद्धा तथा दुर्गम गाउँका बासिन्दालाई समेत सहज भएको स्थानीयवासीको भनाइ छ।

जिल्ला प्रशासन कार्यालयले बाँकी रहेका क्षेत्रमा पनि आवश्यक समन्वय गरी सीमा पास वितरणको काम अघि बढाउने जनाएको छ। विशेष गरी शे-फोक्सुन्डो गाउँपालिकाका वडा नं। ७, ८ र ९ तथा डोल्पाबुद्ध गाउँपालिकाका वडा नं। १, २ र ३ मा बाँकी रहेका स्थानीय बासिन्दालाई सीमा पास उपलब्ध गराउन पहल भइरहेको  ।

उपल्लो डोल्पाको भौगोलिक अवस्था, चीनसँगको सीमा सम्बन्ध र स्थानीयको व्यापारिक निर्भरतालाई मध्यनजर गर्दै सीमा पास वितरणलाई नियमित र व्यवस्थित बनाउनुपर्ने स्थानीयको माग छ। सीमा नाका सञ्चालन हुने समयमा आवश्यक कागजात सहज रूपमा उपलब्ध भएमा स्थानीयको व्यापार, खाद्यान्न आपूर्ति तथा दैनिक आवतजावतमा समेत थप सहजता पुग्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?